कविता : एउटा टालो मुटुको (वाचन सहित)

 

डा प्रकाश भट्टराई, बालकोट पिएचसी

ननमेडिकल पाठकका लागि पूर्वजानकारी:
मुटुमा  छिद्र/प्वाल परेको भन्ने सुन्नु भएकै होला। प्राय: यस्तो समस्या जन्मजात हुन्छ! धेरैजसोको  बेलैमा शल्यक्रिया गरेपछि, त्यस्ता व्यक्तिले सामान्य जीवनयापन गर्न सक्छन्! ती मध्ये मुटुको भेन्ट्रिकल या एट्रियमका बीचमा हुने  छिद्र/प्वालहरुको बेलैमा  उपचार नहुँदा जटिल अवस्था आउँछ, त्यसलाई ‘एइसेनमेङ्गर सिन्ड्रोम’ भनिन्छ! एइसेन्मेङ्गर भइसकेपछि, त्यसलाई फर्काउन जटिल हुन्छ!)
यो एउटा यस्तो किशोरीको एकालाप हो, जसले  सामाजिक भेदभावको चपेटामा परी मृत्युवरण गर्नुपर्यो । छोरी भएर जन्मिएकै कारण  सरकारले निःशुल्क दिने उपचार समेत पाइनन्। आर्थिक रुपमा मध्यम परिवारमा जन्मिए पनि, छोरीलाई सहरसम्म पुर्यााउने  पैसा या भनौं इच्छाशक्ति परिवारसँग भएन।

एउटा टालो मुटुको

एइसेन्मेङ्गर!
एइ… सेन्मेङ्गर!
थाहै नदिई मेरो मुटुमा
‘एइ!!’ गर्दै आएका रहेछौ
एइया!! बनाएर गयौ ।

छिद्रै  पारिदिएथेँ, टाल्न सकिनँ,
रित्तो टुकी अँध्यारोमा, बाल्न सकिनँ!

डर पो लागेझैं हुन्थ्यो, बढ्थ्यो  ढुकढुकी,
एकछिन दगुर्दा नै, सास फेर्थें फुकिफुकी ।
भाग्नु पो कहाँ भाग्नु, भेट्नु कसलाई छ र?
मुस्कुराउनै पो सकिनँ, जीवन के चलाई छ र?

***
भन्थिन् आमाले,
पहिले एक डोको दाउरा,
अनि त्यसपछि एक थाल भात
भाइ भन्थ्यो, दिदी तँ घरै बस्,
आज म ल्याउँछु दाउराको खात,
अबोध उसको ममता,
अनि आमाको (कस्तो?) समता,
बुझिनँ मैले,
किन सक्दिनँ एक डोको बोक्न,
मभन्दा सानो, भाइले जति पनि,
मन त हुन्थ्यो, सबलाई रिझाऊँ,
दाइले जत्ति बोकौं दाउराको भारी,
सक्दिनथेँ, सोच्थेँ,  चुप लाग्थेँ, पिटिन्थेँ, पिरिइन्थेँ,
कोइ थिएन बोल्ने मलाई मुसारी !

तै  एकदिन,
बाले जँचाउन लैजान्छु भने,
अनि
म त्यसै दङ्ग !
गाडीमा चढ्न पाउँछु, सहर देख्न पाउँछु,
मिट्ठो खान पाउँछु भनेर !
के थाह थियो र मलाई,
यस्तो महसुस गर्ने मेरो,
मुटुमा नै बस्या छ केही छिद्र  बनेर !

गाडी त चढेँ, मिठाइ पनि खाएँ,
तर नमज्जाको मिठाइ,
अहिले सम्झिँदा पनि स्वादकेषिकाहरु तित्तिन्छन्,
अमारिन्छन् त्यसै मुटुका मांशपेशीहरु,
अनि उफ्रिन खोजेर नि लतारिइन्छन्,
मनका शरणार्थी आँट अनि सेखीहरु !

भूस…भूस…भूस…
लगातार
भूस…भूस…भूस…
मेरो मुटु,
बजाउँछ, यही धुनको आलाप,
न निद्रा, न काम
जतिखेरै, सोच्थें म किन?
भन्छन्, मान्छेहरु नबुझेरै,
मुटुबाटै मुटु छोएरै निस्किने सङ्गीत मीठो हुन्छ रे !
तर, मेरो मुटुको झन्कार कहिल्यै मीठो बजेन !

एकचोटि सहरबाट फर्किएसि,
न अर्कोचोटि  सहर टेकेँ,
न अर्कोचोटि रहर जाग्यो,
लाग्यो त फगत,
जबर्जस्तीको एकोहोरो, कर्कश
आफ्नै मुटुको सङ्गीत कहर लाग्यो !

सुन्थेँ, सरकारले मुटुको छिद्र टाल्दिन्छ रे ! ,
बरु मेरो कानै टाल्दिए हुने,
नहुने आशा त सुन्नै पर्थेन कमसे कम,
बरु मेरो मनै टाल्दिए हुने,
भित्रभित्रै त सुक्न पर्थेन कमसे कम !

तर, सरकारले मुटुको छिद्र टाल्दिने भन्यो,
मेरो परिवारका मान्छेको अविश्वास टाल्दिन भनेन,
सरकारले अपरेसनको जिम्मा लिन्छु भन्यो,
मुटुमा छिद्र  भएकी एक केटीको अब उप्रान्तको जिन्दगी जिम्मा लिन्छु भनेन!

शनैः शनै:
सुकेकी म डढेँ, भएँ खरानी
भए खुट्टा सबै टुटाइएकी परानी !
बाको आर्मीको पेन्सन,
दाजुका बेपारका नोट,
मेरा लागि चलेनन्,
चलेन सरकारको छिद्र  टाल्ने परियोजना पनि !

कोमल, अनि
बेली फूलका पत्रजस्ता राता
कलम समात्ने मेरा औंला,
हेर्दाहेर्दै,
नीला ड्रमस्टिकजस्ता भए
मुस्कुराएरै हरेक थकान मेट्ने यो अनुहार
छिनछिनमा पसिना छुट्ने
कलेँटी खै ! कस्ता-कस्ता भए।

जानैपर्ने हो सबले
ढिलो चाँडो,
‘कठै!’ पो भन्छन् त साथी
अनि छिमेकी ती आमाहरु
बुझ्दैनन्
फाटेको छैन मेरो अझै,
बुट्टे रेशमी जामाहरु !

‘हेइ! एनी सेन मेन्ज आर यु दियर?
सुन्नुस् सबैले,
एइसेन्मेङ्गरलाई,
‘एक टालो’ चुँडालेर दिएथेँ मुटु
र, जाँदैछु म हाँसीहाँसी
मेरो मुटुको ‘त्यो एक टालो’ जतन गर्नु है!

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *