कपिलबस्तुको मतगणना सदरमुकामका दुई स्थानमा गरिने

कपिलबस्तु । मंसिर २० ।
कपिलबस्तुमा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मतगणना सदरमुकाम तौलिहवाका २ छुट्टाछुट्टै स्थानमा गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलबस्तुले निर्वाचन क्षेत्र नंम्बर १ र ३ को बुद्ध पद्म माबि र क्षेत्र नंम्बर २ को तौलेश्वर संस्कृत माबिमा गर्ने तयारी गरेको हो ।
जिल्लाका सबै क्षेत्रका मतपेटिकाहरु उक्त बिद्यालयमा ल्याउने र त्यही गणना गर्ने मुख्य निर्वाचन अधिकृत ॐकार उपाध्यायले बताउनुभएको छ । सबै मतदान केन्द्रका मतपेटिकाहरु गणना स्थलमा संकलन भएपछि दलहरुसँग सर्वदलिय बैठक गरेर मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो ।
मतगणना भइरहँदा क्षणक्षणमा प्राप्त मतसंख्या सर्वसाधरण सामू पुर्याउने व्यवस्था पनि मिलाउने उपाध्यायले बताउनुभयो । यसपटकको मतगणनामा सिसिटिभी जडान गरिने मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभएको छ । प्रत्येक कोठामा सिसिटिभी क्यामेरा जडान गरिएको उहाले बताउनुभयो ।
निर्वाचन क्षेत्र नं. १ को मतगणना ४ वटा कोठामा यस्तै क्षेत्र नं. २ को ३ वटा कोठा र ३ को पनि ३ वटा कोठामा गणना गरिने बताइएको छ । जिल्लाभर २३३ स्थानमा ४१० वटा मतदान केन्द्र छन् । कतिपय जिल्लामा मतगणनाको तयारीमा तारजाली लगाउने क्रम शुरु भएका बेला कपिलबस्तुमा भने तारजाली नराखी गणना गरिने बताइएको छ ।

 

Facebook Comments