महिला क्रिकेट खेलाडीलाई विदाई

गौतमबुद्ध सन्देश

भैरहवा, ७ फागुन । प्रथम प्रधानमन्त्री महिला क्रिकेट कपमा सहभागी हुने पश्चिमाञ्चलका महिला क्रिकेट खेलाडीहरुलाई विदाई गरिएको छ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही फागुन ९ गते देखि १४ गते सम्म धनगढीमा सञ्चालन हुँदैछ । प्रतियोगितामा ५ विकास क्षेत्रका क्षेत्रीय ५ टिम र विभागीय एपिएफ टिम गरी ६ वटा टिमले सहभागिता जनाउँदैछन् ।

खेलाडीहरुलाई रुपन्देही क्रिकेट संघले सोमबार भैरहवामा एक कार्यक्रमका बीच विदाई गरेको हो । खेलमा सहभागी हुन पश्चिमाञ्चलबाट १६ सदस्यीय टोली धनगढीतर्फ सोमबार साँझ प्रस्थान गरेको छ । खेलाडीहरु जिल्ला खेलकुद विकास समिति रुपन्देहीकी सदस्य उमा अधिकारीको नेतृत्वमा खेलमा सहभागी हुँदै छन् भने टिमको प्रशिक्षकमा रिजन प्रजू र कप्तानमा वर्षा राना तथा उपकप्तानमा सरस्वती पुन रहेका छन् ।

खेलाडीलाई विदाई गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले अनुशासनपूर्वक खेलेर विजेता भएर आउनेमा आफू विश्वस्त रहेको बताए । उनले खेलाडीको सबैभन्दा ठुलो गहना भनेकै अनुसासन भएको बताउँदै विजयी भएमा खेलाडीलाई नगरपालिकाले सम्मान गर्ने जनाए । उपप्रमुख उमा काफ्लेले पश्चिमाञ्चलका महिला खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी यस क्षेत्रको गरिमा उच्च बनाउनेमा आफू ढुक्क रहेको बताइन् ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले शारीरीक रुपमा फिटनेस भएका खेलाडी टिममा सहभागी भएकाले विजयी हुनेमा कुनै शंका नरहेको बताए । प्रशिक्षक प्रजुले लामो समय प्रशिक्षित र अब्बल खेलाडी टिमा सहभागी भएकाले आफूहरु विजयी भएर फर्कने बताए ।

विदाई कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव संजय गुरुङले गरेका थिए । सो अवसरमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, अम्पायर र खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

 

Facebook Comments