वाम गठबन्धनको नगरस्तरीय घरदैलो शुभारम्भ

गौतमबुद्ध सन्देश
भैरहवा, ६ मंसिर । संयुक्त वामगठबन्धनले मंगलबार भैरहवामा घरदैलोको शुभारम्भ गरेको छ । बुद्धचोकबाट शुरु भएको बृहत नगरस्तरिय घरदैलो कार्यक्रम नगरका नारायण पथ, बैंकरोड, गल्लामण्डी, मैत्रीपथ हुंदै पुन बुद्धचोकमा पुगेर समापन भएको थियो ।

सयौंको संख्यामा ¥याली सहित ब्यानर र प्लेकार्ड बोकेका कार्यकर्ता गल्लामण्डीमा पुगेर वडा नं. ६ को प्रचार कार्यालय उद्घाटनमा सहभागी भएको निर्वाचन परिचालन समिति सि.न.पा.–६ का सह–संयोजक एवं माओवादी केन्द्र सिद्धार्थनगरका सचिवालय सदस्य राम दयाल गुप्ताले बताए ।

कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हकिकुल्ला खाँले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातामा आग्रह गरे । प्रतिनिधिसभाको लागि समानुपातिक तर्फका उमेदवार समेत रहेका खाँले वाम गठबन्धनका उम्मेदवार जितको नजिक भएको र देश विकासमा वाम सरकार नै आवश्यक भएकाले अत्याधिक बहुमतले विजयी हुने पनि बताए ।

प्रचार कार्यालय उद्घाटन कार्यक्रममा रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुषालले जनताले लोभ लालच र प्रलोभनमा नपरी निर्धक्कका साथ सहि उम्मेदवार छान्न सबैमा आग्रह गरे ।

कार्यक्रममा क्षेत्र नं.३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार विश्वास बरालले इमान्दार कर्मठ र जनताको काम गर्ने उमेदवार रोज्न मतदातालाई आग्रह गरे । कार्यक्रममा उद्योगी व्यवसायी नेता कृष्ण प्रसाद शर्माले वाम सरकारले गर्ने कार्ययोजनाका बारेमा जिज्ञासा राखेका थिए ।

प्रचार कार्यालय उद्घाटन पछि घरदैलो ¥याली मैत्रीपथ पुगेर कोणसभामा परिणत भएको थियो । सभामा प्रदेशसभा सदस्यका उम्मेदवार विश्वास बराल अनुपले अब बन्ने सरकार वाम सरकार निश्चित भएकाले तलदेखि माथि सम्म विकासका लहर ल्याउन सजिलो हुने बताए । उनले चुनावको समयमा गरिने विकास र प्रलोभनमा नपर्न पनि मतदातालाई आग्रह गरे ।

 

Facebook Comments