न्यू होराइजन क्रिकेट क्लब विजयी

गौतमबुद्ध सन्देश

भैरहवा, १७ फागुन । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’ को समूह (सि) को खेलमा न्यू होराइजन क्रिकेट क्लब बुटवलले प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवालाई १ सय ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३ सय २४ रनको योगफल तयार गरेको थियो । उसका लागि नूरध्वज शेनले ६६, गणेश गौडेलले नटआउट ६०, बिशाल भण्डारीले ४७ र शुसान भारीले ३२ रनको योगदान दिए । बलिङमा प्रोफेसनल मास्टर्सका दुर्गा शेन र किशोर महत्तोले समान २÷२ विकेट लिए ।

प्रतिउत्तरमा ३ सय २५ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको प्रोफेसनल मास्टर्सले निर्धारित खेलमा २४ ओभर १ बल खेल्दै सबै विकेट गुमाई जम्मा १ सय ३४ रन मात्रै बनाउन सक्यो । उसका लागि किशोर महत्तोले ५१ र बादल छन्त्यालले १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो अंक जोड्न नसक्दा टिमले हार व्यहो¥यो । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा न्यू होराइजनका सुरज श्रेष्ठ र शुसान भारीले समान ४÷४ विकेट लिए । खेलमा होराइजनका गणेश गौडेल म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

शनिबार समूह (डि) मा रहेका लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र बुम एमसिसी क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने खेल संयोजक विनय ज्ञवालीले बताए । प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गते सम्म चल्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *