महिलाहरुको आर्थिक सशक्तिकरण

– ज्ञानु पौड्याल

विगतमा समाज तथा मुलुकको सामाजिक रुपान्तरणमा महिलाहरुको योगदानलाई झिनो रुपमा मानिए तापनि समुदाय तथा मुलुकको आर्थिक सबलीकरणमा महिलाहरुको योगदानलाई घरहरुको पर्खालभित्र सीमित राखी सामुदायिक तवरमा त्यति महत्व दिएको पाइँदैनथियो । तर परिवार, समुदाय तथा मुलुकको समग्र सामाजिक एवं आर्थिक परिवर्तनमा महिलाहरुको योगदानलाई अलग राखिएमा कुनै पनि मुलुकले पूर्ण विकास हासिल गर्न सक्दैन भन्ने मान्यताले आजभोली निकै बल पाएको छ ।
विगतमा महिलाहरुले उद्यम गर्नुपर्छ वा उद्यमी हुनुपर्छ भन्ने महत्वको महसुस गरिएको थिएन । महिलाले व्यवसाय किन गर्नुपर्यो भन्ने मान्यता समाजमा थियो । अझै सम्पन्न परिवारका महिला छन् भने तपाईको बुवाको सम्पत्ति छ वा लोग्नेको कमाई छ, किन दुःख गर्नुपर्यो ? वा छोरीलाई आयआर्जनको आवश्यकता नै छैन भन्ने चलन थियो । कालान्तरमा यो सोचमा परिवर्तन आएको विषय सबैले महसुस गरेका छन् । अहिले समाजमा महिलाहरु पनि आर्थिक कार्यमा सक्रिय रहेर आत्मनिर्भर हुनुपर्छ भन्ने सोच आएको छ । तर, अझै यतिले मात्रै पुग्दैन ।
सुरुदेखि नै महिला सीमित क्षेत्रमा मात्रै उद्यमीका रुपमा कार्यरत थिए । हस्तकला, घरमै बसेर गर्न सकिने सानातिना कामहरू, कृषि क्षेत्र, परिकार बनाउने जस्ता कामबाट महिला उद्यमशीलता विकास हुँदै आएको हो । पछि यसलाई व्यवसायिक बनाउनुपर्छ भन्ने सोच पनि आउन थालेको छ । बैंक र पर्यटन जस्ता सेवा क्षेत्रमा महिला थोरै थिए । अहिले उद्यमतर्फ पनि महिलाहरुको संख्या बढ्दैछ । अवसर पाए सबै क्षेत्रमा महिलाले सफलता हासिल गरेका छन् । इच्छा र आवश्यकता अनुसार क्षमता अभिवृद्धि गर्दै सिप, सूचना, प्रविधि र लगानी गर्न सकियो भने आर्थिक रुपमा उनीहरु पनि आत्मनिर्भर हुन सक्छन् ।
महिलाहरु सहकारीमार्फत बचत ऋण लगानी गर्दै सामाजिक कार्यमा पनि धेरै नै कार्य गरिरहेका छन् । शहरी क्षेत्रमा सञ्चारमा, होटेल व्यवसाय, पर्यटन क्षेत्रमा धेरै महिला उद्यमीहरु छन् । केही महिलाले व्यक्तिगत र सामूहिक रुपमा माछापालन, सामूहिक कुखुरापालन, पशुपालन र खुद्रा व्यापार, बुटिकमा राम्रो आम्दानी गरेको छन् । महिलाहरुमा प्रगतिशिल सोच आइसकेको हुनाले विगतको जस्तो स्थिति रहेन र समय विस्तारै परिवर्तन हँदै गयो ।
आत्मविश्वासको कमी र सहयोगी हातहरुको कमी भएकोले नै होला, महिलाहरु सानो लगानी गर्ने सोच भन्दा माथि उक्लिन सकेका छैनन् । त्यसैले घरमा रही सुपो बनाउने, सिलाइकटाइ, हाँस– कुखुरा, बाख्रा, गाई–भैसी पालन जस्ता काममा सीमित रहेका कारणवश मझौला उद्योग स्थापना गर्नतर्फ उनीहरुको सोच अगाडि बढ्न नसकेको देखिन्छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालमा साना तथा मझौला उद्यममा जम्मा २ प्रतिशत महिला छन्, र सार्क क्षेत्रमा १० प्रतिशत मात्र । सार्कका सबै देशमा ५० देखि ५१ प्रतिशत महिलाहरुको जनसंख्या छ । यत्रो जनसंख्यामा जम्मा यति थोरै संलग्नता । तर, अनौपचारिक क्षेत्रको श्रममा महिलाको ८० प्रतिशत संलग्नता छ, विशेष गरेर कृषिमा । यति ठूलो योगदान छ उनीहरुको । तर, उनीहरूलाई सधैभरी यही स्तरमा राखेर भएन, अब यिनलाई व्यवसायिक बनाउनुप¥यो, नीति बनाएर सहुलियत दिनुपर्छ उनीहरूलाई । पुरानो सीपलाई आधुनिक बनाउनेतर्फ लाग्नु पर्छ ।
समग्रमा, सामूहिक लगानी र समूहमा लगानी गरेर व्यवसायिक बनाउन सकियो भने महिलाहरूको कामलाई औपचारिक अर्थतन्त्रमा गणना हुने काममा प्रवेश गराउन सकिन्छ । भुटान र श्रीलंकाका महिला यसतर्फ अघि छन्, यसो हुनुको कारण छ । किनभने, सामाजिक संस्कारले पनि धेरै फरक पार्छ । श्रीलंकामा ९८ प्रतिशत साक्षरता छ । सबै शिक्षित छन् । यसले गर्दा आत्मविश्वास बढ्दो रहेछ । यस्तै भूटानमा पनि शिक्षा निःशुल्क छ । भुटानी पर्यटन क्षेत्रमा महिलाहरु पुरुष भन्दा निकै अगाडी छन् । उनीहरू एकदमै सक्षम छन्, पढेलेखेका छन् र व्यवसायमा लगानी गर्न हिच्किचाउँदैनन् । परिवारले पनि उनीहरूलाई सहयोग गर्ने रहेछन् । त्यसैले त्यो देशको सामाजिक संस्कार र शिक्षाको अवसरले पनि धेरै फरक पार्दो रहेछ ।
आर्थिक क्षेत्रको तुलना गर्ने हो भने, श्रीलंका र भुटान भन्दा हामी पछाडी नै छौ । बंगलादेश, पाकिस्तान, भारतका तुलनामा नेपालका नीतिहरू भने लैगिंकमैत्री छन् । तसर्थ, यी नीतिहरुको सफल कार्यान्वयनका लागि राज्यले गरिबीमा पिल्सिएका महिलाहरुमा उद्यमशिलताको विकास गर्नका लागि महिला उद्यमशिलता विकास कोष स्थापना गर्नुपर्दछ र सीपमुलक तालिम, कच्चा पदार्थको पहिचान र जोहो, उत्पादन, बजारको पहिचान, बजारीकरण जस्ता महत्वपूर्ण आर्थिक क्रियाकलापहरुमा दक्ष बनाउनेतर्फ अग्रसर गर्दे लानुपर्दछ ।
मेरो ३० वर्षको सरकारी र सामाजिक क्षेत्र र सहकारी क्षेत्रको अनुभवमा पनि महिलालाई आर्थिक रुपमा अगाडि बढाउन सामाजिक मूल्य, मान्यता, सोच र धारणाले निर्णय गर्ने कुरामा प्रभाव पार्नुका साथै महिलालाई अगाडि बढ्न बाधा परिरहेको छ । अर्कोतिर लैंगिक हिंसा, महिलाका स्वास्थ्य समस्या, पाठेघर खस्ने, गर्भको दौरानमा र सुत्केरी अवस्थामा आउने जटिलताले पनि आर्थिक कार्यमा बाधा पुगेको छ ।
तसर्थ, महिला मैत्री शिक्षा, स्वास्थ्य र उपचार जस्ता क्षेत्रहरुमा सरकारी लगानी बढाउने र आवश्यकता अनुसारका अन्य क्षेत्रमा महिलाहरुलाई उपयुक्त हुने सेवामा सुधार गरी एकीकृत सेवाको अवधारणा अनुसार काम गर्नुपर्ने आवश्यकता छ । स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक, राजनैतिक रुपमा सशक्तिकरण गर्न सकेमा मात्र समाजमा महिलाको हैसियत बढ्छ ।
जबसम्म महिला आर्थिक रुपमा सशक्त भएर आत्मनिर्भर हुँदैनन्, तबसम्म उनीहरूमाथि हिंसा कम हुँदैन । हाम्रो आवाज नै यही हो कि महिलाले आयआर्जन गर्न सक्ने वातावरण बनाउँ । उनीहरूलाई सक्षम बनाउँ । यसो भएमा घरभित्रका समस्या आधा घट्छन् ।
लगानी गर्नुको साटो किन काम गर्नुप¥यो ? दुःख पाएको छैन भन्ने कुरा धेरै हुन्छ । दुःख पाएर मात्र जिन्दगीमा आत्मनिर्भर बन्ने होइन रहेछ । महिला पुरुष दुवै व्यवसायी भएमा परिवार, समाज र देशलाई नै फाइदा हुने हो, अर्थतन्त्र दह्रो हुने हो । आवश्यकता वा परिस्थितिले मात्र मान्छेलाई आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले अघि बढ्ने भन्ने हो भने आर्थिक क्षेत्रमा हाम्रो विकास र परिवर्तन कहिल्यै हुँदैन ।
आवाज उठाउन सबैभन्दा पहिला महिला सक्षम हुनुपर्यो । त्यसैले हामीले अर्थिक क्षेत्रमा भएका महिलाले उनीहरूलाई सीप सिकाइ सक्षम बनाउन आवाज उठाइरहेका छौं । समाजमा देखिएको चुनौतिहरू कम गरी सामाजिक रुपान्तरण गर्न र जीविकोपार्जनको कार्य गर्दै आत्मनिर्भर बनाउन विभिन्न सरकारी तथा सामाजिक संघ–संस्थाको समन्वयमा काम गरिरहेको छौ ।
आर्थिक क्षेत्रमा महिलाको ठूला भुमिका छ भनेर सोचमा परिवर्तन ल्याउन एकदम चुनौति छ । धेरै महिलाहरुले उद्यमशिलता तालिम लिएपछि उत्पादन त गरे तर, बजारीकरण हुन सकेको छैन । हाम्रो देशमा कृषि राम्रो सम्भावना भएको क्षेत्र हो । जग्गा जमीनको प्रयोग गरी परिवारमै बसेर पुरानो शैलीलाई परिवर्तन गरेर अलिक आधुनिक प्रविधिमार्फत व्यवसायिक हुन कृषि क्षेत्र जस्तो सुरक्षित कुनै पनि क्षेत्र छैन । तर, दुर्भाग्य हामीसंग कृषिका लागि उपयुक्त वातावरण हुँदाहुँदै पनि हामीले केही गर्न सकिरहेका छैनौं । नेपालका महिला युवाहरू विदेशमा यति कष्टपुर्ण काम गर्न जनशक्ति पलायन भइरहेका छन् । आफ्नो देशमा कर्म गर्न नपाउने निराशाजनक स्थिति छ र यो सोचमा कमी आएको अवस्था पनि छैन् ।
अहिले सहकारीमा आबद्ध महिलाहरुले बचत गरी आवश्यक सीप ज्ञान लिदै उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आत्मनिर्भर कार्यमा अगाडि बढेका थुप्रै सफल उदारणहरु छन् । त्यस्तै गैरसरकारी क्षेत्रमा र स्वयंसेवी भइ कार्य गरिरहेका महिलाहरुमा ‘म पनि जोखिम र चूनौति लिन सक्छु’ भन्ने आत्मविश्वास आइरहेको छ । तर, अझै पनि उनीहरूमा परिवार, समाज र राज्यले विश्वास गर्न सकिरहेको छैन । सानो कार्य गर्न खोजेको अवस्थामा पनि ‘यिनले पनि व्यवसाय गर्न सक्छन् र’ ? आफूले दुःख गरेर कमाएको सम्पत्ति डुब्ने पो हो की भन्ने खालको सोचाइ छ । पुरुषप्रति जति निर्धक्क भएर परिवारका सदस्यले लगानी गर्छन् त्यति नै लगानी छोरी, बहिनीहरूमा गर्नु परेमा धेरैपटक सोच्छन् ।
अहिले महिला लक्षित कार्यक्रमहरु राज्यका स्थानीय तहबाट एकीकृत रुपमा सञ्चालित भइरहेको अवस्थामा पाउने सेवाबारेमा जानकारी लिने गर्न सकेमा सम्भावनाहरु पनि धेरै छन् । अब यी सबै कार्यक्रम स्थानीय तहबाट सञ्चालित कार्यक्रमका लागि पनि योजनाको माग कसरी गर्ने, कहाँ योजना राख्ने भन्ने बारेमा महिला, लक्षित वर्ग जनता सवैलाई समेट्न सकेमा बल्ल उनीहरुको मागलाई सम्बोधन गर्न सकिन्छ र श्रोतको सही सदुपयोग हुन्छ । जबसम्म आर्थिक रुपले सशक्तिकरण गर्न महिलालाई लक्षित गरी उनीहरुको जीवनस्तरमा सुधार गर्न मनसायले हाम्रा योजना, अवधारणाहरु तथा कार्यनीतिहरु लैंगिकमैत्री र महिलाहरुले उपभोग गर्न सक्ने वातावरण बनाउन सकिदैन, तबसम्म सामाजिक र आर्थिक रुपान्तरण सम्भव छैन । एक महिलाले ‘घरका साथै व्यवसाय पनि गर्न सक्छिन् र?’ भन्ने हाम्रो नेपाली सर्वव्याप्त मानसिकता सोचमा पनि सकारात्मक परिवर्तनको आवश्यकता छ ।
अन्त्यमा, आर्थिक सबलीकरणले महिलाहरुमा आत्मविश्वासका साथ निर्णय लिने क्षमताको विकास हुने कारणवश उनीहरुको सामाजिक प्रतिष्ठामा वृद्धि हुने नै छ भने, यस आर्थिक सशक्तिकरण वापत राजनीतिक क्षेत्रमा पनि महिलाहरुको निकै अग्रसरता वृद्धि भएको छ । हाम्रो पटकपटकको संघर्ष पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानमा उल्लेखित प्रावधानहरुको प्रभावकारी कार्यान्वयन र यसलाई संस्थागत गर्न जरुरी छ । संघीय, प्रदेश र स्थानीय सरकार गठन भइसकेको अवस्थामा अबको पाटो महिलामैत्री, बालबालिकामैत्री, अपांगतामैत्री र यौनिक लैंगिक अल्पसंख्यक समुदायमैत्री वातावरण र नीति कार्यनीति रणनीति बनाउने र आफ्नो आवश्यकताको पहिचान गर्दै लैंगिक हिंसा न्यूनीकरणका साथ आर्थिक सशक्तिकरणमा बजेट विनियोजन साथै आत्मनिर्भर उद्यमशिलता बढाउन सिप, पुंजी र प्रविधिको सहयोग गरी सुलभ कर्जाको पहँुच र प्रभावकारी कार्यान्वयन गर्ने सुनौलो अवसर जिम्मेवारी हाम्रा जनप्रतिनिथिको कांधमा आएको छ र सामुहिक प्रयास साझेदारी र समन्वयबाट परिवर्तन सम्भव छ । हाम्रो काम गर्ने सोच प्रतिवद्धता इच्छाशक्ति र सबैको सहयोग भएमा पक्कै पनि महिलाको आर्थिक रुपमा सशक्तिकरण र सामाजिक क्षेत्रमा जागरण भइ समग्र जीवनस्तरमा रुपान्तरण गर्न सकिन्छ ।
(लेखक गौतमबुद्ध मिडिया प्रा.लि.का सञ्चालक तथा जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष हुन् ।)

Facebook Comments