गाउँको विकासमा जुटे परदेशमा रहेका गाउँकै युवा

शिव भुसाल
दक्षिण कोरिया, १८ कार्तिक । अर्घाखाँचीका युवायुवती गाउँको विकासमा आफैं सक्रिय हुन थालेका छन । अर्घाखाँचीको सितगंगा नगरपालिकामा स्थायी घर भइ देश तथा विदेशमा रहेका युवायुवतीले रकम संकलन गरी गाउँको विकासमा लगाएका छन्।

‘सुशासन, समृद्धि, ऐक्यबद्धता, समाज सुधार हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दुई महिना पहिले अर्घाखाँचीको सितगंगा नगरपालिकामा सितगंगा सेवा समाज गठन गरी संस्था दर्ता गरिएको र काम थालिएको समाजका संरक्षक भीम खनालले जानकारी दिए ।

यूएईमा वैदेशिक रोजगारीमा रहेका खनालले समाजले पहिलो चरणमा नगरपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयको सुधार गर्ने लक्ष्य लिएको र त्यसकै लागि पूर्व विद्यार्थीहरुबाट रकम संकलन अभियान चलाइएको बताए ।

शैक्षिक सुधार अन्तर्गत कालोपाटी विस्थापित गरी मार्कर बोर्ड र प्रोजेक्टरका माध्यमबाट पढाउने र विद्युत् पुगेका क्षेत्रका विद्यालयमा विद्यार्थीलाई कम्प्युटर शिक्षामा साक्षर बनाउने लक्ष्य रहेको उनले बताए।

सितगंगा नगरपालिका अन्तर्गत सिद्धारा र ठाडामा रहेका ३ वटा विद्यालयमा सामाग्री हस्तान्तरण गरिएको खनालले जानकारी दिए । उनले भने, ‘सामान्यतया विद्यार्थीको संख्याका आधारमा एउटा विद्यालयलाई बढीमा १० वटा कम्प्युटर सहित ४ लाख रुपैयाँ बराबरको आधुनिक शैक्षिक सामग्री हस्तान्तरण गर्ने गरिएको छ ।’ नगरपालिकाका ११ वटा विद्यालयको शैक्षिक सुधार पछि अन्य क्षेत्रको विकासमा लाग्ने लक्ष्य रहेको उनको भनाइ छ । निजी विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थी र गाउँका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको स्तरमा निकै भिन्नता रहेकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा कम्तिमा प्रविधिको सामान्य सीप सिकाउनु समाजको उद्देश्य रहेको उनले बताए ।

कार्यक्रमको सफलताका लागि कोरियामा पनि रकम संकलन अभियान थालिएको छ । सितगंगामा स्थायी घर भई हाल कोरियामा रहेका युवाहरुको सक्रियतामा हालसम्म करिब १ लाख रुपैयाँ संकलन गरिएको समाजका सल्लाहकार मिनराज पोख्रेलले जानकारी दिए।

समाजले हाल सम्म १२ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिसकेको जनाउँदै करिब ८ लाख रुपैयाँ संकलनको घोषणा भएको समाजका संरक्षक खनालले जनाएका छन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *