व्यवस्थित बन्दै बुटवलको डिजिटल सूचना प्रणाली

– पुराना ढड्डाका घटना दर्ताहरु सबै अनलाइनमा
– झण्डै एक लाख तथ्यांक डिजिटाइजेशन
– पञ्जिकरणका सबै काम अनलाइनबाटै
– सामाजिक सुरक्षा भत्ताका विवरण पनि अनलाइनमै
– नगर सूचना प्रणालीका लागि डाटा बैंक स्थापना
– प्रविधिमैत्री उपमहानगरपालिका बनाइने
– उपमहानगरका सफ्टवेयरको अद्यावधिक गरिँदै
– नयाँ र सरल सफ्टवेयर जडान गरिँदै
– अनलाइन राजस्व प्रणालीलाई थप प्रभावकारी बनाउने

रमेश पराजुली

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अजितकुमार अधिकारीलाई सम्झना छ, तीन वर्षअघि घर बहाल कर बुझाउन बुटवल उपमहानगरपालिका आउँदा लामो लाइन देखेर उनी फर्किएका थिए । भोलीपल्ट बिहानै आउँदा पनि उनी लाइनमा नै परे । त्यस दिन लाइनमा पर्खँदा पर्खदा निकै समयपछि बल्लबल्ल उनले कर बुझाउन पाए ।

यता उपमहानगरपालिकामै पनि महत्वपूर्ण दस्तावेजहरु, जन्म तथा मृत्यु जस्ता घटना दर्ता र पञ्जिकरण गर्न ढड्डामा नै सुरक्षित राख्नुपर्ने चुनौति थियो । नागरिकलाई प्रदान गरिएका सामाजिक सुरक्षा भत्ताका विवरण भएका कागजात पनि ढड्डामा नै व्यवस्थापन गर्नुपथ्र्यो ।

त्यस्ता महत्वपूर्ण कागजात वर्षौदेखि ढड्डामा नै संग्रहित भएकाले धमिराले खाइदिने हुन् कि भन्ने पीर उपमहानगरपालिकालाई ठूलो थियो । कोही सेवाग्राही आएमा लामो समयदेखि जमेको धुलो टक्टक्याउँदै ढड्डा पल्ट्याउनुपर्ने बाध्यता थियो ।

तर, जनप्रतिनिधिहरुको आगमनपछि बुटवल उपमहानगरपालिकाको प्रशासनिक कार्यप्रणाली सञ्चालन तथा सेवाग्राहीलाई प्रदान गरिने सेवाको माध्यममा कायापलट भएको छ । ‘डिजिटल बुटवल’ तर्फ अघि बढेको बुटवलमा अहिले पुरानो सूचना प्रणालीलाई प्रविधिले विस्थापन गर्दै लगेपछि कर्मचारीलाई पुराना ढड्डा पल्ट्याउन पर्ने बाध्यता हटेको छ भने सेवाग्राहीहरुले अधिकांश काम घरबाट नै सम्पन्न गर्न सक्ने भएका छन् ।

डिजिटलतर्फ उपमहानगरपालिका

अहिले बुटवल–११ का अजित कुमारलाई घरबहाल कर बुझाउन प¥यो भने लाइनमा बस्न त के उपमहानगरको कार्यालयसम्म पनि आउनुपर्दैन । कहिलेकाँही इन्टरनेटले काम गरेन भने मात्रै कार्यालयमा पुग्नुपर्छ, त्योबाहेक बाध्यता छैन । राजस्व तिर्ने सेवाग्राहीलाई घरै बसीबसी अनलाईनबाट तिर्न मिल्ने बनाइदिएपछि अहिले अजित कुमार जस्ता करदातालाई निकै राहत भएको छ । ‘पछिल्लोपटक घरबहाल कर तिर्दा नगरपालिकाको कार्यालय नै जानु परेन, घरमै बसेर तिरियो,’ अजितले भन्नुभयो ।

राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्दतिको अन्त्य गर्दै उपमहानगरले अनलाइनबाटै राजस्व तिर्न मिल्ने बनाउँदै १९ वटै वडामार्फत् अनलाईन प्रणालीबाट राजस्व संकलन सुरु गरिएको छ ।

करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकीकृत सम्पति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाई सेवा शुल्क, अचल सम्पति मुल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्कापट्टा नविकरण लगायतका राजस्वहरुलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएपछि सेवाग्राहीहरुको महत्वपूर्ण समय बचत भएको छ ।

यता उपमहानगरपालिकाको कार्यालय हुने घटना दर्ता, विद्यालयको नतिजा, पञ्जिकरण, सामाजिक सुरक्षा भत्ताका विवरण, वार्षिक योजनाजस्ता एक लाख भन्दा बढी महत्वपूर्ण दस्तावेजहरुलाई ‘कम्प्युटराइज्ड’ गरी डिजिटल माध्ययमबाट सुरक्षित राखिएको छ । समयको बचत र कागजी झन्झट्ताबाट उन्मुक्ति पाउने कोसिस उपमहानगरपालिकाको रहेको छ ।

नागरिकका दैलामा रहेका स्थानीय सरकारहरुबाट प्राप्त हुने सेवाहरुको कागजी प्रक्रिया निकै झन्झटिला र लम्बेतान हुने भएकाले सेवा लिन नागरिकलाई जटिल हुने गरेको छ । बुटवलमा अद्यापि त्यस्ता समस्या रहे पनि सेवा प्रवाहलाई प्रविधियुक्त र अझ व्यवस्थित बनाउने पहल गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

उपप्रधान मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता विष्णप्रसाद पौडेलको अभिभावकत्वमा रहेको बुटवल उपमहानगरपालिकाले सुरु गरेको डिजिटल प्रविधिको यस्तो नौलो व्यवस्थाको उद्घाटन पनि अर्थमन्त्री रहेका बेलामा नेता पौडेलले आफैंले गरेका थिए । नगरप्रमुख सुवेदी कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु अझै प्रोत्साहित हुने भएकाले राजस्वमा डिजिटल प्रणाली सुरु गरिएको बताउँछन् । उनले डिजिटल प्रविधिको कारोबारलाई थप व्यवस्थित र विश्वसनीय बनाउँदै समुदायमा वित्तीय साक्षरताको पनि विकास गर्न आर्थिक वर्ष २०७८÷७९ मा कार्यक्रम तय गरिएको पनि जानकारी दिए । सूचना प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै उपमहानगरले डिजिटाइजेशनको अवधारणालाई साकार बनाइरहेको हो ।

हरेक घरको आफ्नै ठेगाना

राजस्वमा मात्रै होइन, आफ्ना नागरिकलाई घरमै बसी–बसी सेवा लिन सकिने बनाउन बुटवलले अहिले ‘डिजिटल बुटवल’ अभियानको थालनी गरेको छ । अभियान अन्तर्गत बुटवलमा काठमाण्डांै उपत्यकापछि पहिलोपटक इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबीपीएस) को शुभारम्भ भएको थियो । त्यससँगै यहाँका करिब ४० हजार घरलाई डिजिटल हाउस नम्बरिङमा जोडिएको छ भने जीपीएस र जीआइएस प्रविधिमा आधारित डिजिटल सिस्टम जडान गरिएको छ । ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरमा नम्बर प्लेट टाँस्ने काम गरेको थियो । यसले बुटवलका हरेक घरलाई ठेगाना सुनिश्चित गरेको छ ।

बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जिआइएसका आधारमा घर नम्बरिङ गरेको हो । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्दै पूरा भएका घरमा नम्बर टाँस्ने काम नगरप्रमुख शिवराज सुवेदीले सुरु गरेका थिए । सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवा केन्द्रहरु, सार्वजनिक क्षेत्र, सडक, विद्यालदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्ने गरी ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको हो ।

भौगोलिक अध्ययनका विज्ञहरु सम्मिलित परामर्शदाता छनौट गर्दै सबै वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ पूरा गर्ने लक्ष्य उपमहानगरपालिकाको रहेको छ । प्रमुख सुवेदीले उपमहानगरको वस्तुगत विवरणसंगै प्रत्येक घरको डिजिटल प्रविधिबाट गरिने नम्बरिङले योजना तर्जूमा, कार्यान्वयन र थप अध्ययनका लागि उपयोगी हुने बताउँछन् । डिजिटल नम्बरिङपछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्ने गरी भौगोलिक सूचना प्रणालीको विकास गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

अनलाइनबाटै घर नक्सा

बुटवल उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनहरूको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ । घना सहरको रुपमा विकास हुँदै गरेको बुटवलका लागि यो निकै प्रभावकारी हुने विश्वास उपमहानगरपालिकाको रहेको छ । गत वर्ष वैशाख १ गतेदेखि सुरु गरिएको यो प्रणाली अन्तर्गत हालसम्म झण्डै तीन हजार नक्सा दर्ता भएको छ भने करिब दुई हजार जनाले सम्पन्न प्रमाणपत्र लिइसकेको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले भवन संहिताको पूर्ण कार्यान्वयन गर्दै घर नक्सा पास सम्बन्धी विशेष जानकारी पुस्तिकासहितको टाइम कार्ड समेत लागू गरेको छ ।

विद्यालयको नतिजा अनलाइनमै

नगरभित्रका विद्यालयहरुले निकाल्ने विद्यार्थीहरुको नतिजा नगरपालिकामा पठाउन एउटा व्यवस्थित तथ्यांक प्रणालीको प्रयोग भएको छ । संघीय सरकारको शिक्षा मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको उक्त सफ्टवेयरमार्फत् हरेक विद्यालयहरुले विद्यार्थीको नतिजा उपमहानगरपालिका पठाउन सक्छन् । उपमहानगरपालिकाले विद्यालयलाई प्रदान गरेको ‘क्रेडेन्सियल’मार्फत् हरेक विद्यालयले विद्यार्थीको नतिजा उपमहानगरपालिकालाई पठाउन सक्छन् । शैक्षिक क्षति न्यूनीकरण कार्यक्रमलाई बुटवलले प्रभावकारी बनाएको छ । विद्यालयहरुलाई इन्टरनेटमा सहयोग गर्नेदेखि बालबालिका लक्षित राहतका कार्यक्रम गरिएको शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी दिए ।

प्रविधि सिकाउँदैं बुटवल

डिजिटल नगरतर्फ छलाङ मार्दैै गरेको बुटवलले सेवाप्रवाही र सेवाग्राहीहरुलाई ‘डिजिटल बुटवल’को अभियानमा जोडिन विभिन्न किसिमका तालिमहरु प्रदान गरेको छ । बुटवल उपमहानगरपालिकाले डिजिटल सिटीको अवधारणा साकार पार्ने उद्देश्यले उपमहानगरका सबै टोल विकास संस्थालाई विद्युतीय भुक्तानीका बारेमा सिकाएको हो । आर्थिक बर्ष २०७८÷७९ मा नगरपालिकाले प्रविधि साक्षरताका कार्यक्रमलाई व्यापक सञ्चालन गर्नेछ ।

अहिले बुटवलका करिब चार सय टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई बुटवलले यस्ता तालिम सञ्चालन गरिसकेको छ । विद्युतीय भुक्तानीसहितको मोबाइल एप र नयाँ प्रविधिका बारेमा विशेष प्रशिक्षण दिएको हो । वटै वडाका सबै टोल विकास संस्थालाई पालैपाले प्रशिक्षण दिइएको थियो ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले नयाँ प्रविधि तथा डिजिटल सिस्टमका बारेमा अद्यावधिक बनाउने र टोलटोलबाट अभियान साकार पारिने बताए । ‘कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाता अझै प्रोत्साहित हुनेछन्, उनले भने,‘तर त्यो चलाउन पनि नागरिकले त जान्नैप¥यो । त्यसैले हामीले प्रविधिमा मात्र जोडिरहेका छैनौं, प्रविधिमार्फत् कसरी सेवा लिने भनेर पनि सिकाइरहेका छौं ।’ उपप्रमुख गुमादेवी आचार्यले बुटवल आर्थिक केन्द्रसमेत रहेकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह उपलब्ध गराउने प्रयत्न जारी रहेको बताइन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *