‘कथित विभाजन’ सर्पले काँचुली फेरेजस्तै ः विष्णु पौडेल

गौतमबुद्ध सन्देश
बुटवल, २४ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमालें का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले विभाजन नभइ केही व्यक्तिहरु पार्टी छोडेर गएको बताएका छन् । उनले पार्टीका नेता कार्यकर्ता विभाजनको पक्षमा नरहेको बताए । ‘विभाजनको कथित प्रयासलाई असफल बनायौं,’ पौडेलले भने, ‘कथित विभाजन सर्पले काँचुली फेरेजस्तै हो ।’

प्रेस चौतारी नेपाल, रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले उपमहासचिव पौडेलले पौडेलले लुम्बिनी प्रदेशमा एमाले विभाजित नभएको बताए । कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको पौडेलले बताए । ‘४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गर्ने कोशिश गरिएको छ,’ पौडेलले भने, ‘म प्रधानमन्त्री देउवालाई चुनौतिका साथ भन्न चाहन्छु हिम्मत छ भने अध्यादेशलाई निरन्तरता दिनुस् ।’ तर सरकारले केही हप्तापछि अध्यादेशलाई निस्कृय बनाउने दावी उनले गरे ।
आगामी निर्वाचनमा एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने पौडेलले दावी गरे । ‘प्रतिपक्षमा हुँदा पनि एमालेसंग एक्लै प्रतिस्पर्धा गर्न नसकेर सत्ता पक्षले महागठबन्धन गर्दैछ,’ पौडेलले भने, ‘यसले पनि एमालेको शक्ति कति छ भनेर पुष्टि गर्छ ।’

माधव नेपालले एमाले विभाजन गर्नु दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गरेजस्तै भएको पौडेलले टिप्पणी गरे । ‘यो गम्भीर अपराध हो, यसलाई इतिहासले माफ गर्दैन,’ पौडेलले भने, ‘विभाजन सिद्धान्त र एजेण्डाका आधारमा भएको होइन, औचित्य पुष्टि हुन सक्दैन ।’
पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका पौडेलले माधव नेपाल नेतृत्वको पार्टी एक्लै चुनाव लड्न नसक्ने र गठबन्धन गरेर लड्न अरुले वैशाखी नदिने हुँदा नेकपा (एकीकृत समाजवादी)को भविष्य नरहेको बताए ।

एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप लगाए । एमाले विभाजन गर्न सभामुखले पदको दुरुपयोग गरेको उनको आरोप छ ।

आफूले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको दवी गर्दै पौडेलले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउन खोजिएकोप्रति आपत्ति जनाए ।

कार्यदलले बुझाएको १० बुँदे सिफारिस लुम्बिनी प्रदेशका सबै जिल्लामा सिर्जनात्मक ढंगले कार्यान्वयन हुने पौडेलले बताए । उनले अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन आग्रह गरे । नेकपा हुँदै अध्यक्ष ओलीमाथि लगाइएका १८ बुंदे आरोप नै पार्टी विभाजनको शुरुवात भएको पौडेलले दावी गरे । कार्यक्षेत्र बाहिर गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै उनले सर्वोच्च अदालतको आलोचना गरे ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन् । सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गरे । पौडेलले एमसीसीबारे एमालेले पहिल्यै निर्णय गरेर नबसेको बताए । ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं,’ पौडेलले भने, ‘बरु सरकार नै यसबारेमा रंगीबिरंगी छ ।’ प्रेस चौतारी, नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरीको अध्यक्षता तथा सचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *