भ्रष्टाचारमुक्त नगर मेरो प्राथमिकता

सानैदेखि कम्युनिस्ट पार्टीको राजनीतिमा लागेका थम्मन पुन (कुलेन्द्र) रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । युवाहरुमाझ लोकप्रिय उनी यतिबेला स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट सिद्धार्थनगर नगरपालिकाको मेयर पदका उम्मेदवार छन् । नगरलाई सबैको साझा चौतारी बनाउने आफ्नो योजना रहेको उनी बताउँछन् । यसै सन्दर्भमा रहेर पुनसँग गरिएको कुराकानीको सम्पादित अंश ः

यहाँको राजनीतिक पृष्ठभूमि बारे केही बताइदिनुस् न ?
म सानैदेखि कम्युनिस्ट विचारधारा बोक्दै आएको छु । विगतमा एमालेमा हुँदा म युवा संघको रुपन्देही जिल्ला अध्यक्ष, तत्कालीन लुम्बिनी अंचलमा युवा संघको उपाध्यक्ष भएर काम गरेको छु । मसँग करिब तीन दशक लामो राजनीतिक अनुभव छ । म अहिले नेकपा एकीकृत समाजवादी पार्टीको रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख छु । पार्टीको जिम्मेवार पदमा रहेर काम गरेको छु नै यसबाहेक थुप्रै सामाजिक संघसंस्थाको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । युवाहरुको विचार, धारणालाई आत्मसाथ गर्दै अघि बढीरहेको छ ।

यहाँ सिद्धार्थनगरको मेयर उम्मेदवार हुनुहन्छ, चुनाव प्रचारप्रसार कस्तो चलिरहेको छ ?
हाम्रो पार्टीका साथीहरु र म अहिले नगरबासीको घरघरमा पुगिरहेका छौं । हाम्रो पार्टीको विचार, सिद्धान्त, नीति, नगरमा हामीले अघि सारेका एजेण्डाहरु नगरबासीलाई बुझाइरहेका छौं । अधिकांश नगरबासीको घर पुगिसकेका छौं । केही वडाहरुमा घरदैलो बाँकी छ । ती घरहरुमा पनि पुगेर हाम्रा एजेण्डा बुझाउने छौं । अहिलेसम्म जति घरमा गएका छौं, सबै मतदाताबाट युवाहरुलाई अवसर दिनुपर्छ भन्नु भएको छ । हाम्रो एजेण्डा मुलुक र नगरको हीतमा भएको प्रतिक्रिया पाएका छौं । हामीले नहुने र झुट्टा आश्वासन नबाँडेकै भएर होला, नगरबासीले मन पराउनु भएको छ ।

तपाइँले कस्तो एजेण्डा लिएर मतदाताकहाँ जानु भएको छ ?
हामीले मुख्यतः भ्रष्टाचार मुक्त नगर बनाउनको लागि जोड दिएका छौं । जबसम्म भ्रष्टाचारको अन्त्य हुदैन तवसम्म अन्य विकासका एजेण्डा जति बोकेपनि केही हुनेवाला छैन् । र हामीले यससंगै स्वास्थ्यमा जोड दिएका छौं । मानिस स्वस्थ रह्यो भने बल्ल उसले परिवार, समाज, नगर र सिंगो मुलुकका लागि योगदान दिनसक्छ । स्वास्थ्यमा हामीले सबै अस्पताल तथा स्वास्थ्यचौकीमा चिकित्सकको व्यवस्था गर्ने भनेका छौं । हरियाली सहर, स्वच्छ वातावरण, फोहोरमैला व्यवस्थापनमा जोड दिएका छौं । नागरिकको स्वास्थ्यको ग्यारेन्टीका कुरा गरेका छौं । बीमा गर्ने र सर्वसुलभ उपचार व्यवस्था मिलाउने योजना बनाएका छौं । यी माथिका कुरा कार्यान्वयन हुँदा नगरबासी धेरै मात्रामा स्वस्थ रहनुहुन्छ भन्ने हाम्रो विश्वास छ । यसका साथै हामीले शिक्षा, पर्यटन, पूर्वाधार विकास, पार्किङ व्यवस्थापन लगायतमा जोड दिँदै ३१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छौं । प्रतिबद्धता पत्रमा उल्लेख भएका कुराहरु पूरा गर्न सकिने खालका छन् । झुट्टा र मतदाता भुलाउने किसिमका योजना बनाएका छैनौं । ‘हाम्रो नगर राम्रो नगर’, फोहोर प्रशोधन उद्योग निर्माण, पर्यटन र उद्योगमा आत्मनिर्भर नगर बनाउने योजना बनाएका छौं ।
नगरको मुख्य समस्याका रुपमा रहेको पार्किङलाई पूर्वाधारमा र नयाँ बन्ने पूर्वाधारहरुमा अन्डरग्राउन्ड पार्किङ्गको व्यवस्था मिलाउने, नगरको सर्वाङ्गीण विकासमा निजी क्षेत्र, सामाजिक संघसंस्था, नागरिकसमाज, टोल सुधार समिति, आमा समूहहरु जस्ता संघसंगठनको समन्वय, सहकार्य, सह–अस्तित्व र संस्कृतिको विकासमा जोड दिने, नगरका अधुरा योजनालाई पहिलो प्राथमिकतामा राख्ने र लक्षित कार्यक्रमलाई निरन्तरता दिंदै थप नयाँ कार्यक्रमलाई अगाडि बढाउने हाम्रो उद्देश्य छ । वातावरणीय दृष्टिकोणले सरसफाईयुक्त, प्रदुषणमुक्त बनाउन र हरित नगरपालिका निर्माणमा विशेष पहल गर्ने, स्वास्थ्य वीमालाई कडाईका साथ कार्यान्वयन गर्ने, राजश्व वृद्धिमा भन्दा दायरालाई फराकिलो बनाउने, एकीकृत सम्पत्ती करमा लक्षित वर्गलाई विशेष छुट दिने, नगरपालिका भित्र बन्ने र बनिसकेका पूर्वाधारहरुलाई अपाङ्गमैत्री, महिलामैत्री, बालमैत्री, जेष्ठ नागरिकमैत्री बनाउने योजना बनाएका छौं ।
नगरमा भएगरेका र हुने पूर्वाधारहरुमा क्वान्टिटीमा भन्दा क्वालिटीमा जोड दिने, नगर क्षेत्र भित्र आइपर्ने समस्याहरु तथा जनगुनासाहरुलाई यथासक्य सुन्ने, बुझ्ने र समाधान गर्ने, बालशिक्षा, प्रौढ शिक्षा र आधारभूत तालिमलाई विशेष जोड दिने र नगरलाई पूर्ण साक्षर तथा दक्ष नागरिकको रुपमा अघि बढाउने, कला, साहित्य, संस्कृति, पत्रकारिता, खेलकुद र असल उद्योगी तथा समाजसेवीलाई सम्मान गर्ने हाम्रा एजेन्डा हुन् ।
नगरबासीले यहाँलाई नै किन मत दिने ?
म सानैदेखि राजनीतिक यात्रामा छु । नगरको मात्रै होइन्, सिंगो मुलुकको अवस्थासँग परिचित छु । नगर कस्तो गराउने भन्ने प्रष्ट योजना छ । मैले युवादेखि बृद्धासम्म, गरिबदेखि धनाढ्यसम्मको समस्या, पीरमर्का बुझेको छु । युवालाई अघि बढाए काम गरेर देखाउन सक्छन् भन्ने उदाहरण बन्न चाहान्छु । मेरो राजनीतिक जीवनमा मैले नेतृत्व लिएको संस्था जहिल्यै पनि सफल भएको छ । नगर विकासको स्पष्ट खाका कोरेर हिंडेको छु । यसकारण पनि नगरबासीले मलाई मत दिनुपर्छ भन्ने लाग्छ ।

यहाँका जित्ने आधारहरु के हुन् ?
मेरो जितको आधार भनेकै आम मतदाता नै हुनुहुन्छ । अर्कातर्फ हाम्रो संगठन नगरमा बलियो छ । सबैको भावना बुझ्न सक्ने व्यक्ति म हुँ । युवा हुँ, जोस, जाँगर छ । नगरलाई सबैको साझा फूलबारी बनाउने मेरो लक्ष्य छ । घरदैलोमा मैले नगरबासीबाट अथाहा माया पाएको छु । मेरो सपना छ, नगर सफा होस्, यहाँका युवा स्वरोजगार होउन्, बृद्धबृद्धाको सम्मान होस् । उद्योग व्यवसाय गर्ने हरेकले शान्ति सुरक्षाको अनुभूति गर्न पाओस् । खेलाडी उत्पादन होउन्, हरेक मानिस स्वस्थ होस् । अर्कातर्फ शान्त वातावरण, स्वच्छ हावा, हरियाली सहर होस् । नगरपालिका र नगर प्रमुखलाई सबैले साझा फूलबारी सम्झेर अपनत्व ल्याउन भन्ने मेरो चाहाना हो । यी मेरा योजना र सबैको माया, सद्भाव नै जितका आधारहरु हुन् ।

Facebook Comments