अब पर्यटकले पनि नेपालमा ‘क्यूआर काेड’ बाट भुक्तानी गर्न सक्ने

फागुन २७,काठमाण्डाै – भिसा नेटवर्कमा जोडिएका पर्यटकले अब नेपाल आउँदा ‘क्यूआर कोड’ बाट वित्तीय कारोबार गर्न पाउने भएका छन् ।
हिजाे बिहीवार काठमाण्डाैमा एक कार्यक्रम गरी फोनपेले ‘नयाँ क्यूआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो । फोनपे र भिसाको कारोबारलाई सहज बनाउनका लागि नबिल बैंकले सहकार्य गरेको छ । फोन पेले भिसासँगकाे सहकार्यमा भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा ‘क्यूआर’ बाट भुक्तानी गर्न सक्ने गरी क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पुर्‍याएकाे छ ।
फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भिसासँगको सहकार्यसँगै मोबाइल बैंकिङमा भिसा नेटवर्क इनेबल भएका विदेशी पर्यटकहरूले फोनपेको क्यूआर कोडमार्फत भुक्तानी सजिलै गर्न सक्ने बताउनुभयो । उहाँले विदेशबाट नेपाल घुम्न आउने भिसा कार्ड होल्डर पर्यटकहरूले अब फोनपेले बनाएको क्यूआरबाटै भुक्तानी गर्न सक्ने जनाउनुभयाे ।
सापकोटाले भिसा डिजिटल मार्केटमा ख्याति प्राप्त सुरक्षित ब्रान्ड भएकाले सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
क्यूआर कोडमा हुने कन्टेन्टमा भिसा नेटवर्कलाई इनेबल गरेपछि मात्रै चल्ने भएकाले अहिले भएका क्यूआर स्ट्यान्ड फेर्नुपर्ने अवस्था रहेको फोनपेले जनाएको छ ।

Facebook Comments