विद्यार्थीहरुलाई सोलार वितरण

गौतमबुद्ध सन्देश
धकधई, ३ फागुन । रोहिणी गाउँपालिकाका विद्यार्थीहरुलाई सोलार टुकी वितरण गरिएकोे छ । गरिब एवं जेहेन्दार विद्यार्थीहरुलाई प्रकाशको कमीले अध्ययन प्रभावित नहोस भन्ने उद्देश्य सहित सोलार टुकी वितरण गरिएको हो ।

वैकल्पिक उर्जा व्यवस्थापन प्रवर्धन केन्द्र बाट “शिक्षाको लागि उज्यालो कार्यक्रम” अन्र्तगत रोहिणी गाउँपालिकामा रहेका विभिन्न ६ वटा विद्यालयहरुमा सोलार टुकी वितरण गरिएको राम नरेश यादव आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तारानाथ त्रिपाठीले बताए । राम नरेश यादव आदर्श माध्यमिक बिद्यालयका १ सय ३० जना विद्यार्थीहरुलाई उक्त सोलार टुकी वितरण गरिएको त्रिपाठीले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का दलित, जनजाति, आदिवासी लोपान्मुख विद्यार्थीहरूलाई उक्त टुकी वितरण गरिएको हो । यसै गरी रोहिणी गाउँपालिकाकै पोखरभिण्डी मावि, पजरकट्टी मावि, बगहा मावि, बोदवार मावि र छिपागढ माविमा पनि सोही कार्यक्रम अन्र्तगत सोलार टुकी वितरण गरिएको उनले बताए ।

राम नरेश यादव आदर्श माध्यमिक विद्यालयका १ सय ३० जना विद्यार्थीहरुलाई सोलार टुकी वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रोहिणी गाउँपालिकाले गाउँपालिका मातहतका बिद्यालयहरुमा शिक्षाको विकासको लागी आफुले सक्दो प्रयास गर्ने बताए ।

स्थानिय समाजसेवी एवं विद्यालयका पूर्व विद्यालय ब्यावस्थापन समिति अध्यक्ष ताहिर अलीले सोलार टुकी ल्याउन गरेको अथक प्रयत्नले सार्थकता पाएको छ ।

सोलार टुकी बितरण कार्यक्रममा रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव, वडा नं. ३ का वडाअध्यक्ष विर बहादुर क्षेत्री, विद्यालय ब्यावस्थापन समिति अध्यक्ष राजकुमार यादव, प्रधानाध्यापक तारानाथ त्रिपाठी लगायतले बोल्दै कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु लोडसेडिङ्गको मारमा सबै भन्दा बढी परिरहेकोमा अब केही राहत महसुस गर्ने बताए । उनीहरुले विद्यार्थीहरुलाई थप लगनका साथ अध्ययन गरी धकधई एवं समग्र रोहिणीको शैक्षिकस्तर उकास्न प्रतिवद्ध हुन आग्रह गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *