मेरो एकवर्षको सेवामा सरुमारानीको बेरुजु शुन्य बनाएको छु

प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेको एकवर्ष पुरा भएको छ । समग्र अवस्था र विकास निर्माणको विषयमा केन्द्रित भएर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीसंग कुराकानि गरेका छौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा बुवा रेशमराज रेग्मी र आमा सुन्दरी रेग्मीको कोखबाट २०४९ साल फागुन २५ गते जन्मेका रेग्मी सानै उमेरमा ठूलो जिम्मेवारी बहन गरिरहेका छन् । प्रस्तुत छ प्रमु प्रशासकीय अधिकृत रेग्मीसंग जितेन्द्र खत्रीले गरेको कुराकानीको सम्पादित अंश ः
तपाई यस पालिकामा आउनुभएको पनि एकवर्ष भयो । कस्तो महसुस गर्नुभएको छ ?
म २०७७ मंसिर २९ गतेदेखि सरुमारानी गाउँपालिकामा कार्यरत छु । एकवर्ष पुरा भएको छ । समय कति छिट्टै बितेछ जस्तो लागिराखेको छ । हालसम्म राम्रैसंग काम गरिराखेको छु ।
तपाईले एकवर्षको अवधिमा गाउँपालिकामा गरेका मुख्यमुख्य काम र सुधारहरु के के हुन् ?
सरुमारानी गाउँपालिकामा मेरो एकवर्षे कार्यकालमा भएका प्रमुख कामहरु यसप्रकार छन् ।
आ.व. २०७७।७८ को वेरुजु शुन्य
महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनको आधारमा आ.व. २०७७।७८ बेरुजु रु. १ करोड ६० लाख ६० हजार ६ सय ८५ औल्याईएकोमा सरुमारानी गाउँपालिकाको कार्यालयबाट प्रारम्भिक प्रतिवेदनमाथि पेश गरिएको प्रतिक्रिया र प्रमाणहरुको आधारमा सम्पूर्ण वेरुजु सम्परीक्षण भइ आ.व. २०७७।७८ को बेरुजु ऐतिहासिक रुपमा शुन्य बनाइएको छ । साथै आ.व. २०७७।७८ भन्दा अगाडीको ७ करोड ४ लाख ४९ हजार २ सय ९८ बेरुजु सम्परीक्षण गराउन सफल भएको ।
गाउँपालिकाको सगठन तथा व्यवस्थापन सर्भेक्षण
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा भएको प्रावधान अनुरुप स्थानीय तहहरुले कर्मचारी समायोजन भइसकेपश्चात आफ्नो कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी स्थायी प्रकृतिको कामका लागि आवश्यक पर्ने तथा सेवा करारमा लिइने कर्मचारीको दरवन्दी समावेश हुने गरी सगठन तथा व्यवस्थापन सर्भेक्षण (O & M) गर्नुपर्ने व्यवस्था रहे बमोजिम यस गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्भेक्षण (O & M) गर्ने काम सम्पन्न गरिएको छ ।
नयाँ प्रशासकीय भवनबाट सेवा शुभारम्भ
सरुमारानी गाउँपालिकाको नयाँ प्रशासकीय भवनको दोस्रो तलाको निर्माण सम्पन्न भएसंगै गएको जेठ महिनादेखि गाउँपालिकाले बड्डाडामा रहेको आफ्नै कार्यालयबाट सेवा सुचारु गरेको छ भने वडा नम्बर ५ र ६ बाट समेत यसै महिनादेखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न सुरु गरिएको छ ।
हेल्प डेस्क स्थापना
