यसकारण एमालेले जित्नुपर्छ भैरहवाको चुनाव

रुद्र ज्ञवाली

यतिबेला पूरै देश निर्वाचनमय भएको छ र हाम्रो भैरहवा नगरी पनि यसबाट अछुतो छैन । दैनिक कुनै न कुनै दलका उम्मेदवार वा स्वतन्त्र उम्मेदवारहरु घरदैलो कार्यक्रम गरिरहेका हुन्छन् । गीत घन्काउँदै र पर्चा पम्पलेट तथा आआफ्ना सङ्कल्प या प्रतिवद्धतापत्र सहित विभिन्न खाले उम्मेदवारहरु मतदाता रिझाउने, फकाउने या लोभ्याउने प्रयास गरिरहेका छन ।

यद्यपि राजनीति मेरो रुचिको विषय होइन र पनि एक मतदाताका हैसियतले पनि राजनीतिबाट निस्पृह रहन भने नरहिँदो रहेछ । त्यसैमा पनि स्थानीय निर्वाचन भनेको आफ्नो टोल वस्ती र नगरको विकास र यसको समृद्धिसँग प्रत्यक्ष जोडिने विषय भएकोले केही न केही जिज्ञाशा भने जाग्ने नै रहेछ । जब म विभिन्न उम्मेदवारहरुका सङ्कल्प वा प्रतिवद्धतापत्र पढ्ने गर्छु, मेरो मनमा एउटा जिज्ञाशा उत्पन्न हुने गर्छ । त्यो के भने यसपटकको सिद्धार्थनगर नगरपालिकाको चुनाव कुन कुन कारणका आधारमा कसले जित्नु पर्छ ?

सर्सती हेर्दा सिद्धार्थनगर अर्थात भैरहवा भौगोलिकरुपमा जिल्लाकै सानो नगरपालिका भए पनि कार्यक्षेत्र र ऐतिहासिक महत्वको हिसावले यो नगर राजधानी काठमाण्डौपछिको महत्वपूर्ण पालिकाको हैसियतमा स्थापित हुने क्रममा छ । त्यसैले यस नगरपालिकाका पदाधिकारीहरुको लागि यतिबेला थुप्रै अवसर र चुनौतिहरू सङसङै आइरहेका छन् ।

प्रथमतः अबका केही दिनमा नै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ । यो विमानस्थल सञ्चालनमा आएपछि यस नगरले आन्तरिक तथा वाह्य पर्यटक र यात्रुहरुको चाप थेग्नु पर्नेछ । आगन्तुकहरुको गास, बास, सुरक्षा र मनोरञ्जनका क्षेत्रमा नपत्याउँदो जिम्मेवारी यस नगरले वहन गर्नु पर्ने छ । यससँगै जोडिएका, यातायात, ट्रािफक व्यवस्थापन र बजारको व्यवस्थापन समेत यस नगरले गर्नु पर्नेछ । विमानस्थल पूर्णरुपमा सञ्चालनमा आए पश्चात यहाँको जनसँख्या पनि ह्वात्तै बढ्ने छ र यसै अनुुपातमा वस्तु र सेवाको बजारमा पनि वृद्धि हुनेछ ।

त्यतिबेला वर्तमानमा विद्यमान होटल, सडक, बजार लगायतका सार्वजनिक संरचनाले नगरको आवश्यकतालाई थेग्न सक्ने छैन ।

अर्को विषय हो नेपालकै दोस्रो बढी कारोवार हुने भन्सार नाका । आगन्तुक र बजारको वृद्धिसँगै वस्तुहरुको सेवा प्रवाहमा स्वतः वृद्धि हुने हुँदा भन्सारनाकाको कारोवरमा पनि संख्यात्मक तथा गुणात्मक वृद्धि हुनेछ । व्यापार तथा पारवहनको क्षेत्रमा हुने अप्रत्यासित वृद्धिले पारवहनका साधनहरुको वृद्धि भई ट्राफिक व्यवस्थापनको चुनौति यस नगरमा तेर्सिने छ । त्यसको साथै जनघनत्व र वस्तु सेवाको उपभोगमा वृद्धि तथा सवारी साधनहरुका कारण नगरको पोहरमैला व्यवस्थापन ठूलो चुनौतिको रुपमा देखा पर्नेछ । बजार तथा वस्तुको आपूर्ति निजीक्षेत्रले व्यवस्थापन गरे तापनि सडक लगायतका पूर्वाधारहरुको निर्माण, फोहरमैला व्यवस्थापन र नगरको सौन्दर्यीकरणको दायित्व भने अब निर्वाचित हुने जन प्रतिनिधिको काँधमा आउने छ ।

यी चुनौतिको बाबजुद यस नगरले आफूलाई स्थापित र प्रमाणित गर्न पाउने अवसर पनि विद्यमान छ । व्यापारिक तथा पर्यटकीय क्रियाकलापका माध्यमले यहाँको आर्थिक कारोवारमा वृद्धि हुने छ । आर्थिक कारोबारमा वृद्धिसँगै नगरमा रोजगारीका अवसरमा समेत वृद्धि हुनेछ । यस्तै अबका केही वर्षमा यो नगर आर्थिक क्रियाकलापका दृष्टिले समेत मुुलुककै अग्रणी नगरपालिका बन्न सक्ने हुँदा यस नगरले वार्षिक दशौं लाख पर्यटक र आगन्तुकहरुलाई आतिथ्य पदान गर्नु पर्नेछ । ठूला ठूला सभा सम्मेलन र सेमिनारहरुको आयोजना गर्ने अवसर पनि यस नगरले प्राप्त गर्नेछ । यसको लागि थुप्रै भौतिक संरचना र पर्यटकीय हबहरुको विकास स्थानीय सरकारले गर्नु पर्नेछ ।

पर्यटकीय तथा आर्थिक क्रियाकलापका कारण वर्तमानमा उपलब्ध शिक्षा, स्वास्थ्य, विद्युत आपूर्ति तथा खानेपानी जस्ता सेवा त्यतिबेला अप्रयाप्त हुनेछन् । उद्योग, व्यवसाय घरायसी तथा सवारीजन्य प्रदूषणको मात्रा ह्वात्तै बढेर जानेछ । अहिलेकै अवस्थामा पनि यस क्षेत्रको प्रदूषणको अवस्था जोखिमयुक्त रहेको कुरा विभिन्न सर्भेक्षणहरुले देखाइरहेका छन् । यो जोखिमको अवस्थालाई सम्बोधन गर्दै नगरलाई पर्यावरण मैत्री बनाउनु पनि अबको स्थानीय सरकारको चुनौति हुनेछ । त्यस्तै बढदो बजार र मागलाई सम्बोधन गर्न नगरका ऐतिहासिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्दै सहरलाई अन्तरराष्ट्रियस्तरको सेवा सुविधालेयुक्त नगरको रुपमा विकसित गर्नु पर्ने देखिन्छ ।

यस्तो अवसर र चुनौतिहरुको सम्भावनाको बिचमा स्थानीय निर्वाचन हुँदैछ र अब निर्वाचित हुने जनप्रतिनिधिहरुले यी चुनौतिहरुको दक्षता र बुद्धिमत्तापूर्ण सम्बोधन गर्दै उतपन्न हुने अवसरहरुबाट भरपूर नतिजा निकारी यस नगरलाई समृद्ध तथा सुन्दर नगरकोरुपमा विकसित गर्नु पर्नेछ । तर प्राय दल र स्वतन्त्र उम्मेदवारहरुका सङ्कल्प वा प्रतिवद्धतापत्रले यी अवसर र चुनौतिहरुको सम्बोधन गरेको देखिदैन । यी सङ्कल्प र घोषणापत्रहरुले बाटो सडक निर्माण र शिक्ष स्वास्थ्यकाक्षेत्रमा केही बोले पनि नगरको समृद्धि र समग्र विकासको मार्गचित्र प्रस्तुत गर्न सकेको पाइदैन ।

राजनीतिकहरुक दल र उम्मेदवारका प्रतिवद्धतामा जे जस्ता भए पनि हामी मतदातासँग अब धेरै विकल्प छैन । यस्तो अवस्थामा हामीले हाल चुनावी मैदानमा उत्रिएका दल वा स्वतन्त्र उम्मेदवार मध्ये उपयुक्त उम्मेदवार छान्नु पर्नेछ । सिद्धार्थनगरको सन्दर्भमा बिचार गर्दा स्वतन्त्र भनिएका उम्मेदवारहरुले निर्वाचन जित्ने आधार र अवस्था देखिदैन ।

अहिले भैरहवाको परिदृश्यमा नेकपा एमाले, पाँचदलीय गठबन्धनभित्रको गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी बिच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । यी दलमध्ये कुन दलसँग वर्तमान र भविष्यमा सिर्जना हुने अवसर र चुनौतिहरुको सम्बोधन गर्ने क्षमता छ उसैलाई हामीले मतदान गर्नु पर्ने हुन्छ । हामीले दिएको मत अनुसार नै सिद्धार्थनगरको भावी रुपरेखा कोरिने हुन्छ ।

चुनावी मुद्धाका कुरा गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले भैरहवालाई आफ्नो पुरानो विरासत सम्झन्छ । तर विगतमा जस्तो यसको सङ्गठन बलियो अवस्थामा देखिदैन । यो पार्टी विाजित अवस्थामा छ र यसले कुनै नवीन मुद्धा उठाउन सकेको छैन । राजतन्त्र र पञ्चायती व्यवस्थाको विरासत यो पार्टी अहिले फेरि राजतन्त्र र हिन्दूत्वको तुरुप फालेर पुरानो साख फर्काउने अयिानमा छ । हलो जोतेर समृद्धि फलाउने यस दलको योजनामा कुनै तुक छैन ।

नेपाली काङ्ग्रेस आफू र आफ्नो सङ्गठनमा भर विश्वास गर्न नसकेको अवस्थामा छ । आफ्नो विरासत र साङ्गठनिक क्षमतामा विश्वास नभएर उसले च्यातिएर कतै मिल्क्याइएका केही टालाटुली तुनेर गठबन्धनको जडाउरी भिरेको छ । मक्किएर झुत्रो भएका यी टालाटुलीको जडाउरीसँग पनि भविष्यका अवसर र चुनौतिहरुको सम्बोधन गर्न सक्ने कुनै ठोस योजना छैन । जति सकिन्छ सत्तालाई बाँडचुँड गरेर खाने मात्रै यो गठबन्धनको ध्येय रहेको छ । प्राय मधेश र यदाकदा जनजातिका मुद्धा केन्द्रीत राजनीति गर्दै आएको जनता समाजवादी पार्टी पनि टुटफूटका कारण साङ्गठनिक हिसाबले कमजोर अवस्थामा छ ।

यसको विपरित नेकपा एमाले आफ्नै बलबुतामा निश्चित योजना र कार्यक्रम सहित चुनावी मैदानमा उत्रेको छ । अन्य दलहरुको तुलनामा एमालको सङ्गठन अनुशासित, व्यवस्थित र बलियो छ । यसका जन बर्गीय सङ्गठनहरु सक्रिय छन् । यो पार्टीका कार्यकर्ता जुझारु छन् । नेकपा उमालेसँग अन्य पार्टीको तुलनामा नवीन चिन्तन र योजना छ । साथै यस पार्टीमा चुनाव जित्ने र यस नगरको कायापलट गर्ने ब्यग्रता तथा तीब्र अठोट पनि छ ।

नगरका सबै पदमा उम्मेदवारी समेत दिन नसकेका अरु साना दल र स्वतन्त्र उम्मेदवारहरुले चुनाव जित्ने कुनै आधार देखिदैन । यस्तो अवस्थामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन ए पश्चात सिर्जना हुने अवसर र चुनौतिहरुको व्यबहारिक एवम् बुद्धिमत्तापूर्ण सम्बोधन गर्ने क्षमता पनि एमालेमा छ । अतः भैरहवाको समग्र विकास, स्रोतसाधन र अवसरहरुको समानुपातिक वितरण तथा समृद्ध भैरहवाका लागि नेकपा एमालेले यो स्थानीय निर्वाचन जित्न आवश्यक छ र एमाले यस दिशामा अघि बढिरहेको छ । एमालेले अघि सारेका उमेदवार पनि समाजमा प्रतिष्ठित, स्वच्छ छवि र नैतिकवान् छन् । स्वतन्त्र मूल्यांकनमा नगर प्रमुखका उमेदवार डा.रामप्रसाद बस्यालमा कुनै खोट लगाउने ठाउँ देखिदैन । उपप्रमुख उमा अधिकारीसहितको सिङ्गो टीमले नगरको पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, महिला, बालवालिकालगायत सबै क्षेत्रको समुचित विकास गर्न र नगरलाई समृद्धशाली बनाउन सक्छ भन्नेमा दुईमत छैन ।

Facebook Comments