कारागारमा क्षमताको चार चौगुणा बढी कैदी

प्रकाश न्यौपाने

भैरहवा, २७ जेठ ।

जिल्ला कारागार रुपन्देहीमा क्षमताभन्दा चौगुणा कैदीबन्दी र थुनुवा राखिएको छ । एक सय जनाको क्षमता भएको कारागारमा ४ सय २२ कैदीबन्दी र थुनुवा राखिएको हो । यो क्षमता भन्दा चौगुणा संख्या हो । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई निकै समस्या भएको छ ।

क्षमताभन्दा बढीलाई एकैठाउँ राखेर कारागार प्रशासनले मान्छेलाई पनि भेडाबाख्रा जस्तै गरी कोचेको कैदीबन्दी र थुनुवाले गुनासो गरेका छन् । अर्कोतर्फ समयमै मर्मत नहुँदा भवन पनि जीर्ण बन्दै गएको छ । वरिपरी पर्खाल समेत छैन । यसले सुरक्षामा समेत जटिलता थपेको छ । पर्खाल नहुँदा जनावर र कुकुर समेत भित्र पस्ने गरेका छन् । यसले प्रशासनलाई चुनौती समेत थपेको छ ।

महिला थुनुवा कक्ष समेत छैन । महिला कैदीबन्दीहरुलाई कारागारमा राख्ने ठाउँ नहुँदा कुनै घटनाका महिलाहरु भए पाल्पा, नवलपरासी लगायतका जिल्लाहरुमा पठाउने गरेको कारागारका नासु प्रेम रोक्काले बताए । उनले तत्काल थुनामा राख्नु पर्ने महिला भए टाढाको कारागारमा लैजाँदा समस्या हुने गरेको बताए । पटक–पटक लामो दूरीमा कैदीबन्दी ओसारपसार गर्दा सुरक्षा पनि खतरा हुने गरेको छ ।

‘ठाउँ सानो छ, कैदीवन्दी र थुनुवा धेरै छन्, व्यवस्थापन गर्न निकै समस्या छ’, नासु रोक्काले भने– ‘पर्खाल र तारबार नहुँदा सुरक्षा दिन पनि समस्या छ ।’ वि.सं. १९९० सालमा स्थापना भएको यो कारागार जिल्लाको एक मात्रै होे । यहाँ अहिले १ सय ३३ जना कैदी, विभिन्न अपराधमा मुद्धा चलेका तर अदालतबाट मुद्धा फैसला नभएका २ सय ८९ जना थुनुवा छन् ।

यी मध्ये लागूऔषध, डाकाचोरी, जवरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसारमा दोषी ठहरी कैद फैसला भएका २८ जना विदेशी छन् । उनीहरु सबै भारतीय हुन् । कारागारमा दरबन्दी अनुसारका कर्मचारी छैनन् भने कर्मचारी बस्ने भवन समेत छैन । कारागार जस्तो संवेदनशील ठाउँमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा थप समस्या बढेको नासु रोक्काले बताए । १५ जना कर्मचारीको दरबन्दी भएको कारागारमा जम्मा ११ जना मात्रै कर्मचारी छन् ।

स्थानान्तरणको प्रयास

यसैबीच सिद्धार्थनगर नगरपालिकाले कारागारलाई स्थानान्तरणको पहल थालेको छ । नगर प्रमुख हरिप्रसाद अधिकारीले सानो ठाउँ हुँदा कैदीबन्दी र थुनुवालाई राख्न समस्या भएको भन्दै उचित ठाउँको व्यवस्था गरी कारागार सार्न नगरपालिकाले पहल गरिरहेको बताए । आइतबार कारागार अनुगमनमा आएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई स्थानान्तरण पहल गर्न उनले आग्रह गरे । ‘सानो छ, नगरको बीच भागमा छ, सुरक्षित पनि छैन, त्यसैले अलि व्यवस्थित ठाउँमा सार्नुपर्छ भनेर पहल गरेका छौं’, उनले भने– ‘कारागारा सारेपछि यहाँ नगरपालिकाले पार्कसहितको मनोरञ्जनात्मक पार्क बनाउने योजना बनाएको छ ।’

अनुगमनका क्रममा मन्त्री पण्डितले कैदबन्दी तथा थुनुवा राख्न कारागार सानो भएको भन्दै अन्य ठाउँमा स्थानान्तरणका लागि आफूले पहल गर्ने बताए । उनले कारागार स्थानान्तरणका लागि आफूले गृह मन्त्रालयसँग समन्वय गर्ने जनाए । ‘व्यवस्थित छैन, एकै ठाउँमा धेरैलाई राखिएको छ, सुरक्षाका हिसावले पनि राम्रो मानिएन’, मन्त्री पण्डितले भने– ‘कतै राम्रो ठाउँको खोजी गर्दै गर्नु म स्थानान्तरणका लागि पहल गर्छु ।’

मन्त्रीसमक्ष कारागार प्रशासनले ठाउँ सानो र जीर्ण भवन हुँदा क्षमताभन्दा बढी कैदीबन्दी र थुनुवा राख्नु परेकाले सुधारको पहल गर्न आग्रह गरेका थिए । नासु रोक्काले कर्मचारी दरबन्दी न्यून हुँदा पनि काम गर्न निकै कठिनाई भएको बताए ।

अनुगमनमा मन्त्री पण्डितले कैदीबन्दीसँग पनि कुराकानी गरेका थिए । कुराकानीमा कैदीबन्दीहरुले सानो ठाउँमा क्षमता भन्दा बढी मानिस राख्दा बस्न निकै समस्या भएको बताएका थिए ।

Facebook Comments