पर्यटकीय गन्तव्यको केन्द्र बन्दै जगदीशपुर ताल

– नारद कोहार
कपिलवस्तुको जगदीशपुर ताल पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । कपिलवस्तु जिल्ला ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूृर्ण मानिएको जिल्ला हो । ऐतिहासिक सम्पदाले भरिपुर्ण यो जिल्लालाई पर्यटकीय दृष्टिकोणले पनि परिचित रहेको छ । त्यस्तै एउटा महत्वपूर्ण आधारस्तम्भको रुपमा चिनाउन सफल जगदीशपुर ताल पनि हो । जगदीशपुर ताल जसलाई जलाशय पनि भन्ने गरिन्छ ।
नेपालकै ठूलो कृत्रिम तालको रुपमा रहेको जगदीशपुर तालमा पर्यटकीय प्रवद्र्धन तथा तालको प्रचारप्रसारको मुख्य उद्देश्यका साथ डुंगा सञ्चालन गरिएको छ । जगदीशपुर जलाशय बहुसरोकार मञ्च र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा तालमा ६ वटा डुंगा सञ्चालन गरेको हो । यो ताल कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० साविक निग्लिहवा गाविस (१ र ४) मा पर्ने ताल १ सय ५७ हेक्टरमा फैलिएको छ । जगदीशपुर ताल पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । उक्त तालमा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने क्रम बढेसंगै ताल पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको हो ।
ताल पर्यटकीय गन्तव्य बन्दै गएपछि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने सरोकारवालको विश्वास छ । जगदीशपुर ताल हजारौ घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, कीराहरु र बोटविरुवाको लागि महत्वपूर्ण वासस्थान मानिन्छ भने स्थानीय जनसमुदायको लागि जीवनयापनको आधार समेत बनेको छ । जलाशयको उत्तरी भागमा दलदले घाँसे मैदान छ भने बाँध क्षेत्रमा सिसौका रुखहरुले ढाकेका छन् ।
ताललाई खेतीयोग्य जमिन, सामुदायिक वन र केही स–साना पोखरीहरु लगायत नहर संरचनाले वरीपरीबाट घेरीएकोे छ । जैविक विविधताको संरक्षण, पर्यटन प्रवद्र्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले समेत यस ताललाई महत्वपुर्ण रुपमा लिइन्छ ।
साइबेरिया, रुस, चीन, मंगोलिया, मध्यएशियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेको चराविद्हरु बताउँछन् । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेका छन् । जगदीशपुर जलाशय हिउँदे आगन्तुक चराहरुको स्वर्गीय आश्रयस्थल पनि हो । ताल सन् २००३ अगस्तमा रामसार साईटमा सुचीकृत भएसंगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चा पाउन थालेको हो । यस जगदीशपुर तालमा १ सय १८ बढी प्रजातिको चराचुरुङ्गी पाइने पंक्षी संरक्षण संघले जनाएको छ । १२ परिवारका २५ प्रजातिका माछाहरु, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरीश्रृप तालमा पाइन्छन् । विश्वमै दुर्लभ मानिएका आठ प्रजातिका चराहरु पनि यसै तालमा देख्न पाइन्छ ।
ताल नजिकै थारु गाउँमा होमस्टे सञ्चालनमा आएसंगै पर्यटकको लागि सहज भएको छ । विगतमा तालको महत्व नबुझ्ने स्थानीयवासी समेत अहिले तालको संरक्षणमा लागेका छन् । ‘होमस्टे’ संचालनमा आएपछि थारु महिलाहरु सक्रिय बन्दै गएको स्थानीय ललित गुरुङ बताउँछन् । सुरुसुरुमा स्थानीयले तालको महत्व नबुझ्दा संरक्षणमा समस्या भए पनि अब समुदाय सचेत बन्दै गएको गुरुङको भनाइ छ । होमस्टेका सदस्यहरुले हप्ताको एकपटक ताल आसपास सरसफाई समेत गर्ने गरेका छन् ।
नगरपालिकाको लागतमा तालको संरक्षण प्रवद्र्धन तथा सडकको स्तरोन्नति गरेसंगै तालको चारैतिर अवलोकनका लागि भ्यू टावर निर्माण गरिएको छ । तालका विभिन्न स्थानमा अवलोकन र थकान मार्नका लागि छहारी घरहरु निर्माण समेत गरिएका छन् । तालको बीचमा ४० फिट अग्लो गौतमबुद्घको मुर्ति, बगैचा, पार्किङ्गको व्यवस्था, पर्यटकहरुका लागि विश्राम स्थलका साथै पिकनिक स्पट समेत निर्माण गरिने योजना रहेको छ ।
जगदीशपुर ताल पुग्न खासै सार्वजनिक सवारीसाधनको व्यवस्था भने छैन । सदरमुकाम तौलिहवाबाट बिहान र सांझको समयमा जीप छुट्ने गर्दछन् । त्यस्तै पुर्वपश्चिम राजमार्गको कोइलीबनगाई, बुङचीबाट जगदीशपुर तालसम्म पुग्नका लागि पनि जीपहरु फरक–फरक समयमा छुट्ने गर्दछ । सबैभन्दा सजिलो ट्रयाक तौलिहवा–चार नम्बर सडकखण्डमा पर्ने जहदि भन्ने ठाउँबाट २ किलोमिटरको दुरीमा ताल रहेको छ । नीजि सवारीसाधन र रिजर्भ साधन भएकालाई भने ताल पुग्न अत्यन्तै सजिलो छ ।
सिंचाई प्रयोजनका लागि २०४५ सालतिर बनाइएको हो । यो तालबाट कपिलवस्तुको कुल ६२०० हेक्टर खेतीयोग्य जमिन सिंचित गर्न पानी आपूर्ति हुने गर्दछ । जगदीशपुर तालको विकासमा लुम्बिनी प्रदेश सरकारले चासो दिन थालेको छ । यो तालको संरक्षणमा स्थानीय सरकारले महत्व नदिंदा ओझेलमा परेको जैविक विविधतायुक्त नेपालको ठुलो मानवनिर्मित जगदीशपुर तालमा प्रदेश सरकारले मुलुककै नमूना गन्तव्यको रुपमा विकास र संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ ।
अझै यस ताललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउनको लागि यहाँ जाने सडकलाई लुम्बिनीसम्म जोड्न सकियो भने यसको स्तरोन्नति हुने सम्भावना रहेको यहाँका स्थानीयहरु बताउँछन् । यहाँ आउने आन्तरिक वा बाह्य पर्यटकहरुका लागि राम्रो खाना बस्नको व्यवस्था गर्नुपर्ने स्थानीयको विश्वास रहेको छ ।

Facebook Comments