गौतमबुद्ध मिडिया प्रा.लि.को दोस्रो साधारणसभा

प्रदेश नंं. ५ को सशक्त मिडिया बनाउने प्रतिवद्धता

गौतमबुद्ध सन्देश
भैरहवा, ८ असोज । गौतमबुद्ध मिडिया प्रा.लि. रुपन्देहीको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । रुपन्देहीको चिल्हियास्थित बाउन्नकोटी सामुदायिक वनमा साधारणसभा सम्पन्न भएको हो ।
समग्र ५ नं प्रदेश हुंदै राष्ट्रिय स्तरकै लोकप्रिय र प्रतिष्ठीत मिडिया हाउसको रुपमा विकास गर्ने उद्देश्यका साथ २०७२ फागुन २ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको मिडिया प्रा.लि.ले हाल भैरहवाकै एकमात्र दैनिक पत्रिकाको रुपमा गौतमबुद्ध सन्देश दैनिकलाई निरन्तर रुपमा प्रकाशित गर्दै आएको छ । साधारणसभामा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.ले मिडिया शुभारम्भ गर्नु धेरै सजिलो भए पनि लामो समय सम्म टिकाउन जटिल रहेको बताए । उनले गौतमबुद्ध मिडिया प्रा.लि.ले चुनौतीहरुलाई चिर्दै अगाडि बढेको भन्दै प्रशंसा गरे । अध्यक्ष जि.सी.ले पाठकको मन जितेर बजार विस्तार गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरका अध्यक्ष माधव ढुङ्गानाले मिडिया चलाउन निकै कठिन बनिरहेको समयमा गौतमबुद्ध मिडिया प्रा.लि.ले चुनौतीहरुका बाबजुद पनि सफल ढंगले अगाडि बढ्दै गएको बताए । उनले स्थानीय मुद्दाहरुलाई अझ सशक्तरुपले उठान गर्न सुझाव दिए ।
प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष भुवन कार्कीले सुरुवातकै चरणमा गौतमबुद्ध मिडिया प्रा.लि.ले अनलाइन संस्करण सुरु गर्नु प्रशंसनीय रहेको बताए । उनले मिडियाको संख्यात्मक रुपमा विकास भएसंगै गुणात्मक रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।


गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रीले प्रतिवेदन प्रस्तुत गर्दै अनलाइनपछि रेडियो र क्रमशः टेलिभिजन सञ्चालन गर्ने लक्ष्य रहेको बताए । प्रालिका सञ्चालक नारायणप्रसाद भण्डारीले मिडियामार्फत समाज रुपान्तरण र आर्थिक समृद्धिमा टेवा पु¥याउन सकारात्मक पत्रकारिताका लागि प्रालिले कुनै कसर बांकी नराख्ने प्रतिवद्धता जनाए । साधारणसभामा कोषाधयक्ष रामचन्द्र रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सञ्चालक ज्ञानु पौड्याल, चोपलाल आचार्य, शेयर सदस्य डा.ऋषिराम शर्मा, दिनेश पौड्याल, प्रमोद ज्ञवाली, शोभाकान्त नेपाल, फैज अहमद खान, अनिल कुमार ज्ञवाली, प्रेम नारायण बेल्बासे, शंकर ज्ञवाली,चन्द्रमणि अधिकारी (रामु), धिरज कुमार मल्लिक, मृगेन्द्र गोविन्द श्रेष्ठ, केशवराज ज्ञवाली लगायतले बोल्दै पत्रिकालाई स्तरीय बनाउन आआफ्नो ठाउंबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रा.लि.ले पत्रिका प्रकाशनसंगै पत्रकारितामा रुची राख्नेहरुलाई मध्यनजर गरी पत्रकारिता तालिमको आयोजना गर्ने, पत्रिकाको स्थापना दिवसको अवसर पारेर सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यहरु गर्ने, प्रा.लि.मा आबद्ध कर्मचारीहरुलाई क्षमता अभिबृद्धिको लागि तालिम दिने र अन्य समसामयिक तथा जनसरोकारका बिषयमा अन्तरकृया, बहस लगायतका कार्यक्रमहरु पनि आयोजना गर्ने लक्ष्य लिएको प्रबन्ध निर्देशक माधव न्यौपानेले जानकारी दिए । १७ जना संस्थापक शेयरधनीहरुबाट सुरुवात भएको मिडिया प्रा.लि.मा हाल ३० जना शेयर सदस्यहरु रहेका छन् ।

Facebook Comments