वीरगञ्ज महानगरको मेयरमा संघीय फोरमका विजय सरावगी निर्वाचित

गौतमबुद्ध सन्देश

११ असोज, वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी मेयरमा विजयी भएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् ।

वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, एमालेका बसरुद्धिन अन्सारी, माओवादी केन्द्रका रहबर अन्सारी, राजपाका राजेशमान सिंह र लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा थिए ।

मेयर निर्वाचित सरावगीले १९ हजार तीन सय ९३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका द्विवेदीले १९ हजार एक सय ९७ मत पाए । यस्तै, १९ हजार ६ सय सात मतका साथ उपमेयरमा कांग्रेसकी कार्की विजयी भइन् । उनकी प्रतिद्वन्द्वी फोरम नेपालकी पिंकी यादवले १८ हजार पाच सय ३० मत पाइन् ।

मेयर र उपमेयर दुवैमा राजपा तेस्रो बन्यो । लोकतान्त्रिक फोरमको स्थानमा मेयरमा चौथो र उपमेयरमा पाचौं, एमाले मेयरमा पाचौं र उपमेयरमा चौथो, माओवादी मेयर र उपमेयर दुवैमा छैटौं बन्यो ।

वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *