प्रहरीको गाडीबाट हाम फाल्दा थुनुवाको मृत्यु

गौतमबुद्ध सन्देश
भैरहवा, २८ कार्तिक । प्रहरीको गाडीबाट हाम फाल्दा एक थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जिल्ला सिद्धार्थनगर थाना महाना, ग्राम नौतनवाका २५ वर्षिय विजय कुमार खटिक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिल्ली नारायण पाण्डेले बताए । इलाका प्रहरी कार्यालय लुम्बिनीले चोरी मुद्दा अनुसन्धान सिलसिलामा शनिबार खटिकलाई पक्राउ गरेको थियो ।

आइतबार रुपन्देही जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्ने म्याद लिई प्रहरीको ना १ ग ६१३ नं.को वानटनमा साँझ ५ बजे तिर फर्किने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.४ लुम्बिनीरोड स्थित एस.ओस. वालग्राम नजिक पुग्दा गुडिरहेको गाडीको दायां साइडबाट खटिकले हाम फाल्दा सोही दिशाको पछाडिको चक्कामा ठक्कर लागि उनी घाइते भएका थिए ।

घाइते खटिकलाई तत्काल भिम अस्पताल भैरहवामा उपचारको लागि लगिएको र अस्पतालमा उपचार हुन नसकी मेडिकल कलेज भैरहवामा लगिएकोमा उपचारको क्रममा आइतबार राती सवा ८ बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतकका आफन्तहरुलाई जानकारी गराइएको प्रहरीको भनाइ छ ।

Facebook Comments