क्यासिनोको बदमासी, इजाजतबिनै मदिरा विक्री

प्रकाश न्यौपाने

भैरहवा, ७ असार ।

रुपा इन्टरनेशनल प्रालिले भैरहवाको होटल नान्समा संचालन गरेको मिनी क्यासिनोले अन्तशुल्कको इजाजत पत्र बिनै मदिरा विक्रीवितरण गरेको पाइएको छ । आन्तरिक राजश्व कार्यालय भैरहवाले क्यासिनोमा छापा हानेपछि तथ्य बाहिर आएको हो । अर्कैको नाममा रहेको लाइसेन्सबाट क्यासिनो संचालन गरी रोयल्टी समेत नतिरेर विवादमा आएको उक्त कम्पनीको एकपछि अर्को बद्मासी बाहिर आउन थालेका छन् ।

नेपालीलाई क्यासिनोमा इन्ट्री गराउन नपाइने प्रावधानविपरीत इन्ट्री गराएको पाइएपछि पाँच दिन अघि पनि संघीय प्रहरी इकाई कार्यालय भैरहवाले छापा हानेको थियो । प्रहरीले छापा हान्दा ४ जना नेपाली भेटिएपछि पक्राउ गरेको थियो । होटल लाकौलमा संचालित ह्याप्पी आवरको नामबाट लाइसेन्सविनै क्यासिनो संचालन गरेको रुपाले अन्तशुल्कको इजाजत पत्र विनै मदिरा विक्री गरेको विशेष सूचनाका आधारमा छापा हानिएको आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए ।

छापा हान्दा संचालकले इजाजत पत्र नलिएको खुलेपछि मदिरा जफत गरिएको छ । ‘मदिरा विक्रीवितरणका लागि इजाजत अनिवार्य हुन्छ तर रुपाले इजाजत नलिएको पाइएको छ’, प्रमुख कर अधिकृत ढकालले भने– ‘हामीले क्यासिनोमा राखिएको सबै मदिरा जफत गरेर ल्याएका छौ, संचालककोतर्फबाट व्यवस्थापक स्वर्णिम राईले दिएको बयानमा पनि इजाजत पत्र नलिएको स्वीकारी सकेका छन्, अब आवश्यक प्रक्रिया अघि बढ्छ ।’

अन्तशुल्क ऐनअनुसार मदिरा विक्रीवितरण गर्न राजश्वबाट इजाजत लिनुपर्छ । तर रुपाले संचालन गरेको क्यासिनोले अन्तशुल्कको मात्रै नभई क्यासिनो संचालन गर्न पर्यटन मन्त्रालयबाट लिनु पर्ने इजाजत समेत लिएको छैन । अन्तशुल्कको इजाजत पत्र विनै मदिरा विक्रीवितरण गर्ने संस्थालाई अन्तशुल्क ऐन २०५८ को दफा १६ को उपदफा ६ बमोजिम कारबाही गरी ५ देखि १५ हजारसम्म जरिवाना व्यवास्था छ । संचालकले इजाजत नलिएको स्वीकारी सकेकाले राजश्वले अन्तशुल्क ऐन अनुसार कारबाही गरी सम्पत्ति जफत र जरिवाना गर्ने प्रमुख कर अधिकृत ढकालले बताए ।

राजश्वका अनुसार अन्तशुल्कको इजाजत लिन ७ हजार दस्तुर लाग्छ भने कारोबार गरेवापत २५ प्रतिशत आयकर बुझाउनु पर्ने हुन्छ । तर रुपाले आयकर पनि तिरेको छैन । जसले गर्दा आयकरवापतको राज्यको लाखौं रुपैयाँ कर गुमेको छ । अन्तशुल्क इजाजत लिँदा क्यासिनो संचालनको इजाजत पेस गर्नु पर्ने हुन्छ । तर क्यासिनो संचालनको अनुमति नै नलिएकाले रुपाले अन्तशुल्कको इजाजत नलिएको हुनसक्ने प्रमुख कर अधिकृत ढकालले बताए ।

यसअघि गौतमबुद्ध सन्देशले भैरहवामा अबैधानिक रुपमा क्यासिनो संचालन भएको समाचार बाहिर ल्याएको थियो । समाचार प्रकाशन भएपछि संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीले क्यासिनोमा छापा हानेको थियो भने जिल्ला प्रशासनले पनि क्यासिनोको बैधानिकताबारे छानविन गरिरहेको छ । रुपाका संचालक मनोज सुवेदीले भने अदालतबाट स्टेअर्डर ल्याएर अवैधानिक रुपमा क्यासिनो संचालन गरिरहेका छन् ।

अवैधानिक रुपमा क्यासिनो संचालन हुँदा समेत प्रशासनले कारबाहीको दायरामा ल्याउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले आवश्यक कागजात अनुसन्धान भइरहेको बताए । उनले अनुसन्धान सकिएपछि क्यासिनोको बैधानिकता बाहिर आउने र सोहीअनुसार प्रशासनले थप कदम चाल्ने बताए । दर्ता विनै नान्स होटलमा रुपाले संचालन गरेको क्यासिनोले सवा करोडभन्दा बढी रोयल्टी समेत तिरेको छैन ।

Facebook Comments