सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानिय तह घोषणा हुदैँ

जीवन न्यौपाने

भदौ २, नवलपरासी ।

सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानिय तहको रुपमा भदौ ३ गते घोषणा हुने लागेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नगरपालिकालाई नेपालकै पहिलो बालमैत्री स्थानिय तहको रुपमा घोषणा गर्ने कार्यक्रम तय भएको छ । नगरपालिकाद्वारा बाल मैत्री स्थानिय शासनको सबै सुचकहरु पुरा गर्दै नेपालकै पहिलो बाल मैत्री स्थानिय तह घोषणा हुन लागेको हो ।

साविक सुनवल नगरपालिमा रहेको १० वटा वडामा बाल मैत्री स्थानिय शासनका सम्पुर्ण सुचक पुरा भई वि.स. २०७२ जेष्ठ ३२ गते नै नेपालको पहिलो बाल मैत्री नगरपालिकाको रुपमा घोषणा भईसकेको थियो । हाल देश संघिय संरचनामा गई सकेपछि यस नगरपालिकामा थपिएका थप ३ वटा वडा समेतलाई भदौ ३ गते बाल मैत्री वडा घोषणा गर्दै नेपालकै पहिलो बाल मैत्री स्थानिय तहको रुपमा स्थापित हुन लागेको शुक्रवार भुमहीमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख भिम बहादुर थापाले जानकारि दिए ।

आइतवार नगरपालिकाको वडा नं. १२ स्थित जगन्नाथ माध्यमिक विधालयमा नगरको वडा ११, १२ र १३ लाई पनि नेपालकै पहिलो बालमैत्री स्थानिय तह घोषणा गर्ने लागिएकोले सम्पुर्ण नगरबासीलाई कार्यक्रममा आउन नगर प्रमुख भिम बहादुर थापाले आग्रह गरे ।

नगरमा कुल १६० वटा बाल क्लबहरु छन् भने १३ वटा वडा स्तरिय बालक्लब संजाल र १ नगर स्तरिय बाल क्लब संजाल छ । नगरपालिकामा जनप्रतिनिधि आएपछि थप ३ वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य लिएर अगाडी बढ्दै बालबालिकाहरु तथा विभिन्न सरोकारवालाहरु संग समन्वय गर्दै सम्पुर्ण सुचकहरु पुरा गर्न सफल भएको नगर उप प्रमुख दधिराम अर्यालले बताए ।

उप प्रमुख अर्यालका अनुसार नगरमा कुल ६८ हजार ८२ जन संख्या मध्ये २८ हजार २६० जना बालबालिका छन् । १८ बर्षमुनीका बालबालिकाहरुमा देखिने बाल दुव्र्यहार, बाल श्रम, बाल विवाह, अधिकार हनन जस्ता घटनाहरुलार्ई रोकी बाल अधिकार, बाल विकास, बाल सहभागिता र बाल संरक्षण गरिदै आफनो लक्ष्य पुरा गरिएको बताए ।

यता नगरका रहेको बालबालिकाहरु पठन पाठन, प्रतिभा र खेलहरु समेतमा उत्कृष्ठ रहेको पाइएको छ । नगर बाल मैत्री नगर घोष्णा पश्चात विभिन्न रणनैतिक योजना बनाई यसलाई निरन्तरता दिईरहने नगरका प्रवक्ता कृष्ण देवकोटाले बताए । जिल्लामा कुल ७ वटा स्थानिय तह छन् । तर बाल मैत्रीको रुपमा सबै भन्दा पहिलो नगर भएको छ । बाल मैत्री पछि नगरलाई महिला मैत्री, वातावरण मैत्री बनाउन लक्ष्य पनि लिइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *