कलिलो उमेरमै काम

घनश्याम भर
कपिलवस्तु, ५ पुस ।
शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार हो । सरकारले सबै बालबालिकाहरूलाई शिक्षाबाट वञ्चित हुन नदिन शिक्षालाई सुनिश्चित गरेको छ । तर विभिन्न परिस्थितिका कारण केही बालबालिका शिक्षाबाट वञ्चित हुने गरेका छन् । गरिबी, आर्थिक अभाव, पारिवारिक समस्या र चेतनाको कमीले उनीहरुको पढाईमा समस्या भइरहेको छ । मुलुकको भविष्यको कर्णधार मानिने ती कलिला बालबालिका साँझ र बिहान एकछाक टार्नका लागि ईट्टा उद्योगमा काम गर्न बाध्य भएका छन् । ईट्टा उद्योगमा मात्र होइन होटल, कलकारखानामा समेत स–साना कलिला उमेरका बालबालिकाहरूकोश्रमशोषण हुँदै आएको पाइन्छ ।
कानूनबमोजिम यसरी बालबालिकालाई काममा लगाउनु बाल श्रमशोषण हो । यसलाई कानूनले दण्डनीय र सामाजिक अपराधसमेत मानेको छ । ती बालबालिकाहरूले यसरी गैरकानूनी कार्यमा संलग्न हुँदै आए पनि सरकार वा सम्बन्धित निकायले कुनै किसिमको प्रभावकारी कदम चाल्न सकेको छैन ।
आर्थिक र पारिवारिक चपेटामा परेका बालबालिकाहरू यस्ता उद्योगधन्दाहरूमा संलग्न हुँदै आएका छन् । खासगरी बुवा आमाको नागरिकता नभएका बालबालिकाहरू उद्योगमा बढी संलग्न रहेको देखिएको छ । बालबालिकाले स्वतन्त्रपूर्वक नभई बाध्यताले एक छाक टार्नका लागि उद्योगमा काम गर्दै आएका छन् । उनीहरु शिक्षाबाट समेत वञ्चित भएका छन् । हरेक ठाउँहरूमा बाल श्रमशोषणमुक्त बनाउन जरुरी देखिन्छ । ती बच्चाहरुको जिम्मेवारी कसले लिने ? किन बाध्य भएका छन् त ? कसले खोजी गर्ने ? के उहीहरूलाई संरक्षणको आवश्यकता छैन ?लगायत प्रश्नले जोडदार जवाफ खोजीरहेका छन् ।
कपिलवस्तुमा नेपालका ३ सय ८१ जना र छिमेकी देश भारतको विभिन्न ठाउँका ३ सय ९७ जना गरी७ सय७८ बालबालिका इट्टा उद्योगमा कार्यरत रहेको पाइएको छ । एक स्रोतको तथ्यांक अनुसार अहिले कपिलवस्तु जिल्लाको बुद्धभूमी, महाराजगञ्ज र शिवराज नगरपालिकामा मात्रै ३ सय ८१ बालबालिकाहरूले उद्योगमा काम गरिरहेको पाइएको छ । जसमा बालिका १ सय ६० र बालक ३ सय २१ जना रहेका छन् । बुद्धभूमिमा १ सय २७ जना, महाराजगन्जमा १ सय ८५ जना र शिवराज नगरपालिका ६९ जना बालबालिका रहेका छन् । अधिकांश बालबालिका ५ देखि ९ वर्ष, १० देखि १३ वर्ष र १४ देखि १८ वर्ष उमेरका छन् । सबै भन्दा बढी ५ देखि ९ र १० देखि १३ वर्ष उमेरका बालबालिकाहरूले ईट्टा उद्योगमा संलग्न रहेको स्रोतले जनाएको छ । कपिलवस्तु ईट्टा उद्योगमा मात्र २४ जना बालबालिकाहरु काम गरिरहेका छन् । स्रोतका अनुसार गरीब, आर्थिक रूपमा कमजोर र निम्न वर्गका अधिकांश बालबालिकालाई उद्योग सञ्चालकले प्रयोग गरिरहेको बताइएको छ ।
कपिलवस्तु ईट्टा उद्योगमा काम गर्ने (नाम परिवर्तन) १३ वर्षीय शिला परियारले २ वर्षदेखि काम गर्दै आएकी छन् । उनी विजयनगर गाउँपालिका वडा नम्बर १ की बासिन्दा हुन् । बुवा आमासँगै भाइबहिनी हेर्नका लागि उद्योगमा आउन थालेको शिला परियारले बताइन् । यसरी कक्षा ४ मा पढ्दा पढ्दै कक्षा छोड्न बाध्य भएको सुनाइन् । उनले भनिन्, ‘बुवा आमासँग सधैँ आउँदै गर्दा विस्तारै ईट्टा बनाउन सिके, यहाँ २ वर्षदेखि ईट्टा बनाउँदै आएको छु, पढ्ने इच्छा भए पनि पारिवारिक र आर्थिक बाध्यताले गर्दा अरू केही सोच्नै सकेको छैन । खाना बस्न समस्या भएपछि ईट्टा बनाउने काममा लागेको उनको भनाइ छ । अहिले केही दिनदेखि सबै परिवारसंग मिलेर ईट्टा उद्योगमा बस्दै आएको उनले जनाइन् । उनले १ हजार ईट्टा बनाए वापत ठेकेदारले १ हजार ३ सय रूपैयाँ पारिश्रमिक दिने गरेको बताइन् ।
स्रोतको जानकारी अनुसार उनीहरुले गास बासका लागि भौतारिँदै गर्दा कपिलवस्तु ईट्टा उद्योगबाट जीवन निर्वाह गर्न पेश्की स्वरुप पैसा लिए । अहिले त्यही पैसा चुकाउन उनीहरु अहोरात्र काम गर्न बाध्य भएको जनाइएको छ । उनीनीहरूको अवस्था हेर्दा साह्रै दयनीय र नाजुक स्थितिमा काम गरिरहेका छन् । उनीहरू एक पात्र मात्र हुन, देशमा कति यस्ता बालबालिका छन्, कुनै एकीन तथ्यांक नै छैन होला ।
दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुकी अध्यक्ष मीना परियारले जोखिममा रहेका बालबालिकालाई उद्धार गर्दै शिक्षा र जीविकोपार्जनमूलक सीप लक्षित गरी कार्यक्रमको सञ्चालन गर्दै आएको बताइन् । बालश्रम निवारणका लागि स्थानीय तहमा कानुन प्रावधान लगायत क्षमता विकासका अभियान सञ्चालन गर्दै आएको उनले बताइन् । ईट्टा व्यवसायी लगायत सम्बन्धित निकायसँग समन्वय गरी बाल श्रम नलगाउने प्रतिबद्धता गराउने योजनामा रहेको समेत अध्यक्ष परियारले जानकारी दिइन् ।
कपिलवस्तु ईट्टा उद्योगका प्रबन्धक मुस्तफाले उद्योगमा बालबालिकालाई काममा नलगाएको जिकिर गर्दै ठेकेदारमार्फत ईट्टा बनाउने जिम्मा दिएको बताए । पटकपटक मुस्तफालाई फोनबाट बुझ्न खोज्दा ठेकेदारले बालबालिकालाई लगाएको हुन सक्ने जानकारी दिए । सञ्चालकको सम्पर्क नम्बर समेत उनले दिन मानेनन् । यसरी दुई वर्ष लामो समयदेखि बालबालिकाहरू उद्योगमा काम गर्दै आए तापनि बालबालिकालाई प्रयोग नगरेको भन्दै उनले गैरजिम्मेवार जवाफ दिएका छन् ।
विभिन्न संघ–संस्थाहरूले बाल श्रम, बाल शोषणाविरुद्ध विविध कार्यक्रमहरू सञ्चालन गरिँदै आए पनि परिणाममुखी देखिएको छैन ।

Facebook Comments