मधेशी पुत्र–२ को उद्घाटन

गौतमबुद्ध सन्देश
भैरहवा, ७ चैत । मधेश आन्दोलन र मधेशको राजनीतिक घटनाक्रम बारे निर्माण भएको नेपाली र भोजपुरी भाषाको चलचित्र ‘मधेशी पुत्र–२’ आगामी चैत ९ गते देखि नेपालभरी प्रदर्शन हुन गइरहेको छ । अनुराग फिल्म्सको सातौं प्रस्तुति रहेको सो चलचित्रको प्रदर्शनको पूर्व सन्ध्यामा भैरहवाको सिद्धार्थ चलचित्र मन्दिरमा प्रिमियर शो देखाइएको छ ।

शो को एक कार्यक्रमका बीच रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादव र रुपन्देही क्षेत्र नं. ३(१) का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले संयुक्त रुपमा उदघाटन गरे ।

कार्यक्रममा बोल्दै सांसद यादवले चलचित्र क्षेत्रको विकासको लागि आफुले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै प्रदेशसभा सदस्य पाण्डेयले चलचित्र निर्माण गर्दा लुम्बिनी क्षेत्रलाई कुनै न कुनै रुपमा समावेश गर्नुपर्ने बताए । उनले चलचित्रको माध्यमबाट देशको विकासमा टेवा पुग्ने बताए ।

संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका उपाध्यक्ष विद्या यादवले मधेश आन्दोलनको विषयवस्तुलाई समेटेर निर्माण गरिएको चलचित्र सफल हुने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादव, राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य ताहिर अली, जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव लगायतको आतिथ्यता रहेको थियो ।

‘मधेशी पुत्र’को सफलतापछि त्यसको भाग २ निर्माण गर्न हौसिएका निर्माताले मधेशी पुत्र–२ ले पनि दर्शकको मत जित्ने दाबी गरेका छन् । यस अघि चलचित्रमा डा. राउतको भूमिका राखेको भन्दै सेन्सर बोर्डले पास गर्न मानेको थिएन । मधेशको नाममा हुने राजनीति र आन्दोलनका बारे चलचित्रमा दर्शाइएको छ ।

फिल्मको लेखन र निर्देशन नायक निराजन मेहता (मन्जीत) ले गरेका छन् भने निर्माता उदित नारायण साह (अरुण) रहेका छन् । भोजपुरी फिल्मको इतिहासमा पहिलो पटक मधेशको कथा भएको फिल्म बनेको निर्देशकको दाबी छ ।

Facebook Comments