दर्शकको माग अनुसारका कलाकारहरुको व्यवस्था गरेका छौं ।

गिरिष चन्द्र त्रिपाठी
मुल आयोजक समिति सह–संयोजक
सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक

आगामी कात्तिक ३० गते देखि भैरहवामा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको आयोजना हुँदैछ । उद्योग व्यापार संगठन, रुपन्देहीको आयोजनामा सम्पन्न हुन लागेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको तयारीको लागि यति बेला आयोजक समितिले दिन रात नभनी कामलाई तिब्रता दिएको छ । आयोजकले विभिन्न क्षेत्रका ४१ वटा उपसमिति निर्माण गरेर कामलाइ तिब्रता दिएको जनाएको छ । यसै सन्दर्भमा हामीले मेलाको लागि मुल आयोजक समितिका सह–संयोजक तथा सांस्कृतिक व्यवस्थापनको समेत जिम्मा पाएका सांस्कृतिक संयोजक गिरिष चन्द्र त्रिपाठीसंग समग्र मेला र सांस्कृतिक व्यवस्थापनको बारेमा केही कुराकानी गरेका छौं । प्रस्तुत छ त्रिपाठीसंग गौतमबुद्ध सन्देश दैनिकका प्रबन्ध सम्पादक माधब न्यौपानेले गरेको कुराकानीको मुख्य अंश :

१. यहाँ मेला मुल आयोजक समितिको सह संयोजक हुनुहुन्छ, समग्र मेलाको तयारीको बारेमा बताइदिनुहोस न् ?
पक्कैपनि उद्योग व्यापार संगठनले आयोजना गर्न लागेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको मिति अब नजिकिँदै गरेको अवस्था छ । कात्तिक ३० गतेदेखि सुरु हुने मेलाको तयारीको लागि अहिले हाम्रा सम्पूर्ण उपसमितिका संयोजक तथा सदस्यज्यूहरुले आआफ्नो जिम्मेवारी अनुसार कामलाइ तिब्रता दिएको अबस्था हो । समग्रमा भन्नुपर्दा हामीले आजको मितिसम्म करिब ६० प्रतिसत तयारी पुरा गरिसकेका छौं । २५ गतेसम्म हामीले डेकोरेसन सहित हामीले ८० प्रतिशत काम सम्पन्न गर्ने छौं । अहिले मेलामा नेपालमा संचालित महोत्सवहरुमा अहिले सम्म नै नभएको ड्राइगनको मुखाकृत गेटको निर्माण कार्य भइरहेको छ । त्यस्तैगरी मुल गेट, मायादेवी मन्दिर, स्टल निर्माण, मन्च निर्माण लगायतका कामहरुपनि अब २–४ दिनमै सम्पन्न हुन्छ । र २८ गते हामीले सम्पूर्ण कामलाइ सकेर मेलाको उद्घाटनको लागि तयारी गर्ने छौं । आज २० गते बिहान सवा ९ बजे हामीले सचिवालयलाइ मेला स्थलमा सार्नेपनि निधो भइसकेको छ । मेलाको लागि साडे तीनसय स्टलहरु राख्ने भनिएकोमा उद्योग तर्फ करिब सबै स्टलहरु दर्ता भइसकेका छन् भने व्यापार तर्फ केही स्टल दर्ता हुन बाँकी रहेको हुँदा उक्त कामपनि २५–२६ गतेसम्म सम्पन्न हुनेछ । यसरी समग्र कुराहरु तिब्र रुपमा नै अगाडी बढिरहेको हुँदा ३० गते मेलाको सुरुवात गर्नको लागि हामीले कुनैपनि कुरामा कमी हुन दिने छैनौ ।

२. भैरहवाको कुरा गर्ने हो भने यहाँ टिकट काट्ने भन्दा पनि निःशुल्क पासको आशा गर्नेहरु बढी हुने गरेको विगतका महोत्सवहरुले देखाइसकेको छ । यसलाइ यहाँहरुले कसरी लिनुभएको छ ? निःशुल्क प्रबेश गर्ने संख्या बढ्नाले आर्थिक कारोबारमा कत्तिको असर गर्ला कि नगर्ला ?
सही प्रश्न गर्नुभयो । भैरहवामा हामीले यसअघि तीनवटा महोत्सवहरु सम्पन्न गरिसकेका छौं । हामीलाइ अनुभव भइसकेको छ की तपाइले भनेजस्तो यहाँ हामीले अधिकांशलाइ पासको व्यवस्था गर्नुपर्ने हुन्छ । तसर्थ तपाइको प्रश्नको सिधा जवाफ दिने हो भने आर्थिक कारोबारमा यसले पक्कैपनि असर गर्छ । तर हामीले आयोजना गर्न लागेको महोत्सव नाफामुखी भन्दापनि सेवामुखी तर्फ केन्द्रित हो । स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाउँ भन्ने हाम्रो नारा नै छ । तसर्थ हामीले पासकै व्यवस्था गरेर भएपनि जतिसक्दो धेरै दर्सकहरु भित्राएर महोत्सवमा विभिन्न स्टलहरुमा प्रदर्सन गरिएका उद्योग, व्यापार, कृषि तथा पर्यटन संग सम्बन्धित वस्तुहरुको अवलोकन गराइ स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने योजनामा हामी छौं । तसर्थ हामीलाइ टिकट बेचेर आम्दानी गर्नु भन्दापनि जुनसुकै माध्यमबाट होस धेरै दर्शकले मेला अबलोकन गरिदिए सन्तुष्ट हुन्छौं भन्न चाहान्छु ।

३. तपाइ साँस्कृतिक व्यवस्थापन उपसमितिको संयोजक पनि हुनुहुन्छ । महोत्सवमा समग्र साँस्कृतिक व्यवस्थापन कसरी गर्नुभएको छ ?
हामीले यस अघिका महोत्सवहरुबाट यहाँका दर्सकको मागलाइ बुझिसकेका छौं । यहाँ लोक तथा दोहोरी गित संगै अझ बढी मात्रामा आधुनिक तथा भोजपुरी गित गाउने कलाकारहरुको माग बढी छ । तसर्थ सोही बमोजिमका कलाकारहरुको हामीले व्यवस्थापन गरेका छौं । र हामीले महोत्सवमा जिल्ला स्तरिय खुल्ला नृत्य प्रतियोगिताको पनि आयोजना गरेका छौं । संगसंगै महोत्सवको अर्को आकर्षकको रुपमा हामीले जिल्ला स्तरीय फेसन स्वको पनि आयोजना गरेका छौं । साथै साँझको समयमा चर्चित कलाकारहरुको साथमा डिजे डान्सको समेत महोत्सवमा व्यवस्था छ । यसरी समग्रमा महोत्सवमा आउने दर्शकहरुलाइ एक पछि अर्को गरेर विभिन्न प्रस्तुतीहरुले मनोरन्जन दिनको लागि हामी प्रतिबद्ध छौं ।

४. दर्शकहरुको मागलाइ बुझेर कलाकारहरुलाइ ल्याउँदै छौं भन्नुभयो । महोत्सवमा कुन–कुन कलाकारहरुको प्रस्तुती रहने छ बताइदिनुहोस न ?
हामीले आधुनिक कलाकारहरु कमल खत्री, काली प्रसाद बास्कोटा, सुगम पोखरेल, प्रमोद खरेल, बिरेन्द्र अग्रहरी, माण्डवी त्रिपाठी, हिमाल सागर, राजन तिमिल्सीना, राजनराज सिवाकोटी, अल्मोडा उप्रेती लगायतका कलाकारहरुलाइ महोत्सवमा सहभागि गराउने पक्का भइसकेको छ । र लोक तथा दोहोरी गायकहरुमा सिरिस देवकोटा, रामजी खाँड, नविन पौडेल, कृष्णा गुरुङ, पशुपती शर्मा, बैकुण्ठ महत लगायतहरुलाइ हामीले निम्त्याएका छौं भने दिपक दिलदार, पवन पाण्डे र पुनम पाण्डे लगायतका भोजपुरी कलाकारहरुकोपनि महोत्सवमा प्रस्तुती रहने छ । साथै बिष्णुजि पाण्डे (माइला बा), राजा राजेन्द्र लगायत अन्य विभिन्न हाँस्य कलाकार हरुकोपनि महोत्सवमा प्रस्तुती रहने छ ।

५. अन्त्यमा, महोत्सव बारे के भन्न चाहनुहुन्छ ?
बिशेष गरि हामीले अन्य मेलामहोत्सवहरु भन्दा यस पटकको महोत्सवलाइ अली फरक तरिकाबाट सम्पन्न गर्दै छौं । भैरहवा क्षेत्रमा महोत्सव सम्पन्न गर्नको लागि निकै चुनौती हुँदाहुँदैपनि हामीले यसअघि तिन वटा महोत्सव सम्पन्न गरेका थियौं र यो चौथो महोत्सव हो । तसर्थ भैरहवा क्षेत्रको विकास र यहाँका उत्पादनहरुको बजार प्रबद्र्धन गर्ने उद्देश्यले संचालन गर्न लागिएको यो महोत्सवमा हामीलाइ सहयोग गरी कम्तीमा एकपटक मेलाको अवलोकन गर्नुहुनको लागि सम्पूर्णलाइ म यसै पत्रिका मार्फत हार्दिक अनुरोध गर्न चाहान्छु ।

 

Facebook Comments

One thought on “दर्शकको माग अनुसारका कलाकारहरुको व्यवस्था गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *