स्वास्थ्य मापदण्ड पालना गर्दै खुल्न थाले सिनेमा हलहरु

गौतमबुद्ध सन्देश
भैरहवा, कार्तिक २७ ।
पछिल्ला दिनहरुमा सिनेमा हलमै गएर चलचित्र हेर्ने दर्शक कमै मात्रामा छन् । युटुबमा आउने फिल्मका कारण हलमा सिनेमा हेर्न जाने प्रचलन घट्दै गएकोमा कोरोनाले झन् ठप्पै बनायो । कोरोना महामारी बढेसँगै २०७६ फागुनदेखि बन्द रहेको यस क्षेत्रका सिनेमा हलहरु अहिले भने खुलेका छन् ।
कोरोनाको महामारीले बिभिन्न क्षेत्रलाई नराम्रो संग प्रभावित गर्यो । जसका कारण फिल्म क्षेत्रलाई पनि नराम्रो असर पर्यो । कोरोनाको महामारी सुरु भए देखी नयाँ सिनेमा निमार्ण हुन सकेनन् भने सिनेमा हलहरु पनि सबै ठप्प भएका थिए । नराम्रो संग थलिएको सिनेमा क्षेत्र अब भने बिस्तारै आशा लाग्दो देखिन थालेको छ ।
सरकारले सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्न स्विकृत दिएपछि गत शुक्रबारदेखी सिनेमा हलको ढोका खुल्न थालेको छ ।
नेपाल चलचित्र संघका अनुसार देशभरिमा झण्डै दुई सय र पश्चिमाञ्चल क्षेत्रमा ५६ वटा सिनेमा हल संचालनमा रहेका छन् । अहिले स्वास्थ्य मापदण्ड पालना गरेर पश्चिमाञ्चल क्षेत्रका करिब ५० प्रतिशत हलहरु संचालनमा आएको र बाकी हलहरु पनि संचालनमा आउने क्रममा रहेको नेपाल चलचित्र संघ पश्चिमाञ्चल क्षेत्रका अध्यक्ष ओम जैशीले बताए ।
गत हप्ता (शुक्रबार) देखी सिनेमा हलहरु संचालनमा आएको जैशीले बताए । सरकारले जारी गरेको सुरक्षा मापदण्ड अनुसार प्रत्येक सिटमा १ सिट छोडेर र माक्स सेनेटाईजर लगायतका सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल संचालन गरिएको उनले बताए । सिनेमा हल सञ्चालनमा आएसँगै दर्शकहरुको उपस्थिती राम्रो रहेको उनले बताए ।

Facebook Comments