देश समृद्ध बनाउन परिवर्तन : मन्त्री गिरी

रबिन्द्र प्रताप गुप्ता
भैरहवा, २१ चैत । प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले देशलाई यथास्थितिमा राख्न परिवर्तन नगरिएको बताएका छन । उनले देशलाई समृद्ध बनाउने लक्ष्यका साथ मुलुकमा आमुल परिवर्तन भएको बताए ।

नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीको १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनलाई भैरहवामा सम्बोधन गर्दै मन्त्री गिरीले मलेशिया लगायतका देशबाट गुणस्तरहीन काठ आयात गर्नु दुःखद भएको बताए । उनले उपभोक्ताले वन पैदावार अत्यन्त सुलभ तरिकाले उपयोग गर्न पाउनुपर्नेमा जोड दिए । “वन क्षेत्रमा वदमासी छ, इमान्दारिपूर्वक काम गरेर जनतालाई विश्वास दिलाउनुपर्छ भन्ने कुरामा हामी केन्द्रीत छौं, वैज्ञानिक वन उपयोगिताको अवधारण अनुसार नै अगाडी बढ्नुपर्छ, उनले भने ।

ने.क.पा. एमालेका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इञ्चार्ज समेत रहेका गिरीले आफ्नो पक्षमा मात्र कानुन बनाउने काम हुन नसक्ने भएकोले उपभोक्ताको हित तथा वनजंगलको संरक्षण तर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै रुपन्देही क्षेत्र नं. ३(१) का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले प्रदेशसभाको माध्यमबाट वन क्षेत्रमा रहेका समस्याहरुको समाधान गरिने बताए । उनले सम्पूर्ण पक्ष मिलेर वनको संरक्षण र सदुपयोगमा लाग्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य पाण्डेयले वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष श्याम सुन्दर ढकालले काठ आपूर्तिलाई सहज बनाउनुका साथै विदेशी काठलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले जनताले काठ उपभोग गर्न पाउने नीति प्रदेश सरकारले बनाउनुपर्ने बताए ।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कपिल प्रसाद अधिकारीले नेपालको वनलाई संरक्षण मात्र नभइ सदुपयोग समेत गर्नुपर्ने बताए । उनले वनको क्षेत्रमा राज्यको नीति स्पष्ट हुनुपर्ने धारणा राखे ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले भाषण भन्दा पनि अब काम गरेर जनतालाई विश्वास दिलाउने बेला आएको बताए । उनले नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीको नारा प्रशंसनीय रहेको बताए ।

जिल्ला वन कार्यालय रुपन्देहीका वन अधिकृत रोमराज लामिछानेले वन डढेलो लाग्ने समय सुरु भएकोले यसतर्फ सबैको ध्यान जानुपर्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले २०४६ साल पश्चात थुप्रै सरकार आए पनि वनको व्यवस्थापन हुन नसकेको बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले उद्योगी व्यवसायीले संल्ग्न गराएर नीति बनाउन आवश्यक रहेको बताए । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले काठ व्यवसायीले जंगल फडानी गर्ने कुरा नभएर जंगलको संरक्षण गर्ने कुरा गरिरहेको बताए ।

भैरहवा मर्निङ वाक गु्रपका अध्यक्ष ओमकार गौचनले वृक्षारोपणका साथै विरुवाको संरक्षण तर्फ पनि ध्यान दिनुपर्ने बताए ।
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता, उपाध्यक्ष रुद्र बहादुर हमालको धन्यवाद ज्ञापन तथा महासचिव दिनेशराज रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा मायादेवी गाउँपालिका–८ मा अवस्थित संघको नवनिर्मित भवनको प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले उद्घाटन गरेका थिए ।

अध्यक्षमा अधिकारी

यसै बीच नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीको बुधबार सम्पन्न चौथो अधिवेशनले छविलाल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा नवल किशोर टण्डन, महासचिवमा नर बहादुर श्रीस, कोेषाध्यक्षमा हरि बहादुर खत्री, सचिवमा यम प्रसाद पाण्डे र सह–कोषाध्यक्षमा चन्द्रभान गुप्ता रहेको प्रमुख निर्वाचन अधिकृत अर्जुन रानाभाटले जानकारी दिए । त्यस्तै सदस्यहरुमा मणि घिमिरे, दुर्गा प्रसाद खरेल, सन्तोष कुमार जैसवाल, केशव आचार्य, तेज प्रसाद पराजुली र युवराज अधिकारी निर्वाचित भएको रानाभाटले बताए ।

 

Facebook Comments