संस्कृत व्याकरणको रचना भएको पाणिनी तपोभुमि ओझेलमा

माधब पौडेल
अर्घाखाँची, असार ।
संस्कृत व्याकरणको रचना भएको पाणिनी तपोभुमि ओझेलमा परेको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका १ पणेनामा अवस्थित यस तपोभुमिमा
राज्यले करौडौ रुपैँया खर्च गरे पनि पर्यटक आगमनमा वृद्धि हुन सकेको छैन । स्थानीय, प्रदेश र संघीय सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गरे पनि पाणिनी तपोभुमि ओझेलमा परेको छ । तपोभुमिमा गएको ४ वर्षयता करिब ५ करोड रुपैँया तीनै तहको सरकारबाट विनियोजन भएको छ ।
पाणिनी तपोभुमि देशका १०० औं धार्मिक तथा पर्यटकीय स्थलमध्येमा छनोट भएको छ । हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए ।
पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव खुशी भई अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता छ ।
पाणिनी तपोभुमिमा करौडौ रुपैयाँ खर्चिएर तिनगिरेबारे तपोभुमिसम्म जाने सडक पनि पीच गरिएको छ । दह वरीपरी संरचना थप पनि गरिएको छ । तर तपोभुमी दहको स्तरोन्नति भए तापनि पर्यटक आगमन वृद्धि भएको छैन । तपोभुमि दह लेकमा केबुलकारको व्यवस्था गर्नुपर्ने देखिन्छ । पाणिनी तपोभुमि दह नजिक बस्ने व्यवस्था, खानेपानीको व्यवस्था हुने गरेमा पर्यटकहरु आगमनमा वृद्धि हुने स्थानिय विष्णुभक्त पोखरेल बताउँछन् ।
पाणिनी तपोभूमि संरक्षणका लागि पाणिनी गाउँपालिकाले पनि ध्यान दिएको छ । पर्यटकहरुलाई बस्ने व्यवस्था, खानेपानीको समस्या समाधान गरेपछि पर्यटक आगमनमा वृद्धि हुने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताउँछन् ।
तपोभूमिमाथि डाँडाबाट उत्तर फर्कंदा हिमालयका हिम शृंखला, दक्षिणतर्फ तराईका फाँट अनि कालिज, चित्त लगायतका पंक्षीहरू देख्न सकिन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पाको तीनगिरेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । पाणिनी ऋषिले तपस्या गरेको र व्याकरण उत्पत्ति भएकोे भन्ने विभिन्न प्रमाण भएको संस्कृतविज्ञ बताउँछन् ।
हाल सो ठाउँमा एउटा पोखरी निर्माण गरिएको छ । त्यहाँका मन्दिर, पौवा जीर्ण हुने अवस्थामा छन् । तपोभुमि दहमा रहेका मठमन्दिरको संरक्षण गर्ने, खानेपानीको व्यवस्थासहित बस्ने व्यवस्था मिलाउँन सके मात्रै तपोभुमिमा पर्यटक आगमनमा वृद्धि हुन्छ ।

Facebook Comments