देशकै नजर ‘भैरहवा क्षेत्रमा’

मनोरञ्जन शर्मा
मुलुकबाट राजतन्त्रको अन्त्य संगै गणतन्त्र स्थापना भए पनि अझै पनि देशको राजनैतिक अवस्था स्खलितनै छ । कतिबेला राजनितिले कुन मोड लिन्छ भन्ने कसैलाई थाहा छैन । राजनैतिक अवस्था ठिक नभए पनि आर्थिक तथा सामाजिक विकासको गति भने सामान्य रुपमा भए पनि अघि बढीरहेको छ ।
एक दशक अघि सम्म राजधानी काठमाण्डौ केन्द्रित आर्थिक गतिबिधीहरु बिस्तारै राजधानी बाहिर केन्द्रित हुदैछन् । आर्थिक गतिबिधीहरु राजधानी बाहिर बिस्तारित हुनुमा त्यहाको भौगोलिक अवस्था, पुर्वाधार, यातायातको पहुच, अन्तराष्ट्रिय सिमानाका लगायतले हुन् ।
पुर्वाधार लगायतका क्षेत्रमा फडको मार्ने राजधानी काठमाण्डौ पछिका शहरहरुमा भैरहवा(सिद्धार्थनगर)को नाम अग्रपंतिमा आउछ । पछिल्लो एक दशकमा मुलुकका अन्य शहर भन्दा पुर्वाधार बिकासका क्षेत्रमा फडको मारेको शहर हो भैरहवा ।
नजिकै लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवल उपमहानगर र कान्छो नगरपालिका तिलोत्तमा (जो श्रोत साधनका लागी भैरहवा भन्दा निकै अघि मानिन्छन् ) रहेका छन् तर पनि अहिले देशकै नजर भने भैरहवा क्षेत्रमा रहेको छ ।
नेपालको मध्यभागमा अवस्थित भैरहवा रूपन्देही जिल्लाको सदरमुकाम समेत हो । मुलुकका अन्य शहरका तुलनामा यो शहरको
माथि अरुको नजर त्यसै परेको होई । भैरहवा माथि देशबिदेशकै नजर पर्नु र चर्चा हुनुमा विविध कुराहरु रहेका छन् ।
विश्वशान्तिका प्रतिक गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रबेशद्धारका रूपमा यो शहर रहनु, स्थलमार्ग भएर सबैभन्दा बढी तेश्रो मुलुकका पर्यटक साथै बढी भारतिय पर्यटक यसै नाका(बेलहियानाका) भएर प्रबेश गर्नु, औद्योगिक तथा व्यवसायिक शहरका रूपमा स्थापित हुनु, ट्रान्जिट सिटीका रुपमा अघि बढनु मात्र भैरहवा चर्चाको बिषय अब निश्चय पनि रहेन् ।
यहाँ निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल क्यालिब्रेशन प्mलाईटको तयारीमा छ र त्यसपछि परिक्षण उडान र अनि व्यवसायीक उडान हुनेछ । ६ वर्ष अघि तराई मधेश आन्दोलनका क्रममा देशैभरका नाकाहरु भारतले अघोषित रुपमा बन्द गर्दा यो नाका लाईफ लाईनको रुपमा रहेको थियो । नाकालाई सहज बनाई काठमाण्डांै लगायत देशकै लाइफलाइनलाई तोडिन नदिए पछि यो शहरको चर्चा बढ्दै गएको हो । त्यतिबेला देखिनै यस क्षेत्रमा देशकै नजर अझ बढी रुपमा पर्न थालेको हो । देशकै पहिलो बिशेष आर्थिक क्षेत्र भैरहवा सेज हो । केही उद्योग सञ्चालनमा छन् र अफै उद्योगहरु नीतिगत कारणले गर्दा आउन नसकेको अवस्था छ र यो समस्या हल होला आशा गरौ । अन्य शहरको तुलना मात्रै होईन काठमाण्डौलाई उछिन्ने पुर्वाधार तयार पारीरहेको छ भैरहवाले ।
एडिबीको आर्थिक सहयोगमा निर्माण भएको शहर भित्रका चौडा सहयोग, सतही ढल लगायतले पुरानो भैरहवाको समस्या धेरै हटेको छ । निरन्तर वर्षा हुदा केही क्षण भित्री सडक जलमग्न हुने पुरानै समस्या अहिले पनि छ । यस्मा हामी भैरहवाबासी पनि केही हदमा दोषीनै छौ भन्नु पर्छ । फोहर कचरा, प्लास्टिकहरु ढलमा छिराउछौ, चौडा सडक ढल बनाउन आप्mनो जमिन जान्छ भनेर दिदैनौ । शहरीकरण तिब्र रुपमा हुदैछ तर अझै पनि हामी ५० वर्ष पछिको भैरहवा कस्तो हुनेछ भन्ने सोच राख्न सकेका छैनौ । तर पनि देशको नजर परेकै छ भैरहवा क्षेत्रमा । फोहर मैला व्यवस्थापनको समस्या भने भैरहवामा छ । यो समस्या सबै मिलेर गर्नु पर्छ, दुर्गन्धले नगरको मेयर, उपमेयरलाई मात्र गन्हाउने गराउदैन, तपाई हामी, पर्यटकलाई पनि बाटोको फोहरले दुर्गन्ध उपहार दिई हाल्छ ।
अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सुरू भए संगै यहाँ उद्योग व्यवसाय, होटल लगायतका भौतिक पूर्बाधारका निर्माणका कामहरू भैरहवालाई केन्द्र बनाई वरपर तिब्र रूपमा अघि बढीरहेका छन् । नयाँ नयाँ उद्योगहरू स्थापना गर्ने क्रम बढीरहेको छ । भैरहवा – लुम्बिनी सडक खण्ड भन्दा भैरहवा –धकधई–परासी क्षेत्रमा धमाधम अर्वौ लगानीका उद्योगहरु आईरहेका छन् । मल्टीनेशनल उद्योगहरु स्थापना हुने क्रम बढेको छ । यो सवै निर्माण सम्पन्न क्रममा रहेको अन्तराष्ट्रिय बिमानस्थल, लुम्बिनीको प्रबेशद्धार, नेपाल भारतको सबैभन्दा ठुलो बेलहिया स्थलनाका, देशकै मध्य भागमा भैरहवा क्षेत्र रहनु, यहाँ उत्पादित बस्तुहरु देशका चारै तर्फ ढुवानी गर्न सहज, यातायात र बिद्युतको उपलब्धता लगायतका कारणले सबैको नजर भैरहवा क्षेत्रमा परेको हो ।

उद्योग व्यवसायको कुरा गर्नै परेन । गल्ला व्यवसायका लागी देशकै एक नम्बरमा गल्लामण्डी परिचित छ । नेपाल राष्ट्र वैंक सिद्धार्थ नगर का अनुसार रुपन्देहीमा मात्रै २०७७ पुस मसान्त सम्म थोक तथा खुद्रा व्यवसायमा ४९ अर्व बढी लगानी छ । होटलमा लगानी अत्यधिक थपिएको छ । कोरोनाको कारण व्यवसाय प्रभावित भए पनि आर्थिक क्षेत्रलाई रोक्न सकेन्, अर्वौका लगानी रहेका पाचतारे होटलहरुको निर्माण निरन्तरता छ । यस क्षेत्रको भविश्य हेरेरनै उनिहरुले निर्माणलाई निरन्तरता दिएका हुन् । बुद्ध चोक नजिकै एसियन इन्टरनेशनल नामको पाचतारे होटल संभवत १ वर्ष भित्रै सञ्चालनमा आउनेछ । अञ्चलपुरमा सिद्धार्थ गु्रपले पनि पाच तारे होटल निर्माण गरी सम्पन्न गर्न तर्फ लागीरहेको छ । भैरहवा लुम्बिनी सडक खण्ड अन्तरगत एसओएस बालग्रामको उत्तर पुर्व तर्फ अर्को पाचतारे होटल निर्माण हुदैछ । कोरोना कालमै एअरपोर्ट नामबाट २ ठुला उद्योगहरु निर्माण सम्पन्न भएका छन् । नान्स होटलले स्तरउन्नती गरी चार तारे भयो । निर्वाणा होटल पनि ४ तारेमा परिणत भएको छ, सुबिधा थपिएको छ । भबिष्यमा होटलै होटलको शहर बन्ने निश्चित छ भैरहवा क्षेत्र । यहाँ पाँच तारे देखि पर्यटकीय सुबिधा सम्पन्न नन तारे होटल निर्माण धमाधम भइरहेका छन् ।

कोरोनाको कारण पर्यटन क्षेत्र धरमराएको छ, यो एक पाटो हो । तर व्यवसायीहरु डगमगाएका छैनन, उनिहरु आशाबादी हुदै देशकै नजर परेको क्षेत्रमा लगानी गरीरहेका छन् । भैरहवा क्षेत्रको महत्व बुझदै क्षेत्रिय उडानका अबधारणा हरु आईरहेका छन् । कुनै बेला भैरहवाबाटै क्षेत्रिय उडानहरु नेपालको पुर्व पश्चिम सम्म हुने गर्दथे । अहिले बुद्ध एअरले भैरहवाबाट पोखरा र नेपालको सबैभन्दा सर्ट हवाई रुट(१२ मिनेट)को रुपमा भैरहवा चितवन हवाई उडान सुरु गरीसकेको छ । अव भैरहवाबाट पश्चिममा नेपालगन्ज , सुर्खेत, धनगढी, पुर्वमा जनकपुर र बिराटनगर वा भद्रपुर सम्म र उत्तर तर्फ सिधै जोमसोम सम्म हवाईसेवा सञ्चालन गर्न सके यहाँको महत्व अझै बढछ ।

देशकै नजर पर्न थालेपछि यहाँ जग्गाको मुल्य सुन भन्दा महगो जस्तो भएको छ । पहिला देखि नै आकर्षणको केन्द्र रहेको यो क्षेत्रमा पछिल्लो समय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणसँगै जग्गाको मुल्य पनि अत्यधिक बढेको छ ।७।८ वर्ष अघि बर्ष अघि २५ हजार रूपैयाँ धुरमा खरीद बिक्री भएका जग्गा अहिले ३ लाख रुपैया माथिमा बिक्री भइरहेका छन् ।
भैरहवा क्षेत्र धेरै संभावना भएको ठाउँ हो, अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणसंगै यो क्षेत्रले सम्वृद्धको ढोको खोली दिएको छ । व्यवसायीक उडान सुरु भए पछि यहाँ थप चहलपहल बढनेछ ।
अहिले मुलुककै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा आफुलाई स्थापित गरिसकेको भैरहवा क्षेत्र (सिद्धार्थनगर) अब मुलुककै प्रमुख आर्थिक, पर्यटकीय, कृषि केन्द्र बन्ने बाटोमा लागि परेको छ । नेपालको मानचित्रमा मध्यभागमा अवस्थिति हुनु पनि प्रगतिको एउटा प्रमुख कारण हो ।
भैरहवासंगै बुटवल, परासी कपिलबस्तुले पनि विकासमा फड्को मार्दै गएका छन्, यो सबैमा महत्वपुर्ण पाटो भनेको बुद्ध जन्मस्थल लुम्बिनी हो । अप्रशोधित हिराका रूपमा रहेको लुम्बिनीको गुरूयोजना अनुसार विकास निर्माण सम्पन्न गर्न जरूरी छ । अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सम्पन्नसंगै बिदेशी पर्यटकहरु सबैभन्दा पहिला आउने भनेकै भैरहवाहो । त्यसैले पनि यहा पुर्वाधार निर्माण धमाधम भैरहेका छन् । हुनत पर्यटक आएर डलर बाडेर जाने त होईन । उस्ले खर्च गर्ने पैसाको हिस्सा सरकारको कर देखि सामान्य तरकारी पसले देखी ट्याक्सी चालक संग पुगेको हुन्छ, यही चेन(चक्र)ले अर्थतन्त्रलाई मजबुत र चलायमान बनाउछ । रुपन्देही जिल्लाका सबै क्षेत्रमा पुस मसान्त सम्म (२०७७) २ खर्व ३९ अर्व ९२ करोड ४९ लाख रुपैया बैंक तथा वित्तिय क्षेत्रको लगानी रहेको छ । यसको धेरै हिस्सा भैरहवा क्षेत्रमा छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो बढी हो । यसबाट कोरोनाको समयमा पनि लगानी कति बढीरहेको छ भन्ने प्रष्ट हुन्छ । अब बाकी भनेको भैरहवा क्षेत्रको शौन्दर्यीकरण हो । हामीलाई प्रकृतीले ठगेको छ । प्राकृतिक सम्पदाहरु केहि छ्रैनन । तर हामी संग इच्छा शक्ती र मन भए अहिलेको ट्रान्जिट सिटी अर्थात बास बस्ने शहरका रुपमा रहेको भैरहवालाई कृतिम पर्यटकियपुर्वाधार निर्माण गरी पर्यटकिय शहर बनाउन सकिन्छ । कुनै बेला भैरहवामा बिदेशी सामान खरीद गर्न भारतको लखनउ शहरबाट समेत मानिसहरु आउथे । अहिले एकाध आउछन् । अब त्यो लयलाई फर्काउन नाईट सिटीको अबधारण अघि बढाउनु पर्छ । होटल रेष्टुरेन्ट हरु २४ घन्टानै खुल्ला गर्ने बाताबरण बनाउन हामी किन नलाग्ने । अहिले जुन अवस्था छ १० बजे पछि पुलिसले होटल रेष्टुरेन्ट बन्द गर्नुस भन्दै सिठी फुक्ने अबस्थाको अन्त्य किन नगर्ने । तपाईहरु कानुन पालना गर्दै निर्वाध रुपमा व्यवसाय गर्नुस, गल्ती गरे हामी कारबाही गर्छौ भनेर प्रहरी प्रशासनले किन भन्न नसक्ने । अन्तर्राष्ट्रिय बिमानस्थल सुचारु भए पछि उडान रातीमा पनि हुनेछ । १० बजे होटल रेष्टुरेन्ट बन्द हुदा त्यतिबेला आउने यात्रीहरु कहा जाने, के खाने यो बिषयमा अहिले देखीने सम्बोधन हुनु जरुरी छ । बिश्वमा धेरै शहरहरु छन्, जहा प्रकृतिले केही नदिएपनि कृतिम पुर्वाधार खडा गरी, होटल क्यासिनो सञ्चालन गरी पर्यटकहरु तानिरहेकै छन्, यसतर्फ अहिले देखिनै सोच्नु पर्ने बेला भएको छ । भैरहवाको नाम मात्रैले पनि यसको धार्मिक, सांस्कृतिक र आर्थिक महत्व झल्काउँछ । पछिल्ला वर्षहरूमा मुलुकको आयातकेन्द्रित व्यापारमा भैरहवास्थित बेलहिया नाकाले पु¥याएको योगदान त सिंगो मुलुकले कहिल्यै बिर्सन सक्दैन ।
(शर्मा भैरहवाबाट प्रकाशित हुने न्यूज ओके साप्ताहिकका सम्पादक हुन्)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *