न्यायिक समिति लोकतन्त्र र सभ्यताको वाहक : राष्ट्रपति भण्डारी

चैत १४,कास्की – राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समिति लोकतन्त्र र सभ्यताको वाहक भएको बताउनुभएकाे छ । आज साेमवार पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु गर्दै राष्ट्रपति भण्डारीले समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको बताउनुभयाे । उहाँले पहिले–पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकाेमा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको उल्लेख गर्नुभयाे ।
राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पीडकलाई दण्ड र जरिबाना गर्ने कुरा ठूलो भएको भन्दै यसमा गाम्भीर्यता आवश्यक रहेकाे बताउनुभयाे ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले न्यायिक समितिको क्षेत्राधिकार किटान गरेकाले त्याेअनुसार नै न्याय सम्पादन गर्न आग्रह गर्नुभयाे । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्यायिक समितिको क्षेत्राधिकार विस्तार गरेर घरदैलोबाटै न्याय दिन सकिने बताउनुभयाे । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले न्यायिक समितिको क्षेत्राधिकार बढाउनुपर्ने भनाइ राख्नुभयाे ।
यस्तै जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष नवराज गेलाल, जिल्ला समन्वय समिति महासङ्घका पूर्वअध्यक्ष तथा जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीतादेवी सुन्दास, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलगायतले न्यायिक समितिले सीमित स्राेत र साधनमा पनि प्रभावकारी देखिएकाे बताएका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै पोखरा महानगरपालिका न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङले न्यायिक समिति र अदालत दुवैतर्फ उजुरी गर्न मिल्ने दोहोरो क्षेत्राधिकारको प्रयोगले न्याय सम्पादनमा विरोधाभास र अलमल सिर्जना गरेको बताउनुभयाे । म्याद तामेली प्रक्रियामा जाँदा पालिकाभन्दा बाहिरको कार्यक्षेत्रमा म्याद तामेली प्रक्रिया चुनौतीपूर्ण रहेको, निर्णय वा फैसला कार्यान्वयन गर्न आफ्नो छुट्टै संयन्त्र नहुँदा जटिलता उत्पन्न भएको, मिलापत्र गराउँदा त्यसको कार्यान्वयन नभएमा दण्डित गर्न सक्ने अधिकार नभएको लगाएका समस्या भएकाे उहाँकाे भनाइ छ ।
आज नै पोखरा घोषणा गर्दै सम्मेलन सकिने छ । सम्मेलनमा देशभरका न्यायिक समितिका प्रमुख र सदस्यको सहभागिता रहेको छ । उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले न्यायिक समितिको क्षेत्राधिकार बढाउनुपर्नेमा जोड दिए ।
याे सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरूसँग समन्वय नगरेको र चुनावलाई प्रभावित पार्ने गरी कार्यक्रम गरेको भन्दै उनीहरूले बहिष्कार गरेकाे जनाएका छन् ।

Facebook Comments