पाल्पा जिल्लामा पहिलो भुकम्प प्रतिरोधी घर

विष्णु भट्टराई

पाल्पा, चैत्र १
पाल्पा जिल्लाको साविक भुवन पोखरी गा.वि.स. वडा नं. ३ हाल छहरा रैनादेवी गाउँ पालिका, अर्सौदीमा जिल्लामै पहिलो पटक भुकम्प प्रतिरोधी घर तयार भएको छ । अर्सौदी निवासी कमलराज भट्टराईको घर २०७२ साल बैशाख १२ गतेको भुकम्पका कारण भत्किएको हुँदा पहिलो पटक नयाँ प्रविधि सहित घर निर्माण भएको हो । डकर्मी तथा सिर्कमीहरुलाई आफूले नै रकम खर्च गरी पाल्पा सदरमुकाम ल्याइ १५ दिन सम्म सहरी विकास कार्यालयमा तालिम दिलाए पश्चात उक्त घरको निर्माण कार्य थालिएको थियो । निर्माण कार्य थाल्नु अगाडि इञ्जिीनियर सन्तोष खनाल तथा सह इञ्जिनियर विकास रावलद्वारा नक्साङ्कन गरिएको थियो भने ओभरसियर सिर्जन ज्ञवाली लगायतले स्थलगत अवलोकन र सल्लाह सुझावमा सहयोग गर्नुभएको थियो । २०७४ कार्तिक ३ गतेदेखी सुरुआत गरिएको उक्त घर निर्माण चैत्र १५ गतेसम्म पूर्ण रुपमा सम्पन्न हुने अनुमान गरिएको छ ।

जिल्लाकै पहिलो भुकम्प प्रतिरोधी घर हाल नमूना घरका रुपमा लिइ जिल्लाका अन्य ठाउँमा समेत भुकम्प प्रतिरोधी घर निर्माण भइरहेको कुरा कमलराज भट्टराईले जानकारी दिए । गाउँपालिका कार्यालयका भित्ता भित्तामा समेत उक्त घरको फोटो टाँसिएको र पाल्पा जिल्लाका जिल्ला समन्वय समितिका कार्यालय प्रमुखद्वारा समेत सो घर निरीक्षण गरिएको कुरा उनले बताए ।

भुकम्प प्राधिकरणद्वारा तीन चरणमा गरी तीन लाख मात्र राहत स्वरुप दिइएको उक्त घरको लागत भने एघार लाख पुगिसकेको र पूर्ण रुपमा सम्पन्न गर्दा अनुमानित चौध लाख रुपैया खर्च हुने देखिएको छ ।
भुकम्प पीडितलाई घर निर्माणका लागि दिइने तीन लाख रकम हात्तीका मुखमा जीरा जस्तो भएको भन्दै कमलराज भट्टराईले दुःखेसो गरे ‘मैले जसरी तसरी घर तयार गरी हाँले तर मभन्दा निम्न आय श्रोत भएका हरुका लागि यो रकमले कुनै हालतमा घर निर्माण हुन सक्दैन । यदी पीडितको घाउमा मलम लगाउन खोजिएकै हो भने भुकम्प पीडितलाई प्रदान गरिने रकममा वृद्धि गरिनु पर्छ ।’

उक्त घर निर्माणका लागि माटो, ढुंगा, काठ, सिमेन्ट, छड जस्ता कच्चा पदार्थको प्रयोग गरिएको बताउँदै विभिन्न चरणमा घरलाई छड र सिमेन्टको स्यापिङ् दिइ मजबुत बनाइएको छ भने गारो जगदेखी नै वैज्ञानिक किसिमले उठाइएको छ ।

Facebook Comments