एमालेको सशक्त संगठन नै हाम्रो विजयको आधार हो

नेकपा (एमाले) सिद्धार्थनगर नगरपालिकामा सबैभन्दा ठूलो दल हो । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित बहुमत अध्यक्ष र सदस्य जितेको थियो । २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको सिद्धार्थनगरमा अवस्था के कस्तो छ, पार्टी कसरी अगाडी बढिरहेको छ भन्ने सन्दर्भमा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थीसँग समसामयिक विषयमा गरिएको कुराकानी ः
सिद्धार्थनगरमा चुनावी कार्यक्रम कसरी चलिरहेको छ ?
नेकपा (एमाले)ले सिद्धार्थनगरमा बैठक बसी योजना बनाई व्यवस्थित ढंगले चुनावमा परिचालन गरेको छ । हाम्रा सिद्धार्थनगर १३ वटै वडामा रहेका सम्पूर्ण पार्टीका सदस्यहरु, जनवर्गीय संगठनहरु उत्साहका साथ निर्वाचनको प्रचारप्रसारमा लाग्नुभएको छ । यो निर्वाचन जित्ने गरी हामी योजनाबद्ध ढंगले अगाडी बढिरहेका छौं ।
सिद्धार्थनगरका मतदाताले एमालेका उम्मेदवारलाई किन मत दिने ?
स्वाभिमान, राष्ट्रियता लगायतका जनजीविकाहरु हाम्रा मुख्य मुद्दाहरु हुन् । एमालेले राष्ट्रियता, मानवअधिकार र जनजीविकाका सवालमा मुद्दाहरु उठाउँदै आएको छ र ती मुद्दाहरु सम्बोधन गरेको छ र जनताले हामीलाई माया गर्नुपर्ने कारण के हो भने हामीले दिएका नीतिहरु, हाम्रा कार्यक्रमहरु मन पराउनुभएको छ र ती कार्यक्रमहरुलाई लागू गर्ने सवालमा एमालेको स्थानीय, प्रदेश र संघीय सरकार हुनुपर्छ भन्ने कुरा हाम्रा नगरवासी तथा सम्पूर्ण आम जनसमुदायहरुले बुझ्नुभएको छ । त्यसकारण हाम्रा पार्टीका उम्मेदवारहरुलाई मतदान गर्ने आधार भनेको हाम्रा उम्मेदवारहरु निश्कलकिंत, निश्पक्ष र स्वाभिमानी हुनुहुन्छ । नगरका जनताहरुको भावनालाई बुझ्नुभएको छ, भिज्नुभएको छ उहाँहरुले नगरका जनताहरुको बारेमा मसिनो गरी अध्ययन गर्नुभएको छ । यहाँका जनतालाई कुन योजना तथा कार्यक्रमले सम्बोधन गर्नुपर्छ भन्ने कुरा हाम्रा प्रतिवद्धताहरुमा पनि हामीले सम्बोधन गरेका छौं । यी कारणले जनताले हामीलाई २०५१ सालदेखि २०७४ सालसम्म मतदान गर्नुभएको छ र अहिले पनि मतदान गर्नुहुनेछ र त्यसको आधारमा हामीहरुले जनताहरुमाझ शिर ठाडो पार्ने गरी हामीहरुले काम गर्नेछौं, विगतमा पनि गरेका थियौं र अहिले पनि गर्नेछौं । अबको चरणमा अझ सशक्त ढंगले निरन्तर रुपले हाम्रा काम कार्यहरु अगाडी बढाउनेछौं ।
एमालेले निर्वाचन जित्ने आधार के हुन् ?
