मत सदर गराउने अभियानमा सहयोग गर्न आग्रह

बुटवल, २८ कार्तिक । आगामि मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मत सदर गराउने अभियानमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देही र जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको समन्वयमा मंगलबार बुटवलमा भएको निर्वाचन र सञ्चार बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले ३ वटा मतपेटिका चार ठाउँमा स्वस्तिक चिन्ह हानेर मत खसाल्न आग्रह गरे ।
उनले प्रतिनिधिको हरियो, प्रदेशको कालो स्टिकर टाँसेको मतपत्र हुने र उस्तै स्टिकर टाँसेको मतपेटिकामा भोट खसाल्नुपर्ने बताए । समानुपातिकका लागि रातो मतपत्र हुने जनाउँदै उनले प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि दुई वटा भोट एउटै मतपेटिकामा खसाल्नुपर्ने भएकाले मतदातालाई होसियारीसाथ मतदान गर्न अपिल गरे ।
उनले समय छोटो भएकाले यस्तो बेलामा सञ्चारमाध्यमले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे । कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष डिआर घिमिरेले निर्वाचनका बेलामा सञ्चारमाध्यमको भूमिका मतदातालाई सचेत गराउँदै स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष योनेन्द्र जिसीको अध्यक्षता, उपाध्यक्ष दिनेश पाण्डेको स्वागत तथा सहसचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments