फेरिएको भैरहवा

– प्रकाश न्यौपाने

अधिकांश सडक कालोपत्र छन् । बाँकी गरिँदैछ । फराकिला सडक र छेउछाउ हरियाली, मुख्य सडकबीचमा राखिएका बुद्धमूर्तिले सौन्यर्दता मजबुत बनाएको छ । डण्डा नदी नजिक पर्यटकीय गेट निर्माण अन्तिम चरणमा छ । डण्डामै डुंगा सञ्चालनको योजना छ । दरखसवामा पर्यटकीय पार्क, खेलमैदान र हाटबजारमा बहुउद्देश्यीय भवन निर्माण जारी छ । समृद्धिको ढोका मानिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको तयारी हुँदैछ । विमानस्थल समयमै सकिए, यसले भैरहवा–लुम्बिनीको मात्रै नभई सिंगो मुलुकको समृद्धिको ढोका उघारिने छ ।

मुलुककै दोस्रो ठूलो भन्सार नाका यही छ । नजिकै विशेष आर्थिक क्षेत्र सञ्चालनको तयारी छ । यी सिद्धार्थनगर समृद्धिका गहना हुन् । जिल्लामा सानो क्षेत्रफलमा फैलिएको सिद्धार्थनगर न्यून आयस्रोतबीच समृद्धिका पाइला पछ्याइरहेको छ । चार दशक अघिको भैरहवा र अहिलेकोमा निकै भिन्नता पाइन्छ । चार दशक अघि भैरहवा र आसपासमा धान फल्थ्यो । यहाँको धान भारत निकासी हुन्थ्यो । अहिले घरैघरले भरिएका छन् । धानबाली उत्पादन न्यून छ । आयात बढ्दो छ ।

सानो झुपडीले चिनिने भैरहवा, अहिले सहर भएको छ । अबका केही समयमा यहीँबाट अन्तर्राष्ट्रिय उडान हुनेछ । दैनिक दश हजार पर्यटक सिद्धार्थनगरमा ओर्लने छन् । पर्यटकको स्वागतका लागि यहाँ व्यवसायी आतुर छन् । धिरधिरै विकास हुँदै गइरहेको सिद्धार्थनगरमा सन् २०१२ मा नेपाल सरकार र एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा एकीकृत सहरी विकास आयोजना संचालन आयो । त्यसपछि भैरहवाको रुपै परिवर्तन हुँदै गएको छ ।

वर्षेनी डुवानमा पर्दै आएको भैरहवामा ढल व्यवस्थापन र सडक स्तरोन्नतिका काम भएका छन् । यद्यपि कहीँकतै साँगुरा बनाइनु र नालामा जथाभावी फोहोर फ्याँक्दा कहिलेकाँही डुवान हुने गरेको छ । तर, त्यो विगत जस्तो छैन । एडीबीको ऋण तथा अनुदान सहयोगमा करिब तीन अर्ब लागतमा सडक र नाला फराकिला बनाइएको छ । सन् २०१२ बाट करिब ८० करोडमा सिद्धार्थनगरमा एकीकृत सहरी विकास आयोजना सुरु भई २०१७ मा सम्पन्न भएको थियो । उक्त बजेटमध्ये ४८ करोडबाट १० किलोमिटर सडक, ४० किमी ढल (नाला) निर्माण गरिएको थियो ।

यस्तै, आयोजना समयमै सकेको भन्दै सन् २०१७ बाट एडीबीकै सहयोगमा २ अर्ब ३८ करोड रुपैयाँको क्षेत्रीय सहरी विकास आयोजना सुरु भएको थियो । आयोजना सम्पन्न अवधि २०२३ सम्म रहे पनि २०२० मै सकिएको छ । यसबाट ५० किमी ढल र ३५ किमी सडक निर्माण भएको छ । ३३ करोडमा फोहोर प्रशोधन केन्द्रको योजना भने राजनीतिक प्रतिशोधले बन्न सकेन । ५० करोड बढी लागतमा नगरपालिकाले आन्तरिक स्रोतबाटै सडक–नाला गरी ७० किमीभन्दा बढी बनाएको छ । नाली तथा कल्भर्ट निर्माण भएका छन् । सहर सुन्दर बनेको छ । सडक चिल्ला देखिएका छन् ।

एडीबी र संघ सरकारको लगानीमा भैरहवाको बुद्धचोकदेखि नगर क्षेत्रभित्र पर्ने एअरपोर्टसम्म ६ लेनको सडक बनेको छ । बेलहिया–बुटवल व्यापारिक मार्गले यहाँको मुहार फेरिएको छ । बेलहिया बाइपासदेखि सीमानाकासम्म सडक निर्माणमा केही ढिलाइ भने भएको छ । जनप्रतिनिधि निर्वाचित भएपछि नगरको योजनाबद्ध विकास गरिएको छ । शिक्षा, स्वास्थ्यमा लगानी बढेको छ । कृषि उपजलाई प्राथमिकता दिइएको छ । खेलकुद स्थलको निर्माण भएका छन् ।

सिद्धार्थ रंगशाला अन्तर्राष्ट्रियस्तरको बनिरहेको छ । वर्षेनी यहाँ जिल्ला र राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता हुन्छन् । रंगशालामा १० करोड बढी संघ सरकारले खर्चेको छ । वडा नम्बर १३ मा सुविधायुक्त कवर्ड हल छ । यहाँ ब्याडमिन्टन खेल खेल्नेको ताँती लाग्छ । जनप्रतिनिधिले मनोरंजनस्थललाई प्राथमिकतामा राखेका छन् । पक्लिहवामा पार्क बन्दै छ ।

३० करोड भन्दा बढी लागतमा हाटबजारमा बहुउद्देश्यीय भवन बनिरहेको छ । यहाँ ए र बी ब्लक नाम दिएर भवन बनिरहेको हो । ए ब्लक भवन अन्तिम चरणमा पुगेको छ भने बी ब्लक धमाधम बनाइँदै छ । भवन, खेलमैदान, पार्क, पर्यटकीय गेट, भैरहवालाई बुद्धमय बनाउने योजना विल्कुलै जनप्रतिनिधिका हुन् । आफ्नो योजना पूरा गर्न सबै प्रतिनिधि लागिपरेका छन् ।

बुद्धजन्मस्थल लुम्बिनीको काखैमा रहेको सिद्धार्थनगरमा बुद्धत्व झल्कने पर्यटकीय गेट निर्माण अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले साढे ६ करोड लागतमा गेट बनाइरहेको हो । झट्ट हेर्दा बुद्धभूमि लुम्बिनीको झल्को दिने गरी पर्यटकीय गेट बनिरहेको हो । मुख्य सडकका डिभाइडर बुद्धमूर्ति राखेर चिटिक्क पारिएको छ । लुम्बिनी प्रदेश सरकार पर्यटन मन्त्रालय अन्तर्गत पर्यटक डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट बुद्धचोकदेखि गौतमबुद्ध विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिएको हो ।

नगरपालिकाको ४६ लाख रुपैयाँ र उपभोक्ता समितिले विभिन्न संघसंस्था र उद्योगी–व्यवसायीसँग सहकार्य गरी २५ लाख रुपैयाँ सहयोग उठाएर यसअघि १९ वटा बुद्धमूर्ति सडक डिभाइडरमा राखिएको थियो । त्यसबेला बेलहिया बाइपासदेखि अंचलपुरसम्म मूर्ति राखिएको हो । कृषि भण्डारलाई मध्यनजर गरी सिद्धार्थनगर–११ मा संघ सरकारको लगानीमा शीत भण्डारण बनाउने तयारी थालिएको छ । यद्यपि यहाँ जग्गा विवाद छ । वडानम्बर १० र ११ मा माछा सुपर जोन लागू छ । जसले गर्दा मत्स्य कृषक बढिरहेका छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र श्री रण अम्बिका शाह आँखा अस्पतालले स्वास्थ्य क्षेत्रलाई मजबुत पारेका छन् । सामुदायिक तथा निजी विद्यालय अब्बल छन् ।

नान्स, निर्वाणा लगायत तारे होटल यहाँ छन् । स्तरीय होटल खुल्दै छन् । लगानी बढ्दै छ । यसले नगरको आर्थिक स्रोत मजबुत बनाएको छ । तारेसहरका स्तरीय होटल दर्जन बढी छन् । सिद्धार्थनगरको सम्भावना देखेर यहाँ व्यवसायीले धमाधम लगानी गरिरहेका छन् । बुद्धचोकमा अर्ब लगानी गरेर घिमिरे समूहले पाँचतारे होटल बनाइरहेको छ । अंचलपुरमा सिद्धार्थ ग्रुपले उत्ति नै लगानीमा होटल बनाइरहेको छ ।

खासगरी स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने बेलहिया नाका, भन्सार नाका, नजिकैको बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध विमानस्थल, भैरहवा–परासी तथा भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोरले गर्दा यहाँ लगानीकर्ता आकर्षित छन् । लगानी जोखिम कम र सम्भावना बढी देखेपछि यहाँ बढी मात्रामा लगानी भित्रिरहेको हो । यद्यपि पछिल्लो डेढ वर्षयता कोरोना महामारीले लगानीकर्ता भने जोखिममा परेको बताउँछन् । अवस्था सहज भए यस क्षेत्रमा थप लगानी भित्रिँदै जानेमा दुईमत छैन ।

वि.सं २०४७ सालमा सिद्धार्थनगर नगरपालिका घोषणा भएको हो । त्यसपछि विकास सुरु त भयो तर, दु्रत भएन । पछिल्ला दिनमा मात्रै यसले गति लिएको हो । रुपन्देही सदरमुकाम सिद्धार्थनगरमा पर्छ । १३ वटा वडा रहेको नगरमा २०६८ को जनगणना अनुसार ६३ हजार चार सय ८३ जनसंख्या छ । अहिले यो संख्या बढेर एक लाख हाराहारी पुगेको बताइन्छ । यहाँ १८ हजार हाराहारी घरधुरी भएको बताइन्छ । नगरको पश्चिममा घाघरा र पूर्वमा डण्डा खोलाले पूर्वपश्चिम सीमाना छुट्याएको छ भने उत्तरमा ओमसतिया र दक्षिणमा मित्र राष्ट्र भारत पर्छ ।

यहाँ मिश्रित जातजाती, भाषाभाषी र धर्मसंस्कृति अंगालेका मानिसहरुको बसोबास छ । वि.सं. १९९१ साल अघि रुपन्देही जिल्लाको सदरमुकाम बेथरीमा थियो, त्यसपछि भैरहवामा सारिएको हो । यो नगर नेपाल र भारतको सीमानामा पर्ने एक मुख्य प्रवेशद्वार मध्यको हो । ठूलो व्यापारीक क्षेत्र हो । यहाँबाट मुलुकका अधिकांश जिल्लाहरुमा सामान विक्री हुँदै आएको छ । कोरोना महामारी अघि बेलहिया नाका हुँदै बर्सेनि करिब दुई लाख तेस्रो मुलुकका पर्यटक यही नगर हुँदै अन्यत्र जान्थे । यसैले यहाँको सम्भावना अधिक छ । उसैगरी विकासले फड्को मारिरहेको छ ।

पश्चिम तराई कोरिडोरको केन्द्र

लुम्बिनी प्रदेशका तराईका तीन जिल्लाका स्थानीय तहहरुलाई समेटेर पश्चिम सहरी कोरिडोर परियोजना अघि बढाइएको छ । शहरी विकास मन्त्रालयले एशियाली विकास बैंक (एडीबी) सँग सहकार्य गरी यो परियोजना अघि बढाएको हो । नवलपरासी, रुपन्देही र कपिलवस्तुका स्थानीय तहहरु समेटिएको परियोजनामा कृषि, उद्योग, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । परियोजनामा ८ हजार वर्गकिलोमिटरमा पर्ने स्थानीय तह नवलपरासीको रामग्राम, रुपन्देहीको बुटवल, सिद्धार्थनगर, सैनामैना, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृति नगरपालिका तथा कपिलवस्तुको तौलिहवा र कृष्णनगर नगरपालिकालाई समेटिएको छ । यी नगरपालिकाको बीचमा पर्ने गाउँपालिका पनि योजनामा समेटिएका छन् ।

साढे १६ लाख मानिस यो परियोजनाबाट लाभान्वित हुनेछन् । गाउँ–सहर सबै क्षेत्रको एकीकृत आर्थिक विकास गरी यहाँका नागरिकको जीवनस्तर उकास्न यो परियोजना लागू गरिएको हो । मन्त्रालय, एडीबी, प्रदेश र स्थानीय सरकारको परियोजनामा संयुक्त लगानी रहनेछ । कसको कति प्रतिशत लगानी रहने भन्नेबारे डीपीआर बनेपछि थाहा हुने छ । अहिले कन्सलटेन्ट छनौट प्रक्रिया अघि बढेको छ । कन्सलटेन्ट छनौट भइसकेपछि डीपीआर बन्छ, त्यहाँ कसले कति लगानी गर्ने, कुन ठाउँमा कस्तो संरचना बनाउने, कति लगानी लाग्ने भन्ने कुरा प्रष्ट हुनेछ ।

कोरिडोरमा कस्ता संरचना बनाउने भन्ने निक्र्यौल भने भइसकेको छ । एडीबी र मन्त्रालयका प्रतिनिधिले करिब २ वर्ष अध्ययन गरेर यस क्षेत्रमा लगानी गर्न सहमत भएका हुन् । प्रदेश सरकार र स्थानीय तहसँग पनि छलपफल भएर परियोजना कार्यान्वयनतर्फ अघि बढाइएको हो । योजनामा बुटवल–तिलोत्तमा–सिद्धार्थनगर, लुम्बिनी–तिलौराकोट–देवदह–रामग्राम जोड्ने सडक कोरिडोर बनाउने प्रस्ताव गरिएको छ । सडक पूर्वाधारसँगै नयाँ शहर निर्माण, उद्योग ग्राम निर्माण, कृषि प्रशोधन केन्द्र, सपिङ सेन्टर, ट्रक तथा साना बस पार्कहरु निर्माण गर्नेलगायतका कुराहरु समेटिएको छ ।

पश्चिम कोरिडोरमा कृषि प्रशोधन केन्द्र निर्माणको अवधारणा छ । जसमा कृषि उपज संकलन, प्याकेजिङ र प्रशोधनका सुविधाहरु उपलब्ध हुनेछन् । फलफूल, तरकारी, मसला, माछा लगायतका अन्य कृषि उत्पादन लक्षित यो कार्यक्रम बनाइएको हो । सिद्धार्थनगर, कपिलवस्तु र कृष्णनगर गरी तीन वटा स्थानमा शीत भण्डार केन्द्र, पशुबधशाला तथा पशुचरण क्षेत्र, क्षेत्रीय खाद्य परीक्षण तथा प्रमाणीकरण प्रयोगशाला, व्यवसायिक सेवा प्रदायक संस्थाहरु समेत कोरिडोरमा निर्माण हुने बताइएको छ । कृषि तथा कृषि प्रशोधन केन्द्र, कृषि विस्तार सेवाहरु, कृषि प्रशोधन तालिम केन्द्र, खानेपानी तथा फोहोर पानी प्रशोधन र फोहोरमैला छुट्याउने र ढुवानी केन्द्र समेत कोरिडोरमा बन्ने योजनाको ड्राफ्टमा उल्लेख गरिएको छ ।

हुलाकी मार्गलाई फराकिलो बनाउने भनिएको योजनामा पूर्वपश्चिम रेलमार्गलाई लुम्बिनीसँग कनेक्सन गर्ने पनि कोरिडोरमा राखिएको छ । खासगरी कोरिडोरमा एक घण्टाको सवारी यात्रामा पुगिने क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । सिद्धार्थनगर–रामग्राम–भूमही, कृष्णनगर र लुम्बिनी बाइपास सडकलाई पनि द्रुतमार्गका रुपमा विकास गर्ने योजना बनाइएको छ । लुम्बिनीसँग जोडेर कोरिडोर क्षेत्रमा पर्यटकीय संरचना निर्माण, लुम्बिनीको बृहत् विकासमा हातमालो गर्ने, प्रचारप्रसार गर्ने योजनामा समेटिएको छ । कोरिडोरका लागि तत्काल १ खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको भए पनि डीपीआर बन्दा थपघट हुन सक्नेछ । डीपीआरसहित परियोजना सम्पन्न गर्न कम्तिमा ७ वर्ष लाग्ने बताइएको छ । यो कोरिडोरको मुख्य कार्यालय सिद्धार्थनगरमै राख्ने र यहाँलाई नै केन्द्र बनाएर काम गर्ने बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *