मूर्ति बनाएरै परिवार पाल्छन् ८५ वर्षिय वृद्ध

रबिन्द्र प्रताप गुप्ता

भैरहवा, २४ असोज ।

उमेरले ५ कम ९० भएका धुनमुन यादव अहिले देवी देवताको माटाको मुर्ति बनाउने काममा व्यस्त छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ कटैयाका यादवलाई अहिले भ्याइनभ्याइ छ । कारण उनको पेशा माटो लगायत विभिन्न वस्तु प्रयोग गरी देवीदेवताको मूर्ति बनाउने काम हो । नवरात्र (दशै) को समयमा विभिन्न स्थानमा प्रतिष्थापन गरी पुजा गरिने देवी दुर्गाको मूर्ति बनाउन अहिले उनी व्यस्त छन् ।

देवीदेवता बनाउने धुनमुन तीन दशक भन्दा लामो समय देखि यो पेशामा संलग्न छन् । ‘अहिले यहाँ ३५ जोर बढी विभिन्न आकारका देवीको मूर्ति बनाएका छौ, छोराहरूले सघाएका छन् । यसरी बनाएको मूर्तिको मुल्य २२ हजार देखि ८५ हजार सम्मको रहेको छ । धेरै बुक भइसकेको छ’, उनले भने । माटो, पराल, सुतरी, किल्ला र बासको प्रयोग गरी बनाईने मूर्ति तयारका लागी उनी गएको ४ महिना देखि खटिएका थिए ।

भैरहवा हनुमान मन्दिर छेउ छठपर्व पोखरी परिसरमा उनले एक सिजनका लागी १५ हजार रूपैयाँ भाडा तिरेर एक त्रिपालको छानो मुनि मूर्ति बनाउने काम गरेका छन् । आम्दानी कतिको छ त, आम्दानी के हुनु धेरै छैन्, तर यो एक सिजनमा देवीको मूर्ति बनाउने कामबाट ४ महिना जति परिवार खर्च जुट्छ, नजिकै रहेका नाती विराट प्रजापति र नातिनी पुजा प्रजापतिलाई देखाउँदै भने यिनीहरूलाई बोर्डिंङ स्कुलमा पढाएका छौं, यही हो । उनको परिवारमा ४ भाई छोरा सहित २० जना छन् । कान्छा छोरा प्रजापति यादव पनि यस पटक देखि नवलपरासीमा यही व्यवसायमा गएका छन् । त्यहाँ उनले १५ सेट देवी देवताको मुर्ति दुर्गा पुजाका लागी तयार गरिरहेका छन् । अघिल्लो वर्ष तौलिहवाको खुनुवाको एक समुहले धुनमुनले बनाएको मूर्ति १ लाख ५० हजारमा खरिद गरी लगेका थिए । अहिले भने ८५ हजार सम्मको मूर्ति बनाएका उनले भने एक सेटमा दुर्गा माता, गणेश, सरस्वती, लक्ष्मी र दानव सहितको मूर्ति रहेको छ । ८५ वर्षको उमेरमा पनि उनको यो श्रमलाई धेरैले प्रशंसा गर्ने गर्छन् । कम्तिमा दुर्गा पुजाका लागी भारतबाट आयात हुने मूर्तिमा उनको परिवारले केही मात्रामा भए पनि आयातमा कमी आएको स्थानीयहरु बताउँछन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *