सम्पादकीय ः व्यवसायिक पहिचान

उद्योग व्यापार संगठन, रुपन्देहीको १४ औं वार्षिक साधारणसभा सुरु भएको छ । १४ वर्ष अघि स–साना असंगठित उद्यमी व्यवसायीको हकहित र एकताको उद्देश्य बोकेर स्थापना भएको संगठनले सिद्धार्थनगर क्षेत्रमा मात्र होइन, रुपन्देहीका शहरोन्मुख गाउँमा समेत बलियो छाप बनाएको छ । उद्यमी व्यवसायीबीच व्यवसायिक मर्यादा कायम राख्दै एकता, सहकार्य र संघर्ष गर्दै आएको संगठनले स्थापनाको छोटो समयमा एउटा अलग्गै पहिचान बनाउन सफल भएको देखिन्छ । व्यवसायीका साझा समस्याहरुलाई सशक्त रुपमा उठाउँदै आएको यो संस्थाले सिद्धार्थनगरका अलावा तिलोत्तमा, देवदह, लुम्बिनी, बुटवल, धकधई लगायतका क्षेत्रमा सञ्जाल विस्तार गरिसकेको छ । व्यवसायीले भोग्दै आएका साझा समस्याको पहिचान गर्ने र तिनलाई सशक्त ढंगले उठाउने काममा संगठनले खेलेको भूमिका प्रशंसनीय छ । उद्योगी, व्यवसायीलाई मात्र होइन यसले सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ । संस्थाले गरेका क्रियाकलापले यस क्षेत्रको आर्थिक उन्नयनमा महत्वपूर्ण सहयोग पुगेको पाइन्छ । संस्थालाई अविच्छिन्न रुपमा क्रियाशील बनाउँदै आम समुदायमा स्थापित गराउन र अहिलेको अवस्थामा ल्याउन भूमिका खेल्ने अगुवाहरु बधाईका पात्र छन् ।
व्यवसायिक संस्थाहरुले व्यवसायिक धर्म निर्वाह गर्नैपर्छ । उद्योगी व्यवसायीको हकहित र अधिकार यस्ता संस्थाहरुको मुख्य लक्ष्य हो । आर्थिक क्षेत्रको विकासका लागि ठूला–साना सबै व्यवसायीको भूमिका रहन्छ । साना व्यवसायीका समस्या राज्यले कम सुन्ने र व्यवसायिक संस्थाहरुले पनि प्रभावकारी रुपमा उठाउन नसक्ने गुनासा व्यापक आउने गरेका थिए । तर ठूला व्यवसायीको चेपुवामा साना व्यवसायी परिरहेको भन्ने असन्तुष्टि पछिल्ला दिनहरुमा मेटिदै गएको छ । व्यवसायीहरु देशका मेरुदण्ड हुन् । ठूलो लगानी र जोखिम मोलेर गरिएको व्यवसायबाटै आर्थिक विकास हुने हो । यस्ता संस्थाहरुले धेरै मानिसलाई व्यवसायी बनाउन पनि सिकाउनुपर्छ । असफल व्यवसायीलाई सफल बनाउन ध्यान दिनुपर्छ । त्यसका लागि व्यवसायिक तालिम, भ्रमण र अन्य अवसरहरुको खोजी गर्न सक्नुपर्छ । १४ वर्षको अवधिमा संगठनले उद्योग, व्यवसाय, कृषि तथा पर्यटन क्षेत्रको विकासका लागि गरेका क्रियाकलापहरु सन्तोषजनक छन् । तथापि आगामी दिनहरुमा व्यवसायिक हकहितसंगै औद्योगिक विकासमा केन्द्रीत हुन सक्नुपर्छ । साधारणसभाले नयाँ नेतृत्वको समेत चयन गर्ने भएकाले आगामी नेतृत्वले अग्रजहरुको सम्मान, व्यवसायिक एकता र सहकार्यको भावना कायम राख्दै यस क्षेत्रलाई देशकै अग्रणी आर्थिक तथा समृद्ध क्षेत्र बनाउन कटिबद्ध हुनुपर्छ । त्यसैलाई मध्यनजर गरेर साधारणसभाबाट निर्वाचित नेतृत्व अघि बढ्न सक्षम होस्, शुभकामना ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *