‘नगरसभाबाट स्वीकृत विकास योजनाका कामहरु समयमा नै सम्पादन गरेका छौं’

भुमिकास्थान नगरपालिका लुम्बिनी प्रदेश अन्तर्गत मध्यपहाडी क्षेत्रमा अवस्थित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कदेखि पश्चिम भागमा रहेको सुन्दर नगर हो । नेपालमा ७५३ स्थानीय तह कायम हुँदा अर्घाखाँची जिल्लामा साविकका ढाकाबाङ, धारापानी, असुरकोट, खिल्जी, नुवाकोट, ढिकुरा र धनचौर गाउँ विकास समितिलाई समेटेर भुमिकास्थान नगरपालिका बनाइएको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ वर्ग किलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या जम्मा ३२,६४० (पुरुष–१३९३५ र महिला–१८७०५) रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको नुवाकोट गाविसको कार्यालयमा रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन् । प्रस्तुच छ यसै नगर क्षेत्रको विकास निर्माणदेखि नगरपालिकाको अहिलेको अवस्थालाई समेटेर भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउतसंग गौतमबुद्ध सन्देश दैनिकका लागि जितेन्द्र खत्रीले गरेकोे कुराकानीको सम्पादित अशं ः
तपाई अर्घाखाँची जिल्लामा लामो समयदेखि विभिन्न कार्यालयहरुमा काम गरी आउनुभएको राम्रो अनुभवी कर्मचारी भुमिकास्थान नगरपालिकामा काम गर्न कत्तिको सजिलो भएको छ ?
म २०५३ सालदेखि सरकारी सेवामा विद्यालय निरीक्षकको रुपमा प्रवेश गरेको हुँ । म शिक्षा सेवाको कर्मचारी भएको र शिक्षा प्रशासनमा २०७३÷२०७४ मा अर्घाखाँची जिल्लामा जिल्ला शिक्षा अधिकारी र कर्मचारी समायोजनसँगै शिक्षा विकास निर्देशनालय, बुद्धभूमि नगरपालिकाको शिक्षा हेर्ने अधिकृत र केही समय प्रमुख प्रशासकीय अधिकृत भइ २०७७ पौषदेखि भूमिकास्थान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्दै आएकोछु । यस नगरपालिकाको ५ महिनासम्म रोकिएका काम कारवाहीहरु नियमित रुपमा सञ्चालन हुदै आएका छन् । स्थानीय तहमा हुने कामको कार्यसम्पादनका लागि सबै क्षेत्रहरुमा बढी ध्यान दिनु जरुरी छ । समय समयमा आउने समस्याहरुलाई ठीक ढंगले समाधान गर्न जरुरी हुन आउछ र सोही अनुसार वातावरण श्रृजना गर्नु जरुरी हुन आउँछ ।
अर्घाखाँची जिल्लाको ६ वटा पालिकामध्ये भुमिकास्थान नगरपालिका सबैभन्दा धरै पारदर्शी र सिस्टमले चल्ने पालिका भनेर चिनिन्थ्यो तर अहिले तपाईको कार्यकालमै धेरै अपार्दर्शी अनियमितता भएको गुनासो छ त ?
स्थानीय तहमा सम्पादन हुने कार्यक्रमहरु सबै विषयगत क्षेत्रसंग सम्बन्धित हुने गर्दछन् । कार्यक्रमहरु सञ्चालन गर्नका लागि कानूनी आधारहरु हुन जरुरी छ । संघीयताको कार्यान्वयनसंगै जनताका अपेक्षाहरुलाई समेटेर काम गर्नुपर्ने हुन्छ । स्थानीय तहको गठनसंगै आवश्यक ऐन, कानूनको आवश्यकताको महसुस हुँदै आएको छ । हालसम्म पनि कतिपय संघीय कानन निर्माण नहुँदा काममा जटिलता सिर्जना भएको अवस्था छ । तर पनि हामीले कतिपय विषयवस्तुसंग सम्बन्धित कानूनहरु निर्माण गरी कार्यसम्पादन गरेका छौं । कार्यालयले सम्पादन गर्ने कामका सन्दर्भमा योजनाले लक्षित गरेको वर्ग र क्षेत्रमा कार्यपालिकाको निर्णय र आवश्यक विधि प्रक्रिया पुरा गरी सञ्चालन गर्ने गरेका छौं । तपाईले राखेको प्रश्नमा कहीं कतै अनियमितता र अपारदर्शीता भएको छ भन्ने कुराहरु प्रमाणविहीन र कपोकल्पित हुन । यसमा अनावश्यक हल्ला र भ्रम सिर्जना गर्नु सान्दर्भिक देखिंदैन ।
जनताले नगरपालिकाबाट सुविधा नपाएको गुनासो धेरै सुन्नमा आएको छ कहिले पाउँछन् त जनताले नगरपालिकाबाट राम्रो सुविधा ?
नगरसभाबाट स्वीकृत विकास योजना कामहरु समयमा नै सम्पादन गरेका छौं । नगरबाट लाभग्राहीले प्राप्त गर्ने सेवासुविधा विधि र प्रक्रियासम्मत तरिकाले उपलब्ध गराएका छौं । स्वीकृत कार्यक्रम र वजेटलाई विधिसम्मत तरिकाले कार्यान्वयन गर्ने जिम्मेवारी र दायित्व कार्यालयको हो ।
भुमिकास्थान नगरपालिकामा बजेटको चरम दुरुपयोग भयो भनी जताततै सुन्नमा आएको छ नी ?
विकासका कामहरु गर्दा योजनाले लक्षित गरेको क्षेत्रमा निर्णय अनुसार लागत, समय, परिमाण र गुणस्तरलाई ध्यान दिई प्रक्रियासम्मत तरिकाले काम गर्ने गरिएको छ । वजेटको दुरुपयोग भएको सुन्नमा आयो भन्नु भयो कहींकतै त्यस्तो छ भने हामीलाई स–प्रमाण पेश गर्दा उपयुक्त होला ।
यति धेरै बेरुजु रकम हुनुमा कार्यालयय प्रमुखको काममा लगाव र पारदर्शि नभएको जनप्रतिनिधिरुको आरोप छ नी ?
नगरले आर्थिक वर्ष २०७६÷०७७ मा गरेको कार्यसम्पादनको परीक्षणको सिलसिलामा लेखा परीक्षणबाट औल्याइएका बेरुजुका विषयवस्तुहरुप्रति कार्यालय गम्भिर भएको छ । कतिपय विषयवस्तुहरु नियमित गर्नु पर्नेछन् । सो को लागि कार्यालय लागि परेको छ । बेरुजु आउनुमा कार्यालय प्रमुखको मात्र भूमिका नभई त्यस क्षेत्रको पनि भूमिका हुन आउँछ । हो जिम्मेवारीको हिसाबले कति भन्ने हुन्छ तर कार्यालय प्रमुखको लगाव भएन र पारदर्शी भएन भन्ने कुराहरु मनगढन्ते तरिकाले ल्याउनु त्यति ठिक नहोला ।
सरकारी निकाएमा प्राप्त भएको वा उपलव्ध भएको स्रोतसाधनलाई नियमितता मितव्ययिता कार्यदक्षता प्रभावकारीता र औचित्यताका आधारमा आर्थिक प्रसासन जवाफदेहीता र पारदर्शी नहुँदा अनियमितता र यति धेरै बेरुजु आएको हो ?
उपलब्ध स्रोतसाधनलाई सही ढंगले समयमा नै प्रयोग गर्नु जरुरी छ । कार्यसम्पादन गर्दा लागत, समय, परिमाण र गुणस्तरमा ध्यान दिनु आवश्यक हुन्छ र सम्बन्धित पक्षबाट मितव्ययी, पारदर्र्शी जवाफदेहीताको खाँचो पर्न आउछ । कार्यक्रम सञ्चालन गर्दा प्रचलित कानूनी व्यवस्थाको अवलम्बन गर्नु जरुरी छ । बेरुजुका सम्बन्धमा तपाईले उठाए जस्तो त्यसतर्फ गर्दै नगरेको, ध्यान नदिएको भन्ने चाँहि होइन ।
नगरपालिका कुन क्षेत्रमा बढी केन्द्रित छ, कुन क्षेत्रमा बढी लगानी भइरहेको छ ?
आर्थिक वर्ष २०७८÷०७९ को कार्यक्रम तथा बजेटमा नगरले संघीय र प्रदेश सशर्तका कार्यक्रमबाहेक पूर्वाधारतर्फ सबैभन्दा बढी बजेट विनियोजन छ भने क्रमशः शिक्षा, कृषि पशु, स्वास्थ्य, लक्षित वर्ग र उद्योग तथा व्यवसायमा विनियोजन भएको छ ।
लक्षित समुदायमा कस्ता कस्ता क्षेत्रमा खर्च भईरहेको छ, त्यसका लागि कुनै नीति पनि बनाइएको छ की ?
नवौं नगरसभाले लिएका नीतिहरु कार्यान्वयन गर्नका लागि कार्यक्रम तथा बजेटको व्यवस्था भएको छ । लक्षित वर्गका लागि तत्काल राहत अनुभव हुने कार्यक्रमहरु जस्तै जेष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य सेवा, एकल महिलाहरुका लागि सीपमुलक कार्यक्रम र टेवा, करेसावारी कार्यक्रमहरु, रैथाने वालीहरुको संरक्षण, बाल शसक्तिकरण, कृषकका लागि सेवा तथा टेवा जस्ता कार्यक्रमहरु रहेका छन् भने कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका निर्माण गरी नगर कार्यपालिकाबाट स्वीकृत भइसकेको र सोही अनुसार कार्यान्वयन गर्ने योजना रहेको छ ।
भुमिकास्थान नगरपालिकाको विकासका मुख्य समस्या र चुनौतिहरु के के हुन् ?
मुलुक संघीयतामा प्रवेश गरेसंगै यसको कार्यान्वयनमा आइसकेको अवस्था छ । स्थानीय तह सञ्चालनका लागि सिंगो जनप्रतिनिधिको टिम छ । स्थानीय तह सञ्चालनका लागि प्रयाप्त अनुभवको कमी, सीमित स्रोतसाधन, आन्तरिक आयको कमी, मौजुदा कानुनहरुको अभाव जस्ता थुप्रै समस्याहरु रहेका छन् भने सम्भावनाहरु पनि त्यत्तिकै छन् । आफ्नो स्थानीय तहको भावी दिशानिर्देश गर्ने अवसर, स्थानीय आवश्यकतामा आधारित कार्यक्रम, आफ्नो स्थानीय तह आफै बनाउने अवसर प्राप्त रहेको छ ।
विकासका पूर्वाधार (शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी) जस्ता क्षेत्रमा कति लगानी छ ?
स्थानीय तहले आफ्ना लाभग्राहीहरुलाई तत्काल राहत दिने र नजिकको सरकारको अनुभूति दिलाउने अवसर पाउनु राम्रो कुरा हो । त्यसैलाई मध्यनजर गरी भूमिकास्थान नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को कुल ८० करोड २७ लाख ३२ हजार बजेटमध्ये शिक्षातर्फ रु. २३ करोड ७५ लाख ५७ हजार, स्वास्थ्यतर्फ रु. ४ करोड ७२ लाख ७५ हजार, सडक यातायात पूर्वाधारतर्फ रु. १२ करोड ७२ लाख ६१ हजार, उर्जा र विद्युततर्फ रु. १७ लाख २५ हजार, खानेपानी तथा सरसफाईतर्फ रु. १ करोड ४४ लाख ७४ हजार, कृषि र पशु÷उद्योग र पर्यटन तर्फ रु. ३ करोड ५२ लाख ५२ हजार, लक्षित वर्गतर्फ रु. ३७ लाख २५ हजार, भवन, आवास तथा शहरी विकास तर्फ रु. २ करोड ६ लाख ५० हजार, युवा, खेलकुद, पुन निर्माण, सम्पदा पूर्वाधार, सुशासन र अन्यमा रु. ४ करोड ५८ लाख ६६ हजार र सामाजिक सुरक्षातर्फ रु. १६ करोड ७० लाख बजेट रहेको छ ।
यस नगर क्षेत्रका आगामी योजनाहरु के के छन् ? तपाईको सपना के छ ?
आगामी योजनामा मुख्यतः व्यवसायिक कृषि तथा पशुपालन, शिक्षा योजनाको निर्माण र कार्यान्वयन, नगरवासीलाई स्वरोजगारतर्फ उन्मुख गराउने र नगरको विकासका लागि सबै क्षेत्रको सहभागिता जुटाउने कुरामा नगरले नीति लिएको छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
तपाईले नगरको विषयमा उठाएका सवालका सन्दर्भमा प्रष्ट पार्न पाउँदा खुसी छु । नगरको विकासमा सञ्चार क्षेत्रको सधैं सकारात्मक सहयोग रहने अपेक्षा गर्दछु ।
ààà

Facebook Comments