बार्षिक कृषि कार्यक्रम सम्पन्न

गौतमबुद्ध सन्देश
भैरहवा, मायादेवी गाँउपालिकाले आर्थिक वर्ष ७४।७५ को वार्षिक कार्यक्रम अन्तरगत कृषि तालिमहरु सम्पन्न गरेको छ ।
गाँउपालिकाका एक देखि आठ वडामा रहेका दुई सय दश जना किसानहरुलाई तालिममा सहभागि भएका थिए । दश दिनको तालिममा लक्षित समुदाय, महिला तथा दलितहरुलाई प्राथमिकता दिइएको थियो । व्यवसाहीक तरकारी खेती, बीउ उत्पादन, विषादी प्रयोग, माटोको परिक्षण, उन्नत बीउको प्रयोग लगायतका बारेमा तालिममा सिकाइएको मायादेवी गाँउपालिकाका कृषि प्राविधिक साहायक मोहम्मद हनिफ खाँले बताउनुभयो । परम्परागत रुपमा खेती गर्दै आएका किसानहरुलाई व्यवसाहीक बनाउन तालिमले सहयोग मिलेको सहभागी किसानहरुले बताए । आफुले सिकेको प्रविधि आफ्नो खेतीमा प्रयोग गर्ने उनीहरुको भनाइ थियो । गाँउपालिकाले आन्तरिक स्रोतबाट आठ लाख ६० हजार बजेटबाट तालिम सम्पन्न गरेको हो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र र तरकारीको बीउ दिइएको थियो । गाँउपालिकाले एक सय चालिस जना किसानहरुलाई सामुहिक प्रयोजनकालागि भन्दै एक सय चालिस वटा स्प्रे मेसिन बितरण गरेको थियो । गाँउपालिकाले कृषिकालागि छुट्याएको सबै बजेट सकिएको छ । न्युन बजेट छुट्याएको गाँउपालिकालाई आन्तरिक स्रोतबाट भएपनि कृषिमा व्यवसाहिककरण गर्न सहयोग मिल्ने कार्यक्रमरु गर्न पर्ने अगुवा किसानहरुको माग छ ।

Facebook Comments