‘उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गरेका छौं ’

शीतगंगा नगरपालिकाको नामाकरण यहाँको पवित्र नदी शीतखोला वा शीतगंगाको नामबाट राखिएको हो । नेपालको पुनर्संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका ७ गाउँ विकास समितिहरु सीतापुर, सुवर्णखाल, ठाडा, सिमलपानी, सिद्धारा, जुकेना र जलुकेलाई मिलाएर यस शीतगंगा नगरपालिकाको स्थापना भएको हो । यो नगरपालिका ऐतिहासिक तथा आर्थिक हिसावले परापूर्व काल देखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । यस नगरपालिकाका पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ, उत्तरमा सन्धिखर्क, भूमिकास्थान न.पा. र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन । पहाड तथा हिमाली क्षेत्रलाई तराई मधेससंग जोड्ने यो नगरपालिका शदियौं देखि व्यापारिक तथा सामरिक महत्व राख्ने नगरपालिका हो । पहिले यसैस्थान भएर पदमार्गबाट तराई हुँदै भारत तथा अन्य देशमा आवतजावत तथा व्यापार हुने गर्दथ्यो । विकासको क्रमसंगै सडक मार्गमा भएको स्तरोन्नति तथा सडक विस्तार हुँदै जाँदा यहाँको विकासमा तिब्रता आउन थालेको छ । यहाँको रमणीय ताल, वनजंगल, खोला नाला, पर्वतीय श्रृंखलाहरु, तथा पौराणिक मठ मन्दिरहरुको कारणले पर्यटकहरुका लागि समेत यो नगरपालिका आकर्षक स्थलको रुपमा विकसित हुँदै छ । शीतगंगा नगरपालिकाको समग्र बिकास र अवस्थाको बिषयमा केन्द्रित भएर शीतगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर केसि सँग गौतमबुद्ध सन्देश दैनिकका लागि जितेन्द्र खत्रीले गरेको कुराकानीको अंशः

तपाई सरकारी कर्मचारीको क्षेत्रमा प्रबेश गरेको कति भयो सेवा कहा कहा कसरी गर्नु भयो ?
सरकारी सेवामा विक्रम संवत २०५३ मा प्रवेश गरी हाल २५ वर्ष सेवा पुरा गरेको । विद्यालय निरिक्षकबाट सेवा प्रवेश गर्दै जिल्ला शिक्षा कार्यालय रोल्पा, वर्दिया, नवलपारासी, गोर्खा, चितवन, मकवानपुर जिल्ला र २०६९ मा उपसचिव भई राष्ट्रिय पुनः निर्माण प्राधिकरण अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुर शिक्षा हुदै स्थानीय तहमा रौतहट, बारा र हाल शितगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा कार्यरत रहेको छु ।
काम गर्न अन्य निकायमा भन्दा स्थानिय तहमा कत्तिको सजिलो या कठिनाई लागेको छ ?
स्वभाविक रुपमा स्थानीय सरकार भएको हुदा सरकारले वहन गर्नु पर्ने कार्यहरु प्रशस्तै हुन्छन् कार्यसम्पादनको शिलशिलामा सवै विषयगत शाखा र आम नगरवासी, जनप्रतिनिधि तथा अन्य संघ संस्था र निकाय संगको सहकार्य र समन्वयमा कार्य गर्दै नतिजा देखाउनु पर्ने हुन्छ । स्वभाविक रुपमा कार्यवोझको महसुश कहिलेकाही हुने नै हुन्छ । ता पनि यस नगरपालिकाका स्थानीय जनसमूह र जनप्रतिनिधिहरु समझ्दार र सहयोगी भएका कारण मलाई एक वर्षको वसाईमा असहज महशुस भएको छैन ।
यस पालिकाले सरल अनुभवि र दक्ष युवा कार्यालय प्रमुख पाई रहदा युवाहरुको व्यातिmत्व र नेतृत्वको बिकासमा टेवा पुग्ने के के कार्यक्रम लिएको छ ?
युवाहरुको लागि खेलकुदको विकास गर्न सवै वडाहरुमा खेलकुदका कार्यक्रमहरु राखी संचालन हुदै आएका छन् । त्यसै गरी युवा लक्षित कार्यक्रम संचालनका लागि वजेट विनियोजन भएको छ । कोभिड प्रभावित युवाहरुको लागि स्वरोजगार मुलक तालिम संचालन गरिएको । प्रधानमन्त्री रोजगार तथा युवा स्वरोजगार कार्यक्रम मार्फत युवाहरुलाई रोजगार प्रदान गरिएको छ ।
स्थानीय तह सञ्चालनका क्रममा प्रदेश र संघीय सरकारसँग हुने सहकार्य र सहयोग कस्तो पाउनुभयो?
स्थानीय तह संचालनको क्रममा प्रदेश तथा संघीय सरकारबाट आवश्यक सहकार्य र सहयोग आवश्यक्ता अनुसार प्राप्त भैरहेको छ । यस शितगंगा नगरपालिका भौगोलिक रुपमा ठूलो नगरपालिका छरिएर रहेको वस्ती कमजोर चुरे भु धरातल स्थानीय जनताको विकास प्रतिको तिव्र चाहना परिर्पुतिको लागि न्यून श्रोत साधनले संभव नहुदा र कतिपय अत्यवश्यक विकास आयोजनाको लागि वजेट माग गर्दा सो बमोजिम सहयोग प्राप्त गर्न नसकिएको अवस्था रहेको छ ।
स्थानीय तहले पाएको अधिकारलाई उपयोग गर्दै नागरिकलाई सेवा दिन कत्तिको सफल हुनुभयो?
स्थानीय सरकार संचालन ऐन मा भएको व्यवस्था तथा स्थानीय तह आफैमा सरकार भएकोले आवश्यक कानुनहरुको निर्माण गरी सोही बमोजिम नागरिकलाई सेवा प्रदन गरिदै आएको छ । कार्यालयबाट प्रवाह हुने सेवा र मिल्ने कार्य प्रकृया पुगेमा केही घण्टा भित्रै सम्पादन हुदै आएका छन् । कतिपय अवस्थामा स्थलगत रुपमा वडातह सम्म पुगी सेवा प्रवाह गर्ने गरिएको छ । आगामी दिनमा सवै वडा तहमा नगरबाट संचालन हुने सेवाहरु घुम्ती सेवाको रुपमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
धेरै स्थानीय तहमा अझै पनि कानुनहरू नबनेको अवस्था छ शितगंगा नगरपालीका कानुन र कार्यविधि निर्माणका कुराहरू के के भइरहेका छन?
स्थानीय तह आफैमा सरकार भएकोले संविधान तथा स्थानीय सरकार संचालन ऐन बमोजिम स्थानीय तहहरुले आफुलाई आवश्यक पर्ने धेरै कानुन निर्माण गरि लागु गर्नु पर्ने हुन्छ । कानुन निर्माण आफैमा जटिल विषय हो, यसको लागि अध्ययन दक्ष जनशक्तिको आवश्यक्ता समेत रहन्छ यती हुदा हुदै पनि आवश्यक्ताका आधारमा कानुन निर्माण भई रहेका छन । यस नगरपालिकाकाले हाल सम्मा १७ वडा ऐन तथा ३४ वटा नियम निर्देशिका र कार्यविधिहरु निर्माण गरि आवश्यक्ता अनुसार कार्यान्वय गरिएको छ ।
कोरोना कहरका नागरिक आम्दानीविहीन बनिरहेका छन्, बेरोजगारीको समस्या बढेको छ नागरिकलाई आफैँ केही गर्ने बनाउन पालिकाले त्यस्ता काम केही गरेको छ?
कोरोनाबाट आम्दानी विहिन वनेका नागरिकलाई आत्मनिर्भर बनाउन यस नगरपालिकाको सवै भन्दा सम्भावना रहेको पशु पालन लाई प्राथमिकतामा राखी उत्पादनमा आधारीत अनुदान कार्यक्रम संचालन गरेको छ । जसका कारण कोरोनाबाट समस्यामा परेका नागरिकलाई पशुपालन तर्फ आर्कशित गरी आत्मनिर्भर हुने अपेछ्या रहेको छ ।
स्थानियको ध्यान शिक्षा, स्वास्थ्यमा भन्दा निर्माणमै बढी भएको भन्ने गुनासाहरू आइरहेका छन् नि?
स्थानीयको ध्यान शिक्षा स्वास्थमा भन्दा बढी निर्माणमै बढी भएको भन्ने गुनासाहरु का सन्दर्भमा यस नगरपालिका भुगोलको रुपमा देशकै ठूलो नगरपालिका हो । यो नगरपालिका चुरे क्षेत्रमा अवस्थित कमजोर भु धरातल, विकट, बनजंगलले ढाकेको, छरिएर रहेको वस्ती यसको विशेषता हो । यस नगरपालिकामा शिक्षा क्षेत्रमा समेत प्रयाप्त लगानी भएको छ । नगरपालिकाले थप नगर शिक्षकहरु राख्ने, कम्प्यस्टर शिक्षक राख्ने, विद्यालयमा शौचालय भवन लगायत मर्मत संभार समेतका कार्यहरु भैरहेका छन ् । कतिपय स्थानीयहरुले निर्माणका कार्यहरु व्यापकरुपमा संचालन गर्नु पर्दछ भन्ने आवाजहरु पनि नआउने होइनन । विकास निर्माण स्वास्थ्य शिक्षा सवै महत्वपूर्ण पक्ष भएकाले सिमित श्रोत साधनबाट सन्तुलित कार्यक्रमहरु संचालन गर्ने नीति नगरले लिएको र सोही अनुसार कार्यहरु भईरहेको अवस्था हो ।

Facebook Comments