बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएकोे गैडा ।

बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएकोे गैडा । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा गैडा अवलोकनका लागि देश विदेशबाट वर्षेनी सयौ पर्यटक आउने गर्दछन् । पछिल्लो गणना अनुसार यस निकुञ्जमा २९ वटा गैडा रहेका छन् भने नेपालभर जम्मा ६४५ वटा गैडाको संख्या रहेको छ । शुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको थियो । शुरुमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सखुर्ते तर्फ विस्तार गरिएको छ । निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यस निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।
तस्विरः नविन के.सी./ गौतमबुद्ध सन्देश

Facebook Comments