हाम्रो सशक्त संगठन नै हाम्रो विजयको आधार हो । जनमत हाम्रो पक्षमा छ सशक्त संगठन छ, जनवर्गीय संगठनहरु छन्, हाम्रा १३ वटै वडामा १५ सय भन्दा बढी संगठित पार्टी सदस्यहरु छन् । करिब २ हजार ५ सय जना जनवर्गीय संगठनका सदस्यहरु छन् । साथै हाम्रा ८ देखि १० हजार शुभचिन्तकहरु र कार्यकर्ताहरु परिचालित छन् । यो चुनावमा हाम्रो पार्टी एमाले सिद्धार्थनगरबासीको मन बुझेर चुनावमा होमिएका छौं । हामी यो कुरा विश्वास दिलाउन चाहन्छौं कि अबको चुनाव एमालेमय हुनेछ र अबका दिनमा एमालेलाई हराउने अरु शक्ति हुने छैन भन्ने कुरा हामीले बुझेका छौं । घरदैलोकै क्रममा एमाले नै हाम्रो साथी हो, एमालेका नीतिहरु स्पष्ट छन्, एमालेले नै यो नगर बनाउँछ, हामीले एमालेलाई नै मतदान गर्छौं भन्ने आश्वासन मतदाताबाट पाएका छौं ।
एमाले उम्मेदवार विजयी भए सिद्धार्थनगरको लागि के के काम गर्नेछन्?
विजय भएपछि हाम्रो पार्टीले योजनाबद्ध ढंगले काम गर्नेछ । यहाँको अवस्थाको बारेमा हामीले कुरा बुझेका छौं । साथै भौतिक पूर्वाधार मात्र नभइ हाम्रा योजनाहरु कार्यान्वयनका लागि निजी क्षेत्रसंग सहकार्य गरी अगाडी बढ्नेछौं । अर्को महत्वपूर्ण पक्ष भनेको फोहोरमैला व्यवस्थापन गर्ने कार्यलाई हाम्रो पार्टी विशेष प्राथमिकताका साथ लागेको छ । विगतमा नगरपालिकामा जग्गा किनेका थियो र हामीले फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्ने अभियानमा थियौं । तर केही राजनीतिक दलको चलखेलले गर्दा हामीले उक्त स्थापना केन्द्र स्थापना गर्न सकेनौ । प्रशोधन केन्द्र स्थापित गर्न रोक्ने काम केही राजनीतिक दलको हो भन्ने कुरा आम नगरबासीहरुले बुझेका छन् । यी सबै समस्याहरु हल एमालेबाहेक अरु कुनै पार्टीले गर्न सक्दैन ।
हाम्रो पार्टीले चिडिया खोलादेखि बेलहियासम्म र तिनाँउखोलादेखि रोहिणीसम्मको क्षेत्रमा महानगरपालिका बनाउने प्रस्ताव अंगाडी सारेको थियो । तर समग्र सिद्धार्थनगरको विकासको लागि अवरोध गर्ने काम भयो जसको कारणले हाम्रो सिद्धार्थनगर नगरपालिका महानगरपालिका हुनबाट वञ्चित भएको छ । प्राकृतिक स्रोत र साधनबाट समेत वञ्चित छ । अबको नेतृत्वले सिद्धार्थनगरवासीको मनोकांक्षा बुझेर यहाँ उपलब्ध प्राकृतिक स्रोत र साधनको भरपुर सदुपयोग गर्दै समग्र सिद्धार्थनगरको विकास गर्ने प्रतिवद्धता गरेका छौं ।
यहाँहरुले चुनावी कार्यक्रम कसरी चलाइरहनुभएको छ ?
चुनावी कार्यक्रम हामीले करिब १ महिनादेखि सुरु गरेका छौं । सिद्धार्थनगरका १३ वटै प्रत्येक वडामा बैठक बसि प्रत्येक टोलमा टोल कमिटी गठन तथा जनवर्गीय संगठन गठन गर्ने र सबै कमिटीहरुलाई चुनावी प्रशिक्षण तथा परिचालन कार्यक्रम गरी क्रियाशिल ढंगले चुनावी अभियान लागिरहेका छौं । हामीले यो अभियानलाई शान्तिपूर्ण रुपमा सुसभ्य तरिकाले वैशाख ३० गते मतदान गर्नका लागि सम्पूर्ण जनतालाई उत्साहित बनाएर सूर्य चिन्हमा मतदान गर्न मतदानस्थलसम्म पु¥याउने अभियानका साथ अगाडी बढेका छौं ।

Facebook Comments