वाम गठवन्धनका उम्मेदवारमाथि वम प्रहार

बुटवल, २८ कार्तिक ।

निर्वाचन नजिकिंदै जांदा विशेषगरी वाम गठवन्धनमा आवद्ध माओवादी केन्द्र र एमालेका उम्मेदवारमाथि श्रृंखलावद्ध आक्रमणका प्रयास जारी रहेका छन् । यसैक्रममा भोजपुर प्रदेशसभाका उम्मेदवार एवम् नेकपा एमालेका नेता शेरधन राईलाई लक्षित गरी मंगलबार बम आक्रमण भएको छ । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् । भोजपुरको गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेदवार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो । सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ । उम्मेदवारसहित अन्य सकुशल रहेको सँगै रहेका युवा नेता मकर खड्काले बताए । पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको पुष्टि गरेको छ । थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ । यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो ।
घटनापछि कुरा गर्दै राईले आफूमाथि सोझै ताकेर बम प्रहार भएको बताए । ‘सिधै सिध्याउने हिसाबले बम प्रहार भयो’, राईले भने, ‘धन्न सामान्य चोट मात्र लाग्यो । असई सा’ब घाइते हुनु भा’छ ।’ट्याम्केमैयु गाउँपालिकामा मंगबार दिउँसो १२ बजे आमसभा राखिएको थियो । त्यसलाई सम्बोधन गर्न जाँदै गर्दा उनीमाथि बम प्रहार भएको हो । बम प्रहारबाट आफू सामान्य घाइते भएको उनले बताए । पूर्व सञ्चारमन्त्री समेत रहेका राई प्रदेश नं. १ मा मुख्य मन्त्रीको दाबेदार हुन् । यसैबीच प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा मंगलबार बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का लागि नेकपा(माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको हो । एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जाने क्रममा बम प्रहार भएको हो । सो बम प्रहारबाट मानवीय क्षति भएको छैन ।

Facebook Comments