मन्टेश्वरी एशोसिएशन गठन

गौतमबुद्ध सन्देश
भैरहवा, १५ कार्तिक । मन्टेश्वरी विद्यालयहरुको साझा संस्था मोन्टेश्वरी एशोसिएशन भैरहवा गठन भएको छ ।

भैरहवामा छरिएर रहेका मन्टेश्वरी स्कुल, पूर्व–प्राथमिक विद्यालयहरुलाई आवद्ध गर्दै संस्थागत तथा व्यवसायिक विकास, नीजि लगानीको सुरक्षा र संरक्षणलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउँदै सिप तथा क्षमता विकासलाई सहयोग पु¥याउन तथा समग्र बालबालिकाहरुको चौतर्फी विकास , गुणस्तरीय शिक्षा र सेवा प्रदान गर्ने उद्धेश्य सहित मन्टेश्वरी एसोसियशन भैरहवा गठन भएको हो ।

विभिन्न मन्टेश्वरी स्कूलका संस्थापकहरुको भेलाबाट टाइनी टोडलर्स मन्टेश्वरीका प्रिन्सिपल अनामिका बस्यालको अध्यक्षतामा मन्टेश्वरी एशोसिएशन भैरहवा तदर्थ समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा लिटिल बुद्ध मन्टेश्वरी स्कूलकी प्रिन्सिपल उर्मिला सिलवाल, सचिवमा न्यू रोज मन्टेश्वरी स्कुलकी प्रिन्सिपल ईशा खडका, कोषाध्यक्षमा टाइनी टोडलर्सका संस्थापक राम मनोहर जयसवाल, सहसचिवमा ड्रिमल्याण्ड मन्टेश्वरीकी प्रमुख गंगा भुुसाल चयन भएका छन । यस्तै सदस्यहरुमा बाल नेत्र एकेडमीका प्रिन्सिपल माधवी गुरुङ, बेबी स्टार मन्टेश्वरीका प्रिन्सिपल दिपिका अधिकारी, यूरो किड्सका प्रमुख प्रतिष्ठा चालिसे मल्ल, हेभेन्ली गार्डेन किड्स क्याम्पसका प्रिन्सिपल रचना क्षेत्री, बेबी स्टार मन्टेश्वरीका सहायक प्रिन्सिपल विनिता पाण्डे चयन भएका छन । तदर्थ समितिले संस्थाको विधान बनाई विधिवत रुपमा दर्ता गरिसकेको अध्यक्ष बस्यालले बताइन ।

साथै एशोसियशनले कार्यालय स्थापना र भैरहवा क्षेत्रमा सञ्चालित अन्य मन्टेश्वरी स्कूल बीच समन्वय गरी सदस्यता प्रदान गर्ने र सबैको हकहितका लागि संस्थालाई बलियो बनाएर केन्द्र सम्म पु¥याउने बताइन ।

सम्पूर्ण मन्टेश्वरी स्कूलहरु एक ढिक्का भई अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको ठहर गर्दै संस्थाको स्थापना पश्चात् शैक्षिक जगतमा थप एक आयाम थपिने, विद्यार्थी, संस्थाको हकहित र संरक्षणका साथै शैक्षिक गुणस्तर अभिबृद्धिका लागि मन्टेश्वरी एशोसिएशन भैरहवा प्रतिबद्ध भएर काम गर्ने उपाध्यक्ष सिलवालले बताइन । यही शुक्रबार बालबालिकाको बौद्धिक क्षमताको अभिवृद्धिका लागि काठडमाण्डौँबाट प्रशिक्षक सुष्मा लामालाई ल्याएर सेमिनार र शनिबार बालबालिकामा भएका विविध प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले टयालेन्ट शो (कला प्रदर्शनी) गर्ने संस्थाले जनाएको छ ।

Facebook Comments