मतदाताको माग नाला र सडक

गौतमबुद्ध सन्देश
भैरहवा, २९ कार्तिक  । रुपन्देहीको क्षेत्र नं. ३ अन्तर्गतको प्रदेशसभा १ अन्तर्गत पर्ने टिकुलीगढका मतदाताहरुले उम्मेदवारहरुसंग पक्की सडक र नाला व्यवस्थापनको माग गरेका छन् । मंगलबार तिलोत्तमा नगरपालिका वडा नं. १४ मा पर्ने उक्त क्षेत्रमा घरदैलोमा पुगेका बाम गठबन्धनको तर्फबाट प्रदेशसभा १ का उम्मेदवार विश्वास बराल (अनुप)संग मतदाताहरुले उक्त समस्या थुपारेका हुन् ।

स्थानीय सनम कमालुद्धिनले उम्मेदवार बरालसंग आफुहरु लामो समय देखि कच्ची सडक र अव्यवस्थित नालाका कारण समस्यामा पर्ने गरेको बताए । उनले अबको चुनावमा जस्ले स्थानीय समस्या समाधान गर्छ उसैलाइ भोट दिन्छु भन्दै गुनासो पोखेका थिए । स्थानीय दिनेश अर्यालले पनि उक्त क्षेत्रमा बिजुली, सडक र अव्यवस्थित नालाका कारण स्थानीयहरु दैनिक रुपमा समस्यामा पर्ने गरेको गुनासो पोखे ।

निर्वाचनमा आफ्नो पक्षमा मत माग्दै गएका उम्मेदवार सामु मतदाताहरुले यस्ता समस्याहरु टक्राएपनि उम्मेदवार बरालले अबको निर्वाचन पछि बन्ने बाम गठबन्धनको सरकारले टिकुलीगढको मात्र नभइ देशकै मुख्य समस्याहरुको रुपमा रहेका विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य, बेरोजगार लगायतका समस्याको समाधान गर्ने विश्वास दिलाए । उनले भने “तपाईहरु अहिलेको चुनावमा म लगायत बाम गठबन्धनका सबै उम्मेदवारहरुलाई भोट दिएर विजयी बनाउनुस त्यसपछि तपाइहरुले हामीलाई गुनासो सुनाउनुपर्ने छैन पाँच वर्ष भित्र तपाईहरुले गुनासो गरेका सबै समस्या समाधान हुनेछन्, तपाईहरु गुनासो होइन बधाइ दिन पाउनुहुने छ ।” स्थायी सरकारको अभावले देशमा विकासका कामहरु अगाडी बढ्न नसकेको हुँदा अब देशमा बाम एकता भएका कारण बाम गठबन्धनहरुको कम्तीमा पाँच वर्षे स्थायी सरकार गठन भएपछि स्थानीय लगायत देशकै मुख्य समस्याहरु समाधान गर्ने उम्मेदवार बरालले बताए ।

निर्वाचनपछि बन्ने सरकारले स्थानीयले सुनाएका मागहरु सबै सम्बोधन गर्ने भन्दै उम्मेदवारहरुको घरदैलोमा मत माग्दै पुगेका बराललाई स्थानीयहरुले देश विकासको अबको आशा बामपन्थीको सरकार नै भएकाले आफुहरुले बाम गठबन्धनलाई मतदान गर्ने आश्वासन दिएका थिए ।
घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्रका समानुपातिक तर्फ प्रतिनिधिसभाका उम्मेदवार हकिकुल्ला खाँ, सिद्धार्थनगर कोषाध्यक्ष कमला थापा, मुस्लिम मुक्ति मोर्चा रुपन्देहीका जिल्ला अध्यक्ष फैज अहमद खान लगायत बाम गठबन्धन अन्तर्गत नेकपा एमाले तथा माओवादी केन्द्रका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

Facebook Comments