सम्पादकीय: छठ पर्वको शुभकामना

चाडपर्वहरु विदा हुँदै गर्दा सुर्यको पूजा र उपासना गरिने छठ पर्व हाम्रासामु आइपुगेको छ । वैदिक सनातन धर्मका सम्पूर्ण पर्वहरु प्रकृति र पृथ्वीको वरिपरी घुमेका हुन्छन्, जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानिक रहेको पाइन्छ । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्मदेखि मृत्यु पर्यन्त देख्ने प्रमुख शक्ति तथा उर्जा केन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसँग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ । बोटविरुवालाई हुर्काउने, बादल श्रृजना गर्ने, न्यानो दिने लगायत पृथ्वीमा सूर्यको भूमिका, मानव र सूर्यबीचको अन्योन्याश्रित सम्बन्ध रहेको छ । सुर्य र सुर्यको ताप बिना प्रकृति र मानव जीवनको कल्पना गर्न सकिदैन । तिहारको समापनसंगै छठपर्वको हर्षोल्लास वातावरणले बिशेष गरी तराई क्षेत्र दुलहीझैं सिंगारिएको छ । षष्ठी तिथिका दिन मनाइने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराई क्षेत्रमा विशेष रुपमा मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड, तराई सर्वत्र लोकप्रिय हुँदै आएको छ । सद्भाव र भ्रातृत्वको प्रतीक यस पर्वलाई हर्ष, उल्लासका साथ नदि, तालतलैया, पोखरीको किनारामा श्रृङ्गारिर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलीमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ दिएर मनाइन्छ ।
छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छिमेकीहरूले दिएका प्रसादहरु केराका घोघा, नरिवल, भोगटेलगायत फलफूलहरू ल्याएर राखिदिने चलन छ । यसरी ल्याइएको फलफूललाई छठको अन्तिम दिन बिहानै अर्घ स्वरुव उदाउँदो सूर्यलाई देखाएपछि प्रसाद स्वरुप घर लैजाने गरिन्छ । छठको लागि भक्तजनहरूले मनोकांक्षा पूर्ण होस भनेर भाकल राखेका हुन्छन् र त्यही अनुरूप छठमा प्रसादी चढाउने चलन चली आएको छ ।
छठसंगै चाडपर्वहरु सकिन्छन् । अब किसानलाई अन्नबाली भित्राउने भ्याइनभ्याई हुन्छ । नयाँ धानका चिउराहरु कुटाउने चलन पनि छठमा रहेको छ । नयाँ अन्नलाई पनि छठको प्रसादी रुपमा चढाउने चलन पाइन्छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य र शक्ति छठको व्रतको प्रभाव स्वरुप भएको मानिन्छ । द्रौपदीले पनि छठको व्रत लिएको कुरा बर्णन पाइन्छ । कोरोना महामारीबीच मनाइँदै गरेको छठ पर्वले तराई मात्र होइन, सम्पूर्ण नेपाल र नेपालीलाई राष्ट्रिय एकताको मालामा बाध्न सकोस्, भोग, रोग, शोक र गरीवीलाई जितेर सुर्यझैं विशाल र शक्तिसम्पन्न हुन सक्ने शक्ति प्राप्त होस् । प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्वको सबैलाई शुभकामना !

Facebook Comments