क्याम्पसलाई दराज हस्तान्तरण

गौतमबुद्ध सन्देश
भैरहवा, २२ चैत । भैरहवा बहुमुखी क्याम्पस, सिद्धार्थनगरका पूर्व विद्यार्थी प्रख्यात बञ्जाडेले क्याम्पस अन्तर्गत समाजशास्त्र विभागलाई दराज सहयोग गरेका छन । बिहीबार एक कार्यक्रमका बीच बञ्जाडेकी छोरी प्रज्ञाश्री बञ्जाडेले क्याम्पस प्रमुख अनिल कुमार झालाई दराजको चाबी हस्तान्तरण गरेकी छन ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख झाले क्याम्पसको लागि केही न केही गर्ने उद्धेश्यले सहयोग गर्नु प्रशंसनीय रहेको बताए । उनले क्याम्पसलाई राम्रो बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

समाजशास्त्र विभाग प्रमुख लक्ष्मण तिमिल्सिनाले विगत देखि नै विद्यार्थी प्रख्यात बञ्जाडे रचनात्मक कार्यमा लागिरहेको स्मरण गर्दै क्याम्पसमा दराजको आवश्यकता रहेको महसुस गर्दै सहयोग गर्नु प्रशंसनीय भएको बताए । प्राध्यापक विमला पोखरेलले क्याम्पसलाई दराज सहयोग गर्नु उदारणीय र स्वागतयोग्य कार्य भएको बताइन ।

पूर्व विद्यार्थी प्रख्यात बञ्जाडेले क्याम्पसमा अध्ययन गर्दा नै सामाजिक उत्तरदायित्वका कार्यहरु अगाडी बढाएको र यस्ता कार्यलाई निरन्तरता दिने बताए । उनले क्याम्पस हराभरा राख्न केही सहयोग पुगोस भन्ने उद्धेश्यका साथ ५ थान डस्टवीन समेत उपलब्ध गराउने जानकारी दिए । पत्रकार रबिन्द्र गुप्ताको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments