महिला, शिक्षा, सिप र दिगो विकास

– सम्झना शर्मा
कुनै पनि देश कति विकसित छ भन्ने कुराको मुल्यांकन त्यस देशको आर्थिक वृद्धिदर, सामाजिक विकास जस्तै शिक्षा, स्वास्थ्य, सामाजिक न्याय आदिले दर्शाउने गर्दछ । जुन देशको शैक्षिक अवस्था सुदृढ हुन्छ त्यो देशमा विकासका अन्य ढोकाहरु समेत खुल्ला हुन्छन् । भनाइको तात्पर्य त्यहाँ रोजगारीका अवसर हुन्छन्, विकास निर्माण, उद्योग कलकारखाना, व्यवसाय सबैका लागि सही वातावरण सृजना गरिएको हुन्छ । यी सबै आर्थिक मेरुदण्डका स्तम्भ मानिन्छन् । यस्ता खम्बाहरुलाई आथिर्कसंग जोडेर राष्ट्रको नीति निर्माणदेखि बजेटको आधार तय गरिएको हुन्छ । शिक्षा र अर्थतन्त्रबीच निरन्तर तथा दिगो सम्बन्ध हुन्छ । समयसापेक्ष शिक्षाले आर्थिक क्रियाकलापलाई प्रोत्साहन गरी उत्पादन गर्नुपर्छ भन्ने भावना जागृत गर्छ । अहिलेका बालिकाहरुलाई समयसापेक्ष शिक्षा प्रदान गर्ने र महिलामा भएको सिपलाई व्यवस्थित गरी आयआर्जनमा लगाउन सक्यो भने यसले पुंजी निर्माणदेखि रोजगारीको अवसर प्रदान गरी देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण भुमिका खेल्न सक्छ । समाजको गुणस्तर, रोजगारी, प्रतिव्यक्ति आय र सामाजिक सुरक्षाको प्रत्याभूति शिक्षाको गुणस्तरमा निर्भर गर्छ । शिक्षालाई प्रविधिसंग समन्वय गरी प्राविधिक दक्षता उत्पादनमा लगाउँदा दक्ष जनशक्ति उत्पादन भइ उत्पादनमा बढोत्तरी हुन्छ । शिक्षाको गुणस्तरले नै देशको राजनीति, कानून, न्याय, राजनीतिक व्यक्तिको सक्षमता, अर्थतन्त्रको सबलीकरण, शान्ति र सुरक्षा, स्रोतसाधनको उपयोग, प्राविधिक प्रविधि र नागरिकको गुणस्तरीय जीवन निर्वाह निर्धारण गर्छ । यहाँ हामीले चर्चा गर्न खोजेका छौं । महिलाको श्रमलाई कसरी आर्थिकसंग जोड्न सकिन्छ । एउटी महिला बिहान ४ बजेदेखि रातको १० बजेसम्म बिना फुर्सद श्रम गरिरहेकी हुन्छिन् । तर यसरी गरिने अव्यवस्थित श्रमको प्रत्यक्ष मुल्य नहुँदा देशको आर्थिक अर्थतन्त्रमा महिलाको भुमिका कमजोर सावित भएको छ । ग्रामीण क्षेत्र होस् या शहरी इलाकामा छरिएर रहेका स–साना रकमलाई संकलन गरी ठूलो पूंजी बनाउने कार्यमा महिला समूह नै सक्रिय छन् । हरेक समूहका नाममा स्थापित संस्थाले गर्ने कार्यलाई सहकारीका नामले पनि बढी चिनिने गरिन्छ । आमा महिला लगायत अनेकौं नाममा खुलेका हजारौंका संख्यामा रहेका वैधानिक संस्थाबाट हाम्रो समाजमा आर्थिक क्रियाकलाप चलायमान भएको छ । महिला नेतृत्वको विकास पूंजीको सदुपयोग मात्र नगरी सानो रकमलाई ठूलो पूंजीका रूपमा विकास गर्दै विविध व्यवसाय सञ्चालन गरेका छन् । यस्तो कार्यले रोजगारी, नेतृत्व विकास, बचत गर्ने बानीको विकास, आपसमा सहकार्य सहयोग गर्दै समृद्ध बन्ने बाटोमा लागेका महिला वास्तवमा आर्थिक क्षेत्रको उत्थानमा महत्वपूर्ण हुन् । उद्यमशीलताको विकास चानचुने काम होइन । त्यसकै लागि राज्यले करोडौं खर्च समेत गर्ने गरेकै छ । सीप विकासका लागि ग्रामीण क्षेत्र प्राथमिकतामा राखिने भएकाले पनि ग्रामीण क्षेत्रमा महिला विकासका अनेकौं सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । महिलाभित्र रहेको सिप र जांगरलाई उद्यमशिलतासंग जोड्न नसक्दासम्म देशमा दिगो विकासको लक्ष्य भेट्न मुस्किल होइन असम्भव प्राय नै छ । आफ्नो वरपर भएका स्थानीय तहभित्रका साधनस्रोतको परिचालन गर्दै अनेकौं सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । स्थानीय तहभित्रका साधनस्रोतको परिचालन गर्दै अनेकौं व्यवसाय सञ्चालनमा आएका छन् । तितौरा, आलुचिप्स, सेनेटरी प्याड, दालमोट, मैनबत्ती, साबुन, बुनाइ, सिलाइ, अगरबत्ती उत्पादन, सौन्दर्यकला सम्बन्धी व्यवसाय, लगायत सयौं प्रकारका सिपमूलक व्यवसायले महिला सशक्तिकरणमा पनि टेवा पु¥याएको हुन्छ । घरायसी काम गरेर पनि समय निकाल्दै मासिक बैठक, ब्याज तथा सावा फिर्ता संकलन गरी व्यवस्थित र उत्पादनमुखी कार्यमा लगाउने कार्य आफैमा चुनौतीपूर्ण हुँदैछ । यसमा पनि बैंक तथा वित्तीय संस्थाहरुले महिलाको सिपमा लगानी गर्न हिच्किचाउने, ऋण दिदा पनि परिवारका अन्य सदस्यको सहमति खोज्ने जस्ता महिलामाथि विश्वास नगरिने क्रियाकलापले गर्दा महिलामा रहेको उद्यमशिलता ह्रास भएर जाने खतरा छ । यदि उनीहरुलाई प्रोत्साहन गर्ने हो भने आफूलाई केही रकम आवश्यक पर्दा तत्कालै लिन पाइने घरमा आवश्यक पर्ने दैनिकी खर्चको जोहो हुन्छ । बालबालिकाले पढ्न लेख्नका लागि कापी कलम किताब आदिको प्रयोगमा समूहको नियमानुसार लिई त्यसलाई बाख्रापालन, कुखुरापालन जस्ता साना व्यवसाय जो घरमै दुई–तीनवटा पाठी वा कुखुराका चल्ला पारेर पनि आयआर्जन गर्न सकिन्छ । यसरी समुहबाट ऋण लिएर दुईवटा पाठी पाल्दा मात्रै पनि १ वर्षमा एक डेढ लाख बनाउने महिलाहरू असंख्य भेटिन्छन् । कृषि र व्यवसाय एउटै सिक्काका दुईपाटा हुन भन्ने बुझेर पनि हामी त्यसलाई स्वीकार गरिरहेका छैनांै । समाजको विशेषता नै परिवर्तनशीलता भएकाले अपेक्षा पनि बदलिन्छन् । समाजमा नवीन परिवेशको सृजना हुन्छ । मानवले पनि परिवेश अनुकूलका आवश्यकता पूरा गर्न चाहन्छन् । वर्तमान समयमा प्रादेशिक र स्थानीय तहसम्म विकास व्यवस्थापनको क्षमता बढाउँदै सबै तहमा जवाफदेही स्वच्छ र प्रभावकारी विकास प्रशासन कायम गर्नु महत्वपूर्ण रणनीतिका रूपमा रहेको छ । महिलाहरूबाट सञ्चालित सबै संस्थामा स्थानीयदेखि संघ–संस्थाले उत्प्रेरणा जगाउने कार्य गर्नुपर्छ । सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य भनेर परिचित हाम्रो देशमा गरीबीको निवारणमा क्रमिक रूपले पर्याप्त काम गर्नुपर्ने देखिन्छ । जुन कामका लागि स्थानीयस्तरमा महिला सहभागिता महिला सशक्तिकरण र महिला नेतृत्वका साथ आर्थिक सबलता प्राप्त गर्नुपर्छ । यसका लागि हकअधिकार, समाज, संस्कृति, मूल्यमान्यता र परिवेश सबै तत्त्वलाई गम्भिरतापूर्वक मनन गरी आय आर्जन रोजगारी र पूंजी संकलनमा जोड दिनुपर्छ । महिला तथा बालबालिका मन्त्रालयमार्फत कार्यक्रम सञ्चालन भएको पनि २ दशक बितिसक्यो । मूलत ः आरक्षण र समावेशीताको सिद्धान्तलाई अंगीकार गरेपछि महिलाको सहभागिता विकासका क्षेत्रदेखि अन्य स्वास्थ्य शिक्षा वित्तीय संस्थाहरूमा बढेर गएको देखिन्छ । आर्थिक रूपले सक्षम भएपछि मात्र अन्य क्षेत्रमा जाने मार्ग सुगम बन्ने रहेछ । त्यसैले आर्थिक पक्ष बलियो बनाउन छरिएर रहेका नगदलाई संकलन गरी उत्पादनका क्षेत्रमा आफ्नै समाजमा रहेका सिपको उपयोगबाट आयआर्जन गर्न सकिएकाले नै सहकारी फस्टाउँदै गएको हो । अल्पकालीन सिपबाट व्यक्ति दक्ष बनेर आफ्नै समुदायमा सहजै रोजगारी प्राप्त गर्न सकिन्छ । कृषिमा अल्पकालीन रोजगारी मात्रै प्राप्त हुने भएकाले पनि अवसरको लाभ लिने गरिन्छ । अर्थव्यवस्था अथवा आर्थिक अवस्थाले हाम्रो समाजको सामाजिक सांस्कृतिक सम्बन्धमा समेत परिवर्तन ल्याउँछ ।
हाम्रो समाजमा आर्थिक संस्थाहरू अनेकौं छन् । हरेक संस्थाका आ–आफ्नै उद्देश्य र कार्य हुने नै भयो । आर्थिक संस्थाहरूले मूलभूत रूपमा तीनवटा पक्षलाई महत्व दिएका हुन्छन् । प्रथम भनेको के–कस्ता वस्तु तथा सेवाको कुन मात्रामा उत्पादन गर्ने भन्ने विषय हो । दोस्रो समाजमा रहेका प्राकृतिक स्रोतसाधनलाई के कसरी अपेक्षित वस्तु तथा सेवाको उत्पादनमा लगाउन सकिन्छ भन्ने र तेस्रो कसका लागि वस्तु तथा सेवाको उत्पादन गर्ने भन्ने हो । महिला समूह वा संगठन मिलेर गर्न सकिने विविध क्षेत्रहरू छन् । रोजगारी सिर्जना शिक्षा स्वास्थ्य सरसफाइ खानेपानी फोहोर व्यवस्थापन कृषिजन्य उत्पादन त्यसको बजारीकरण भण्डारण प्रशोधन लगायत धेरै कार्यहरू पर्छन् । यी सबैबाट रोजगारी प्राप्त भइ आयआर्जनका साथै वातावरणको संरक्षण नेतृत्वको विकास स्वस्थ जीवनयापन शिक्षित व्यक्तित्व जस्ता मानवका चौतर्फी विकासमा टेवा अवश्य नै पुग्छ । सिप विकासबाट स्वरोजगार बन्दै व्यस्त जीवन व्यतित अनि आफ्ना साथीलाई समेत उत्प्रेरित गरी थप रोजगारी र आयआर्जनका कार्य सहजै गर्न सकिन्छ । स्वेटर बुन्ने कपडा सिलाउने घर सजावटका सामग्री बनाउने कागजका चित्रकलामा रंग भर्ने लगायत अनेकौं कलाका माध्यमले रोजगारी बनेर मनग्य आम्दानी गर्न टाढा जान र ठूलो लगानीको खाँचो पर्दैन । काम गर्ने जाँगर र सिप मात्र हुनुपर्छ । घरघरमा रोजगारी स्वयं सृजना गर्न सकिन्छ । अर्काको भरमा परेर अनेकौं प्रक्रिया र दुर्वचन सहनु भन्दा स्वरोजगार बन्नु उत्तम देखिन्छ । अर्कोतर्फ परिवार पाल्नकै लागि असुरक्षित वैदेशिक रोजगारीको भुमरीमा परेका महिला युवाहरुको सिपलाई देशमै लगाउन सक्ने वातावरण वन्न सक्छ । युवा भन्ने वित्तिकै हाम्रो सोचाई पुरुष तर्फमात्र जाने गर्छ तर पछिल्लो समय युवास्थाका महिलाहरु विदेशिने क्रम बढेको छ । यसले गर्दा महिला होस् या पुरुष आफ्नो उर्जावान र सिर्जनशिल समय विदेशमा खर्चिने भएकोले देश विकासमा निकै नकारात्मक असर परेको देखिन्छ । युवालाई देश विकासको आधार तथा सुनौलो भविष्य निर्माणका लागि ज्यादै महत्वका साथ हेरिन्छ । त्यसैले राज्यले युवालाई उद्यमशील र सृजनशील बनाउन विशेष दायित्व वहन गर्नुपर्छ । तर, विकास निर्माणमा र युवालाई नेतृत्वमा पु¥याउने कार्यमा राज्य चुकेको देखिन्छ । दिगो विकासको अवधारणा नेपालमा सन् १९८० को दशकदेखि थालनी भएको हो । विसं २०६६ मा युवालाई लक्षित गरी राष्ट्रिय युवा नीति निर्माण गरेको देखिन्छ । तर, त्यसमा विभिन्न कमजोरी रहेको पाइन्छ । युवा बेरोजगारी सामाजिक मनोेवैज्ञानिक लगायत समस्याका कारण हजारौंको संख्यामा शिक्षित युवावर्ग अवसरको खोजीमा विदेश पलायन भएका कारण नेपालमा प्रतिभा पलायनको क्रम समेत बढेर गएको छ । यसबाट पनि प्रष्ट हुन्छ कि दिगो विकासका लागि महिला तथा युवाको सहभागिता बिना दिगो विकास लक्ष्यको प्राप्ति असम्भव प्राय ः छ ।

Facebook Comments