मंगलबार देखि जिल्लास्तरीय सुपर लिग

गौतमबुद्ध सन्देश

भैरहवा, २९ माघ । मंगलबार देखि जिल्लास्तरीय सुपर लिग हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता हुन लागेको संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता रहनेछ । जसमा (ए) डिभिजनका ८ क्लब छन् भने (बी) डिभिजनका १३ क्लब छन् । प्रतियोगिताको सुरुमा (बी) डिभिजनका १३ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट उत्कृष्ट चार टिमलाई छनौट गरी (ए) डिभिजनका टिममा समावेश गरी १२ टिम बीच सुपर लिगमा प्रतिस्पर्धा गराइने अध्यक्ष मल्लले बताए ।

प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्सले सहप्रायोजन गरेको छ । फागुन १ देखि २६ गतेसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्ने सुपर लिग संयोजक विनय ज्ञवालीले बताए । उनका अनुसार खेल ५० ओभरको हुनेछ भने प्रतियोगिता भर कुल २४ वटा खेल हुनेछन् ।

यसै बीच खेलाडी, अम्पायर र खेल हेर्न जाने दर्शको हुन सक्ने सम्भावित दुर्घटनालाई लक्षित गरी संघले दुर्घटना विमा गरेको छ । खेल संचालन हुनु एक दिन अघि सोमबार संघ र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. भैरहवा शाखाबीच दुर्घटना विमा गर्ने सहमति भएको हो । सहमति पत्रमा कम्पनीका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवाली र क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले हस्ताक्षर गरेका छन् । प्रबन्धक ज्ञवालीका अनुसार खेल अवधिभर रंगशाला भित्र खेलाडी, अम्पायर, दर्शक मध्ये कसैको दुर्घटना भएमा उपचार खर्च र मृत्यु भएमा मृतकलाई कम्पनीले पाँच लाख उपलब्ध गराउने छ ।

 

Facebook Comments