८० वर्षको उमेरमा पनि पानीकै पिरलो

पाल्पा, असार ।
सेतै कपाल फुलेकी। गाला चाउरी परेकी । टन्टलापुर घाम । त्रिपालमुनि पसिना बगाउँदै लौरोको सहारामा उभिएकी। अनुहार हेर्दा मलिन देखिन्थ्यो । उनी हुन् पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित खुर्सानेकी ८८ वर्षीया नरिकला गाहा ।
सत्यवतीको एउटा गाउँमा कार्यक्रम भइरहेको थियो । जहाँ स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधिले विजयोत्सव मनाइरहेका थिए । कार्यक्रममा उनलाई पनि निम्तो थियो । छिमेकीसँगै उनी त्यो कार्यक्रममा पुगेकी थिइन् । चर्को घाममा तपतप पसिना चुहाउँदै उनले त्यहाँ भाषण गरिरहेका नेताहरूको कुरा खुब ध्यान दिएर सुनिरहेकी थिइन् । तर नरिकलालाई भने गाउँमा खानेपानी ल्याउने कुरा सुन्ने मन थियो ।
अहिले पनि घण्टौँ लगाएर डोकोमा पानी बोकेर खानुपर्ने बाध्यता छ, नरिकलालाई । कुवामा धाएर पानी बोकेर खान परिरहेको बाध्यता थाहाखबरलाई सुनाइन् । गहभरी आँशु ल्याउँदै उनले थपिन् ‘घरकै धारामा पानी थापेर खाने चाहना सपना जस्तै हुने भो । डोकोमा पानीको गाग्री बोक्दाबोक्दै मर्ने भएँ ।’

चुनावअघि भोट माग्न आउँदा पानी ल्याइदिन्छु भनेका थिए नेताहरूले । अहिले जितेका छन् । तिनै नेताहरूसँग खानेपानीको धारा ल्याइदिनु प¥यो भन्दै माग गर्न कार्यक्रममा आएको नरिकलाले सुनाइन् ।
सोही ठाउँकी अर्की वृद्धा कुन्ती घिमिरेको पनि दुखेसो उस्तै छ । एक घण्टा धाएर ५ लिटरको ग्यालेनमा पानी बोकेर खाने गरेकी छिन्, उनले । घरमा आफू र वृद्ध श्रीमान् मात्र छन् । आफू अन्दाजी ७९ वर्षकी भइन् । उनका श्रीमान् ८२ वर्ष पुगे । घरभन्दा केही तल कहिलेकाहीँ धारामा पानी आउँछ । तर कुन्तीको आफ्नै धारा भने छैन । कहिलेकाहीँ छोराको घरमा भएको धारामा पानी भर्ने गर्थिन् । पछिल्लो समयमा भने फरक पार्टीलाई भोट हालेको आरोप लगाउँदै छोराले पनि पानी भर्न नदिएको उनले गुनासो गरिन् ।
घरभन्दा टाढा खोल्सामा रहेको भूतपानी कुवामा पुगेर ग्यालेनमा पानी बोकेर खाने गरेको बाध्यता सुनाइन् । भन्छिन्, ‘बुढेसकाल लाग्यो। शरीरमा तागत छैन । लौरोको सहारामा ग्यालेनमा पानी बोकेर खानु परेको छ ।’
अबको सरकारले खानेपानी ल्यायदिए ठूलो धर्म हुने थियो । उमेर र अवस्थाले आज हो कि, भोलि मर्ने जस्तै भइयो । यस्तो अवस्थामा घरकै धारामा पानी थापेर खान पाए धेरै राहत मिल्ने उनी बताउँछिन् ।

सत्यवतीस्थित तल्लाटोल भट्टबारीका ७२ वर्षीय खुमबहादुर पेङ्नी मगर पनि त्यही कार्यक्रममा पुगेका थिए । हातमा लौरो बोकेका उनी कुर्सीमा बसेर टोलाई रहेका थिए। यता भव्य कार्यक्रम चलिरहेको थियो । तर उनको मन भने घरतिरै थियो । बिहान पानी बोकेर आएका उनी साँझ घरमा फर्केपछि पनि पानी बोक्नुपर्ने छ । चैत बैशाखमा पानी कुरेर बोक्नुपर्ने बाध्यता छ । अहिले पनि त्यही कुवामै डोकोमा गाग्री बोकेर पानी लिन जानुपर्छ ।
‘न पानी भर्ने कुवा राम्रो छ । न त्यहाँसम्म पुग्ने बाटो राम्रो छ ।’ उनले भने ‘पानी लिन जाँदा सर्पले डस्ने हो कि? भन्ने पीर लाग्छ ।’ हाम्रो जिन्दगी त पानी बोकेरै बित्ने भयो । अब छोरा नातिलाई पानी बोक्नुपर्ने बाध्यताको अन्त्य भए हुन्थ्यो भन्ने खुमबहादुरको मनमा लागिरहेको छ ।
अबको सरकारले खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्न उनले सुझाए । पानीको समस्या नभए बालबालिकाले राम्रोसँग पढ्न पाउँथे । बावुआमालाई पानी बोक्ने समयमा अन्य काम गरेर परिवार पाल्न सहज हुने खुमबहादुरले बताए । (थाहाखबर)

Facebook Comments