महोत्सवमा भारत सम्मका दर्शक भित्राउने लक्ष्य छ ।

कृष्ण गुरुङ
प्रचार–प्रसार उपसमिति संयोजक
आगामी कात्र्तिक ३० गते देखि भैरहवामा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको आयोजना हुँदै छ । उद्योग व्यापार संगठन, रुपन्देहीको आयोजनामा सम्पन्न हुन लागेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको तायारीको लागि यतिबेला आयोजक समितिले दिन रात नभनी कामलाई तिब्रता दिएको छ । आयोजकले विभिन्न क्षेत्रका ४१ वटा उपसमिति निर्माण गरेर कामलाइ तिब्रता दिएको जनाएको छ । यसै सन्दर्भमा हामीले मेलाको मुख्य जिम्मेवारी मध्येको एक प्रचारप्रसारको जिम्मेवारी पाएका प्रचारप्रसार उपसमिति संयोजक कृष्ण गुरुङसंग समग्र मेलालाइ सफल पार्नेगरी कसरी प्रचारप्रसारको व्यवस्था मिलाइएको छ भन्नेबारे केही कुराकानी गरेका छौं । प्रस्तुत छ गुरुङसंग गौतमबुद्ध सन्देश दैनिकका प्रबन्ध सम्पादक माधब न्यौपानेले गरेको कुराकानीको मुख्य अंश ः

आगामी कात्तिक ३० देखि आयोजना हुने महोत्सवमा यहाँले प्रचारप्रसारको जिम्मेवारी पाउनुभएको छ, प्रचारप्रसार कत्तिको गर्नुभएको छ ?
हो । उद्योग व्यापार संगठन, रुपन्देहीले यही कात्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म आयोजना गर्न लागेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको मिति अब नजिकिँदै गरेको अवस्था छ । मैले यस अघि संगठनले लगाएका अन्य महोत्सवमा पनि प्रचारप्रसारको जिम्मेवारी सफलता पुर्वक बहन गरिसकेको पनि छु । र यस महोत्सवमापनि आफ्नो जिम्मेवारी अनुरुप भैरहवाका विभिन्न ठाउँमा व्यानरहरु लगाइ बजारलाइ सजाउने काम भइसकेको अवस्था छ । र कात्तिक १६ गतेदेखि २ वटा गाडीहरु बजार भन्दा बाहिरका क्षेत्रहरुमा प्रचार प्रसारको लागि खटाइ सकेको अवस्था हो भने बजार एरियाको लागि २ वटा इ–रिक्साको प्रयोग गरी प्रचारप्रसारलाई तिब्रता दिएको अवस्था हो ।
सिद्धार्थनगर आसपासका क्षेत्रको प्रचारप्रसार भएपनि जिल्लाका ग्रामिण क्षेत्र, आसपासका अन्य जिल्लाहरु साथै सिमानाका भएकाले भारतबाटपनि यहाँ दर्शकहरु आउन सक्छन, ति क्षेत्रका जनताले महोत्सवको बारेमा जानकारी कसरी पाउने ?
सही प्रश्न गर्नुभयो । हामीले यस पटकको महोत्सवमा सहरी क्षेत्रसंगै गाउँ–गाउँका जनताहरुलाइ र जिल्ला बाहिरका दर्शकहरुपनि सहभागि गराउँछौं । जसको लागि मैले अघि भनेको छु प्रचारप्रसारको लागि २ वटा गाडीहरु भैरहवा बाहिर खटाएका छौं भनेर । तसर्थ ती दुई वटा गाडीले नितान्त रुपमा भैरहवा बजार क्षेत्र छोडेर मर्चवार, धकधई, सुर्यपुरा, फर्साटिकर, सालझण्डी तथा रुपन्देही बाहिर तौलिहवा, नवलपरासी लगायतका विभिन्न क्षेत्रका जनताहरुलाइ यस महोत्सवको बारेमा जानकारी हुनेगरी प्रचारप्रसार गर्नेछन् । रुपन्देही मात्र नभएर हामीले रुपन्देही आसपासका जिल्लाहरु नवलपरासी, कपिलवस्तु लगायतकापनि दर्शकहरु भित्राउने लक्ष हो । त्यस्तैगरी हाम्रो महोत्सवस्थल तपाइले भनेजस्तो भारतसंग पनि नजिक रहेका कारण भारतको महाराजगञ्जका मुख्य भागहरुमा हिन्दी व्यानर तथा भोजपुरी भाषामा प्रचारप्रसार गरी त्यहाँकापनि दर्शकहरु भित्राउने छौं । साथै महोत्सवमा ग्रामिण भेगका जनताले मन पराउने खेल कुस्तीको पनि हामीले व्यवस्था गरेका छौं । त्यो भनेको पनि ग्रामिण भेगका जनतालाइ महोत्सवमा धेरै मात्रामा सहभागि गराउनु हो ।
तर धेरै दर्शक भित्राउनको लागि प्रचारप्रसारले मात्र त नपुग्ला नी ? फरक खालको आकर्षण के–के छन त महोत्सवमा ?
पक्कैपनि विना आकर्षणको महोत्सवले सफलता प्राप्त गर्न सक्दैन् । हामीले यस अघिका महोत्सवहरुबाट यहाँका दर्सकको मागलाइ बुझिसकेका छौं । यहाँ लोक तथा दोहोरी गित संगै अझ बढी मात्रामा आधुनिक तथा भोजपुरी गित गाउने कलाकारहरुको माग बढी छ । तसर्थ सोही बमोजिमका कलाकारहरुको हामीले व्यवस्थापन गरेका छौं । र हामीले महोत्सवमा जिल्ला स्तरिय खुल्ला नृत्य प्रतियोगिताको पनि आयोजना गरेका छौं । संगसंगै महोत्सवको अर्को आकर्षकको रुपमा हामीले हालसम्म नेपालमा लगाइने कुनैपनि महोत्सवमा नभएको ड्राइगनको मुखाकृत प्रबेशद्वारको व्यवस्था गरेका छौं । युवा पिडिहरुको मागलाइ मध्येनजर गर्दै सेल्फी स्पेसपनि हामीले व्यवस्था गरेका छौं भने विशेष गरी युवतीहरुको मागलाइ मध्येनजर गर्दै जिल्ला स्तरीय फेसन स्वको पनि आयोजना गरेका छौं । साथै साँझको समयमा चर्चित कलाकारहरुको साथमा डिजे डान्सको समेत महोत्सवमा व्यवस्था छ भने उँटको नाचको पनि महोत्सवमा अवलोकन गर्न पाइने छ । यसरी समग्रमा महोत्सवमा आउने दर्शकहरुलाइ एक पछि अर्को गरेर विभिन्न प्रस्तुतीहरुले मनोरन्जन दिनको लागि हामी प्रतिबद्ध छौं । साथमा हामीले महिला र पुरुषहरुको कुस्ती प्रतियोगिता समेतको आयोजना गरेको हुँदा अत्यधिक मात्रामा दर्शकहरुको सहभागिता हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।
भनेपछि यहाँहरुले अपेक्षा गरेजति दर्शकहरुले महोत्सवको अवलोकन गर्छन त ?
पक्कैपनि गर्छन् । पहाडी समुदायको लागि त्यही अनुसारका साँस्कृतिक कार्यक्रमहरु, तराइको समुदायको लागि त्यही अनुसारका साँस्कृतिक कार्यक्रमहरु, कृषकहरुका लागि कृषि सम्बन्धी प्रदर्शनी, उद्योगी, व्यापारी, पर्यटन व्यवसायी लगायतलाइ सोही अनुसारको आकर्षण लगायतका थुप्रै कुराहरुले गर्दा अहिलेको मेलामा हामीले अपेक्षा गरेको ३ लाख दर्शक पक्कैपनि महोत्सवमा भित्रने कुरामा मैले कुनैपनि आशंका गरेको छैन् । अन्य महोत्सवमा भन्दा केही कुराहरु नयाँ भएको र यस पटकको महोत्सवको प्रचार प्रसार हाल सम्मकै उत्कृष्ट भएको हुँदापनि दर्शक कमी आउँछन की भन्ने कुनै शंका छैन् ।
अन्त्यमा, महोत्सव बारे के भन्न चाहनुहुन्छ ?
बिशेष गरि हामीले अन्य मेलामहोत्सवहरु भन्दा यस पटकको महोत्सवलाइ अली फरक तरिकाबाट सम्पन्न गर्दै छौं । भैरहवा क्षेत्रमा महोत्सव सम्पन्न गर्नको लागि निकै चुनौती हुँदाहुँदैपनि हामीले यसअघि तिन वटा महोत्सव सम्पन्न गरेका थियौं र यो चौथो महोत्सव हो । तसर्थ भैरहवा क्षेत्रको विकास र यहाँका उत्पादनहरुको बजार प्रबद्र्धन गर्ने उद्देश्यले संचालन गर्न लागिएको यो महोत्सवमा हामीलाइ सहयोग गरी कम्तीमा एकपटक मेलाको अवलोकन गर्नुहुनको लागि सम्पूर्णलाइ म यसै पत्रिका मार्फत हार्दिक अनुरोध गर्न चाहन्छु ।

 

Facebook Comments