सेवाग्राहीलाई कार्यालयमा आउँदा अल्मलिनु नपरोस् भन्ने उदेश्यले नयाँ भवनबाट सेवा सुचारु गरे लगत्तै नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरी सञ्चालनमा ल्याइएको छ । उक्त नागरिक सहायता कक्षबाट सेवाग्राहीहरुलाई निःशुल्क फोटोकपी गर्ने व्यवस्थाका साथै आवश्यक सम्पूर्ण सहयोग प्राप्त हुनेछ ।
आन्तरिक आयमा उल्लेख्य वृद्धि
नदीजन्य पदार्थ विक्रीवितरणमा कार्यालयबाटै कर्मचारी खटाइ हालसम्मकै धेरै राजस्व संकलन गर्न सफल भएका छौं । साथै करका दायराहरु विस्तार गर्दै विज्ञापन कर लगायतका करहरुको माध्यमबाट आन्तरिक आम्दानीको लक्ष्यभन्दा बढी राजस्व सकलन गर्न सफल भएका छौं ।
ठूला योजनाहरु बोलपत्रमार्फत कार्यान्वयन
सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ ले प्राविधिक जटिलता हुने निर्माण कार्य बोलपत्रको माध्यमबाट प्रतिष्पर्धा गराई कार्यान्वयनमा लैजालुपर्ने उल्लेख गरेको छ । विगतका वर्षहरुमा उपभोक्ता समितिमार्फत प्राविधिक रुपमा जटिल खालका ठुला योजनाहरु कार्यान्वयन हुने गरेकोमा आ.व. २०७८।७९ देखि कार्यान्वयन हुने ठुला योजनाहरु ठेक्का प्रक्रियाद्वारा प्रतिष्पर्धाको आधारमा कार्यान्वयन प्रक्रियामा लैजान सफल भएका छौं ।
घर नक्शा अभिलेखिकरणको काम सुरु
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा नक्शा पास नगराइ भवन निर्माण गर्न नहुने व्यवस्था गरिएको छ भने नक्शा पास र अभिलेखिकरणसम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ । हाम्रो गाउँपालिकामा पनि सोही अधिकार बमोजिम आ.व. २०७७।७८ देखि घर नक्शा अभिलेखिकरणको काम सुरु भएकोमा भर्खरै घर नक्शा पास र अभिलेखिकरणसम्बन्धी तालिम सम्पन्न भएको छ र अबको केही समयभित्रै घर नक्शा पासको कार्य सुरु गर्ने तयारी रहेको छ ।
पालिकास्तरीय १० बेडको अस्पतालको डिपिआर तयार
स्वास्थ तथा जनसंख्या मन्त्रालयको प्रत्येक पालिकाहरुमा ५।१०।१५ शैयाको अस्पताल निर्माण गर्ने अभियान अन्तर्गत यस सरुमारानी गाउँपालिकाको लागि १० शैयाको अस्पताल निर्माणको लागि छनोट भएकोमा सोको पहिलो चरणको काम अर्थात डिपिआर गर्ने काम सम्पन्न भएको छ ।
कृषि तथा पशु उद्यमशिलता विकास कार्यक्रमको सुरुवात
गाउँपालिकामा कृषि र पशुपालन निकै सम्भावना बोकेका क्षेत्र हुन । यस क्षेत्रमा रहेका धेरैभन्दा धेरै किसानलाई समेटी समूहमार्फत परिचालन गरी हरेक किसानलाई उद्यमशील बनाई ववसायिक उत्पादनलाई प्रोत्साहन गर्ने हेतुले हेफर प्रोजेक्ट नेपालसगको साझेदारीमा ३ वर्षसम्म सञ्चालन हुने गरी रु ४ करोड २० लाखको लागतमा कृषि तथा पशु उद्यमशिलता विकास कार्यक्रम सञ्चालन ल्याइएको छ ।
महिनाको उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था
आन्तरिक रुपमा कर्मचारीहरुबीच सकारात्मक प्रतिस्ष्पर्धाको विकास गरी कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्न गाउँपालिकाभित्रबाट महिनाको उत्कृष्ट कर्मचारी छनोट गरी पुरस्कृत गर्ने कार्यको थालनी ।
स्वास्थको रिक्त दरबन्दीमा पदपूर्ति
गाउँपालिकाभित्रका स्वास्थ चौकीहरुमा रिक्त रहेका दरबन्दीमा हेल्थ असिस्टेन्ट ३ जना, अहेव १ जना र अनमी ३ जनाको पदपूर्ति गरी दरबन्दीअनुरुपको कर्मचारी व्यवस्थापन गरिएको छ ।
नियमित विद्यालय सुपरिवेक्षण
नियमित रुपमा विद्यालयको सुपरिवेक्षण गर्नुका साथै जुमबाट प्रअ बैठक गर्ने कार्यको सुरुवात । साथै स्थानीय पाठयक्रम निर्माण गर्ने कार्यको थालनी ।
मंसिरभित्रै सम्पुर्ण योजनाको सम्झौता सम्पन्न
कार्यान्वयन हुन नसक्नेबाहेकका उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरुको मसिर महिनाभित्रै उपभोक्ता समितिहरुसंग योजना सम्झौता गर्ने कार्यसम्पन्न भएको छ ।
वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न
आ.व. २०७७।७८ को वार्षिक समिक्षा तथा आ.व. २०७८।७९ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गर्ने काम सम्पन्न भएको छ ।
यहाँ सरुमारानी गाउँपालिकामा आएपश्चात उपभोक्ता समितिको गुनासो कम आएको भन्ने सुन्नमा आएको छ । त्यसो हुनुको कारण के होला ?
उपभोक्ता समितिहरुको गुनासो कम आउनुका पछाडी एउटामात्र नभएर विविध कारणहरु छन । पहिलो कुरा त हामीले बजेट विनियोजन गर्दा योजनामा काटनुपर्ने कन्टिन्जेन्सीवापतको रकम हिसाब गरेर छुट्टै शिर्षकमा छुट्याएर राख्यौ, जसले गर्दा सम्बन्धित योजनाको रकम काटिएर उपभोक्ताले पाउने रकम घट्ने भएन । दोस्रो उपभोक्तालाई जनश्रमदान जुटाउन कठिन हुने कुरालाई मनन गरी म गाउँपालिकामा आएलगत्तैको कार्यपालिका बैठकबाट उपभोक्ताले व्यहोर्नुपर्ने जनश्रमदानको हिस्सा कुल लागतको २० प्रतिशतबाट घटाएर १० प्रतिशत बनायौ । तेस्रो उपभोक्ता समितिसंग सम्झौता गर्नु अगाडी उपभोक्ता समितिका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी योजना कार्यान्वयन प्रक्रिया तथा करहरु सम्बन्धमा प्रष्ट पार्यौं । चौथो उपभोक्ता समितिको चेतनस्तर पनि क्रमश बढ्दै गयो । यी चार कारणले गर्दा उपभोक्ता समितिको पालिकाप्रतिको गुनासो घट्दै गएको हो
यस वर्षका प्रमुख योजना कार्यक्रमहरु
बड्डाडा बजार क्षेत्र कालोपत्रे, वडा नम्बर २ र ४ को वडा कार्यालय भवन निर्माण, जेष्ठ नागरिक आँखा स्वास्थ शिविर, पालिका अनुदान शिक्षकको निरन्तरता, जनता मा.वि. यातायात अनुदान, प्राविधिक विषयमा डिप्लोमा अध्ययन छात्रवृत्ति, पशु स्वास्थ्य घुम्ति शिविर, कृषि तथा पशु उद्यमशिलता विकास कार्यक्रम, कोभिडबाट मृतक परिवारलाई राहत सहयोग, विभेद तथा वञ्चितिकरणमा परेका समुदाय उत्थान कार्यक्रम ।
प्युठान जिल्लामा काम गराईको हिसाबले एकवर्षमै पालिकालाई उत्कृष्ट बनाउनुभएको जताततै चर्चा चलेको छ ? यो कसरी बनाउनुभयो ?
पालिका उत्कृष्ट नै भयो भन्दा पनि सुधारउन्मुख भएको र अझै धेरै काम गर्न बाँकी रहेको मेरो बुझाइ हो । पालिकालाई यहाँसम्म ल्याइपु¥याउनुमा जनप्रतिनिधिको कामप्रतिको खटनपटन, कर्मचारी व्यवस्थित परिचालन आम नागरिकको साथ सहयोग र नीति विधिको पालना प्रमुख कारण हुन जस्तो लाग्छ ।
देशभरका पालिकाहरुसंगै यस पालिकामा पनि धेरै ठुलो बेरुजु आएको थियो । तपाई यस पालिकामा आउनुभएको एकवर्षमा बेरुजु शुन्यतातर्फ अगाडी आउन कसरी सफल हुनुभयो ?
अघिल्लो वर्ष हाम्रो बेरुजुको भोलुम धेरै देखिए तापनि त्यसमा अधिकांश हिस्सा विद्यालयलाई भौतिक पूर्वाधार निर्माणको लागि दिएको पेश्कीको रहेको थियो । मिडियामा त्यसलाई अलि फरक ढंगले अगाडी ल्याइयो । हामी त्यही समयदेखि नै बेरुजु घटाउने अभियानमा अग्रसर भयौ । आन्तरिक लेखापरीक्षण शाखाको सक्रियता, शाखा तथा वडाका सम्पुर्ण कमचारीहरुको क्रियाशिलता र जनप्रतिनिधिहरुको साथ सहयोगले यो काम सम्भव भएको हो ।
शुन्य बेरुजु ल्याउनमा जनप्रतिनिधि र कर्मचारीबाट सोचेजस्तो सहयोग पाउनुभयो । अन्य पालिकाहरुले आफ्नो पालिकामा कसरी सुधार ल्याउनुपर्ला ?
अवश्य पनि जनप्रतिनिधि र कर्मचारीहरुको पुर्ण सहयोगबाट नै आ.व. २०७७।७८ को बेरुजु शुन्य बनाउन सकिएको हो । बेरुजु घटाउने मुल मन्त्र भनेको कानुनी प्रक्रियाको पालना नै हो । यसका लागि सबै पक्षको साथ सहयोगको आवश्यकता पर्दछ । साथै आलेप र मलेपले औल्याएका बेरुजुहरु समयमै सम्परिक्षण गर्ने कुरामा पनि अग्रसरता देखाउन सकेमा बेरुजुलाई कम गर्न सकिन्छ ।
यो अवस्थामा पालिकालाई ल्याउनमा के कस्ता नीतिगत समस्या आइपरे ? कार्यसम्पादन गर्दा कस्ता कठिनाइ आइपरे ?
म यस गाउँपालिकामा आउदा अप्राविधिकतर्फका करार कर्मचारीसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा थियो । करिबकरिब अघिल्लो आर्थिक वर्षभरी यही कुरामा रुमलिनुपर्यो । विगतका वर्षहरुमा जिविस गाविस अन्तर्गत काम गरी मन्त्रालयको पत्रअनुसार स्थानीय तहमा खटाइएका १७।१८ वर्षदेखि नियमित काम गरिराखेका कर्मचारीलाई बर्खास्त गर्नु सजिलो काम थिएन । त्यस्तै ढुंगागिट्टी, बालुवा निकासीको लागि बोलपत्र आह्वान गर्दा पनि प्रस्ताव पेश नहुँदा एकातिर ठुलो मात्रामा आन्तरिक आम्दानी उठन सकिराखेको छैन् भने अर्कोतर्फ अघिल्लो आर्थिक वर्षमा हामीले कार्यालयमा कार्यरत ५ जना कर्मचारी परिचालन गरेर नदीजन्य पदार्थको विक्रीवितरण गर्नुपरेको थियो । जसले गर्दा कार्यालयको सेवा प्रवाहमा समेत प्रत्यक्ष प्रभाव पर्न गयो । यी समस्याहरु मैले अघिल्लो आर्थिक वर्षमा भोग्नुपरेका मुख्य समस्याहरु हुन् । त्योबाहेक अन्य खासै समस्याहरु मैले महसुस गरेको छैन ।
स्थानिय पाठ्यक्रम तथा स्वास्थ्य, शिक्षा, उद्योग, कृषि, प्रविधि र पशुपालनलाई प्रोत्साहन गर्न के कस्तो नीति बनाउँदै हुनुहुन्छ ?
हामीले गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा आधारभुत तहसम्मको लागि स्थानीय पाठयक्रम निर्माणको काम अगाडी बढाएका छौ । शिक्षा समितिको बैठकबाट स्थानीय विज्ञ शिक्षकहरुको सहभागीतामा ९ सदस्यीय पाठयक्रम निर्माण कार्यदल गठन गरी द्रुत गतिमा कार्य भइरहेको छ । आगामी शैक्षिक सत्रदेखि हाम्रो पालिकामा स्थानीय पाठ्यक्रम लागु हुनेछ । स्वास्थ्यतर्फ घरमा सुत्केरी हुने दरलाई शुन्यमा झार्ने, कृषि तथा पशुपालनमा किसानहरुलाई उद्यमशिल र आत्मनिर्भर बनाउने साथै गाउँपालिकालाई प्रविधिमैत्री बनाउने नीति गाउँपालिकाले लिएको छ ।
अन्य स्थानीय तहहरुले आफ्ना नीति नियमहरु बनाएको सन्दर्भमा यहाँहरुको पालिकाको अवस्था कस्तो छ ?
हाम्रो गाउँपालिकाले हालसम्म ऐनहरु २२ ओटा तथा नियम, निर्देशिका, कार्यविधि र मापदण्ड गरेर ५२ वटा तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ ।
फर्केर हेर्दा यो एकवर्षको उपलब्धिलाई कसरी मुल्यांकन गर्नुहुन्छ ? यो काम गर्नु थियो तर सकिएन भन्ने केही छ की ?
औसतमा सोचे अनुरुप नै भएको छ । केही कामहरु अधुरा रहेका छन । यस गाउँपालिकाको महत्वपूर्ण योजना हंशपुर बृहद खानेपानी योजना अघिल्लो आ.व. मा पुरा हुनुपर्नेमा कोभिड महामारीको प्रभाव र निर्माण सामग्रीको अत्यधिक मुल्यवृद्धिका कारण सम्पन्न हुन सकेन । संघीय सरकारबाट बजेट निकासा हुन नसक्दा शहरी विकास मन्त्रालयअन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रमको भुक्तानी समयमै दिन सकिएन । बाकी कामहरु सोचेअनुरुप नै अघि बढेको जस्तो लाग्छ ।
तपाईलाई स्थानीयले बढी सक्रियताका साथ काम गरिरहनु भएको छ भन्ने सुनिन्छ । तपाई यस पालिकामा कार्यालय प्रमुखकै रुपमा सेवा दिदै गर्दा यो पालिकामा जनताले के के विकास भएको देख्न सक्छन् बताइदिनुहोस न ?
यस वर्षको बजेट कार्यान्वयन पश्चात हाम्रो ड्रिम प्रोजेक्ट अर्थात हंशपुर वृहत खानेपानी योजना सम्पन्न भइ ५ सय बढी घरधुरीको खानेपानीको समस्या समाधान हुनेछ, बड्डाडा बजार क्षेत्र कालोपत्रे हुनेछ, सम्पुर्ण वडा कार्यालयहरुले आफ्नै भवनबाट सेवा प्रवाह गर्न पाउनेछन । स्थानीय पाठ्यक्रम लागु हुनेछ । गाउँपालिकाले हालसम्म गरेका कामकारवाहीलाई समेटेर पालिकाले समिक्षा पुस्तक प्रकाशन गर्नेछ । साथै गाउँपालिकाको वार्षिक लक्ष्य हासिल हुनेछ ।

Facebook Comments