सरकारले वेवास्ता गरेको भुपु सैनिकको गुनासो

गौतमबुद्ध सन्देश
भैरहवा, १९ कार्तिक । सरकारले चासो नदिइएकोले धेरै भूपू सैनिकका परिवारले पेन्सन नपाएको गुनासो गरेका छन् । आधा जिन्दगी सैनिक सेवामा बिताएका भूपू सैनिकको यो समस्या बारे नेपाल सरकारले सम्बन्धित संग छलफल गरेर समस्या समाधान गरिदिन माग गरेका छन् ।

सिद्धार्थनगरमा रहेका नेपाल भारतीय सैनिक सेवाबाट निवृत्त भएका भूपू सैनिकहरूको साझा सस्ंथा नेपाल भारत पूर्व सैनिक परिवार कल्याण संगठन सिद्धार्थनगरको आठौँ वार्षिक साधारणसभामा वक्ताहरुले यस्तो गुनासो गरेका छन ।

शनिबार भैरहवामा भएको कार्यक्रममा भूपू सैनिकहरूले नेपाल सरकार र भारतीय सरकारबीच दोहोरो सम्वाद गरेर भूपू सैनिकका परिवार (जो एकल महिला हुन) को समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

भूपू सैनिकका एकल महिला अहिले पेन्सन पाउनबाट वञ्चित रहेको संगठनका अध्यक्ष विष्णु प्रसाद खरेलले बताए । ‘सेवाबाट निवृत्त भएका बेलामा आफ्नो पेन्सन पट्टामा श्रीमतीको नाम नराख्दा अहिले श्रीमानको मृत्यु पश्चात परिवारलाई समस्या भएको उनले बताए । त्यसैले हाल सेवारत भारतीय सैनिकहरूले समयमै संगठनका सदस्य भएर आफ्नो परिवारको नाम पेन्सन पट्टामा समावेश गराउने आग्रह गरिएको उनले बताए । यसमा नेपाल र भारत दुवै देशले हिजोको समय र अहिलेको समयलाई एउटै दृष्टिकोणले नहेरिदिन पनि भूपू सैनिकहरूले आग्रह गरेका छन् ।

प्रमुख अतिथि संगठनका संस्थापक अध्यक्ष, क्यापटन रेशम केसीले बुटवलमा पूर्व सैनिकको पेन्सन क्याम्प उदघाटन भइसके पनि केही विवादले गर्दा सञ्चालनमा आउन नसक्नु दुःखद भएको बताए । उनले पूर्व सैनिकहरु एकताबद्ध भएर हकहितको लागि अगाडी बढ्नुपर्नेमा जोड दिए ।

संगठनका सल्लाहकार सूर्य कुमार सारु मगरले हिजो हामी भारतीय सेनामा प्रवेश गर्दाको परिवेश र अहिलेको परिवेश धेरै फरक भइसकेको छ । त्यसैले हिजो र आजको समयलाई तुलना गर्न मिल्दैन ।’ तैपनि संगठनले समस्यालाई भारतीय सैनिक मुख्यालय सम्म पटक–पटक जानकारी गराउन र सरकारले अन्य मन्त्रालय सरह देशमा भु.पु. मन्त्रालयको समेत आवश्यकता रहेको सुझाव दिए ।

कार्यक्रममा वक्ताहरुले सबै सुविधा र सुरक्षा पाउनुपर्ने, भारतीय भूपूहरुका विभिन्न समस्या समाधानका लागी कुटनीतिक रुपमा पहल गरिनुपर्ने, हुनुपर्ने, भूपूहरुमाथि अझै शोषण भैरहेको तर्फ ध्यान पु¥याउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष मानकाजी गुरुङ, क्यापटन चन्द्र बहादुर, क्यापटन राम बहादूर थापा, पृथ बहादुर गुरुङ लगायतले बालेका थिए ।

४ सय ५० सदस्य रहेको संगठनले आठौँ वार्षिक साधारणसभाको अवसरमा जेष्ठ नागरिक बिर बहादूर थापा तथा विरगति प्राप्त गरेका परिवारलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रम कोषाध्यक्ष भरतकाजी केसीको आर्थिक प्रतिवेदन तथा सचिव भुमिराज कंवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments