दोषारोपण गर्नुभन्दा जिम्मेवार बनौँ

                                                                                                 –जीवन न्यौपाने
देशमा बढ्दै गएको राजनैतिक संक्रमण अवस्था, अविश्वास, हत्या हिंसा, भष्टचार, महङ्गी, असुरक्षा लगायत अन्य कठिन परिस्थितिले सोही देशका आमनागरिकलाई पर्ने हदैसम्मको असरलाई आँखा चिम्लेर नदेखेजस्तो गरीएतापनि त्यसको नकरात्मक परीणामहरु हराउनचाहिँ हराएका हुँदैनन् । देशलाई विकासको गतिमा हाक्ने जिम्मेवार व्यक्तिहरुले गरेका निर्णयहरु जटिलताको चरमसिमामा पुगेर भ्रामक भएको बेलामा तीनका निर्णयहरुमाथि विचार विमर्ष गरेर मान्छेपिच्छे आएका फरक–फरक अभिव्यक्तिहरुले आफ्नो बुझ्ने क्षमतालाई नै धमिरा लगाइदिएको अवस्थामा हामीजस्ता सामान्य नागरिकलाई आफू र आफ्नाहरुका साथै पुरै देशकै भविष्यका बारेमा पीर लाग्नु स्वभाविक नै हो ।

राजमार्गमा गुडिरहेको सार्वजनिक सवारीमा कुनै समस्या आयो भने चालक तथा सहचालकको सबैभन्दा ठूलो दायित्व हुन्छ, आफू नियन्त्रणमा रहि धैर्यपूर्वक परिस्थितिको गम्भिरतालाई आफ्नो अनुहार वा व्यवहारमा आउन नदिनु र समस्याको समाधान खोज्नु । चालक आफूनै उत्तेजित र हतास भएर छटपटिन थाल्यो भने सवार यात्रुका लागि त्यसभन्दा भयावह अवस्था केहि पनि हुँदैन । तर हामीहरु अहिले यस्तो गन्तव्य तर्फको यात्रामा छौँ, जहाँ हाम्रा ड्राइभरहरु गर्न नहुने जति सबै काम गरीरहेका छन । अनि हामी असहाय, निरुपाय र निराश बन्न बाध्य पारिएका छौँ । हामीलाई हाम्रो चिन्ता छ, हाम्रा सन्ततिको चिन्ता छ । हामीलाई हाम्रो समाजको अनि देशको चिन्ता छ, जुन देशलाई आमा भनेर सम्मान स्वरुप ढोग्नुपर्छ भनेर हामीलाई सिकाइएको छ, घोकाइएको छ । तर हाम्रो पुरै भविष्य अहिले राजमार्गमा गुडिरहेको एउटा यस्तो सवारी साधनमा निर्भर छ, जसका चालक हामीले नै छानेका थियौँ । यिनिहरु ड्राइभिङ सिके, जे जसरी हुन्छ लाईसेन्स प्राप्त गरे । तर हामीलाई जहाँ पुर्याउनुपर्ने थियो, गन्तव्य जतिजति नजिकिंदै थियो, त्यतित्यति उनीहरु नै गैरजिम्मेवारी बनिरहेका छन् । दौडधुप र हतार गरिरहेका छन्, अनि हामी निरीह बनेर आफ्नो भाग्यमाथि दोष थोपारी परिस्थितिको सामना गर्नु बाहेक केहि गर्न सकिरहेका छैनाँै । कठै हाम्रो नियति !

चुनावको मिती नजिकिंदै गर्दा विभिन्न दलका नेताहरुले आफ्नो पोल्टामा धेरै मत पार्नका लागि झुठा आश्वासनहरु जनता सामु जवरजस्ती कोचाइदिएका छन् अनि विचरा अबुझ जनताहरु झुठा आश्वासनहरुको स्वाद मिठो मानि–मानि पचाइदिरहेका छन् । दलका नेता जनतालाई उत्तेजित र भ्रममा पारि सपना मात्रै देखाउने बाहेक कुनै सकरात्मक कुरा गर्दैनन् ।

कहिले हत्या, कहिले वलात्कार, कहिले वाढी पहिरो, कहिले दूर्घटना, कहिले भूकम्प, कहिले नाकावन्दि, कहिले राजनैतिक लुछाचिडि त कहिले के कहिले के यावद परिस्थितिहरुमा हामी गुज्रिरहेका हुन्छौँ । देशले नयाँ संविधान पायो, त्यसको कार्यान्वयन भैई हरेक नागरिकले आफू सुरक्षित र अधिकार प्राप्त नागरिक भएको महशुषको अधिकार हुनुपर्ने थियो । खुसी र उल्लास बाड्न पाउनुपर्ने थियो । तर खुसी साटासाटको त कुरा परै जायोस् त्यो बल्लबल्ल पाएको संविधान पनि कार्यान्वयन हुने हो या नहुने हो भन्ने शङ्का उपशङ्का गरी चिन्तित पो हुन पुगेका छौँ । हुनतः संविधान कार्यान्वयन तर्फकै एउटा महत्वपूर्ण हिस्सा देश अहिले संघियताको दिशातर्फ अगाडि बढिरहेको छ । भर्खरै स्थानिय निकायको चुनाव पनि देशभर शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको छ । अबको केहि दिनमै फेरि प्रदेशसभा र प्रतिनिधिसभाका लागी चुनाव हुँदै छ । यसै बिचमा विभिन्न दलका विभिन्न नेताहरुले आफ्नो स्वार्थ परिपुर्तिका लागी देश र सोहि देशका नागरिकलाई नै अहित हुने खालका अफवाह र पुरा गर्नै नसकिने आश्वासनहरु पनि फैलाउदै छन् । राज्यकोषको सम्पत्तिलाई विभिन्न बाहनामा दुरुपयोग पनि गरिरहेका छन् । तर यसले देशलाई परेको घाटा र जनतालाई परेको असरको अपराधबोध गर्न भने सकिरहेका छैनन्, चाहिरहेका छैनन् । फरक–फरक नेता चाहे ती जिम्मेवार हुन् वा नहुन्, चाहे तीनको भनाइको कुनै अर्थ होस् या नहोस्, सबैले थरीथरीका अभिव्यक्तिहरु दिएर राजनीतिको “र” सम्म नबुझ्ने सोझा सर्वसाधारणलाई रनभुल्लामा पारिदिएका छन्, झुक्याइदिएका छन् ।
चुनावको मिती नजिकिंदै गर्दा विभिन्न दलका नेताहरुले आफ्नो पोल्टामा धेरै मत पार्नका लागि झुठा आश्वासनहरु जनता सामु जवरजस्ती कोचाइदिएका छन् अनि विचरा अबुझ जनताहरु झुठा आश्वासनहरुको स्वाद मिठो मानि–मानि पचाइदिरहेका छन् । दलका नेता जनतालाई उत्तेजित र भ्रममा पारि सपना मात्रै देखाउने बाहेक कुनै सकरात्मक कुरा गर्दैनन् । एउटा दलको नेताले अर्को दलको नेतालाई धारे हात लगाउदै उसका सकरात्मक पक्षहरुलाई पनि ओझेलमा पार्ने दुश्साहस गर्छन् । मै मात्र राम्रो मेरो पार्टी मात्रै राम्रो भन्ने भाषण सिवाय केहि गरेका छैनन् । चुनाव कसरी शान्तिपुर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने र कसरी जनताको मन जित्ने भन्दा पनि आफूले चुनाव जित्नका लागी कस्को थाप्लोमा दोष थोपार्ने भन्ने ध्यानमा मात्रै अधिकांश नेताहरुले आफ्नो शक्ति, विवेक, समय र साम दाम खर्चिरहेका छन् । यो सब रमिता देख्दा एउटा आमनागरिकको मनोदशा के हुन्छ, भन्ने कुरा आमनागरिकका प्रतिनिधिहरुले नै सोचेका छैनन् अथवा भनौँ त्यो सोच्नु उनीहरुको प्राथमिकताको सुचिमा निकै पछिसम्म पनि पर्दैन । यो जिम्मेवारिका पछाडि झण्डै तीन करोड नेपालीका सपनाहरु गाँसिएका छन् भन्ने कुरा उनीहरुले चटक्कै बिर्सेको देख्दा आफ्नो निरीहपनामा भक्कानो छुट्नुको विकल्प रहंंदैन ।

हुनत हाम्रा लागि अबको चुनाब देशले निकास पाउनका लागी एउटा अवसर पनि हो । धेरैपटकको चुनावमा धेरै व्यक्तिहरुलाई जिताएर माथिल्लो तहमा पुर्याएको अनुभव धेरैसँग छ । जीतेका व्यक्तिहरु जिम्मेवार र अधिकार सम्पन्न पदमा पुग्दा समेत आम जनताका सामान्य अधिकारलाई समेत उनीहरुले अलपत्र पारिदिएका छन् । के अब हामीसँग पनि अरु विकल्प नै बाकिँ नभएका हुन्त ? फेरी पनि त्यहि दल त्यहि नेतालाई जिताएर सम्मानिय पदमा पुर्याउने अनि देशमा उत्पन्न विकराल समस्याहरुलाई संधैभरि सामना गर्न तयार हुने ? अब यो सोचनिय विषय भैसकेको छ, जिम्मेवार नागरिक र नेताहरुलाई पनि । निश्चय नै एक औँला कमजोर हुन्छ, तर तीनै औँलाहरुलाई जोडेपछि मुठी बन्छ र त्यो बलियो हुन्छ भन्ने सामान्य कुरा समेत भुलेर हाम्रा नेताहरु सधैँ–सधैँ एकले अर्कालाई दोषारोपण गरेर जुट्न भन्डा फुट्नमा नै समय बर्बाद गरीरहेका छन् र हामी जनता त्यहि वास्तविक यथार्थ नबुझेरै हतास भैरहेका छौँ । अझैपनि समय बाँकी नभएको होइन । आफ्ना नेतालाई जिम्मेवार र अधिकार सम्पन्न पदमा पुर्याउनका लागी हामी नागरिकले आफ्नो के–के गुमाएका छौँ भनेर एकपटक राम्ररी सोच्नुस अनि ति चिज गुमाएवापत आजसम्म के–के कुरा प्राप्त गर्यां भन्ने कुरा पनि तुलना गरौँ । नेताज्यू जनताले धेरै चिज गुमाएका छन् । फलस्वरुप केहि प्राप्ती गरेका छैनन् । अब त केहि जिम्मेवार बन्नुहोस्, दोषारोपण गरी फुटेर हैन जुटेर अगाडी बढे देशको विकास गर्न सकिन्छ भन्ने महसुष गर्दै जनताले चाहेको निकास दिनुहोस् । पक्कै तपाई आम जनाताका प्रिय नेता बन्नुहुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *